समाजमा विभिन्न खाले विकास र परिवर्तन भइरहेका देखिन्छन्। यस्ता परिवर्तनसँग स्वभाविक रूपमा परम्परागत केही कुरा लोप हुँदै छन्। उपयाेगी कुरा भने जोगाउनुपर्छ, भनिन्छ तर कतिपय यस्ता कुरा जोगाउनै सकिनन् यो विडम्बना छ। स्वस्थकर कुरा जसले समाजमा कुनै हानि गर्दैन, फाइदै फाइदा गर्छ भने त्यस्ता कुरा लोप हुनु राम्रो होइन भन्ने तर्क संस्कृतिप्रेमी र संस्कृतिविद्हरूकाे छ।
समाजको उन्नयनका निम्ति पनि कति कुरा हराएर जान्छन्। केही वर्षअघि बाटोमा हिँड्दै गर्दा वा घुम्दा देख्ने पानीको सहायताले घुम्ने ढुंगाको घट्ट अचेल धेरै ठाउँमा लोप हुन थालेको छ। तर, यस्ता घट्ट ग्रामीण क्षेत्रमा भने भेटिँदै छन्। मकै, जौँ, गहुँ, कोदो, फापर, पिसेर पिठो बनाउन दिनभर लगाएर पानीघट्टमा धाउने चलन थियो।
जुम्लाको पातारासी गाउँपालिका-७ पट्मारा गाउँका धनजित थापालाई बिहान उज्यालो नहुँदै गाउँको तल खोला घट्टजानेको ताती लागेको स्मरण ताजै छ। अहिले त विद्युत् विस्तारले गाउँमै मिल खुलेपछि पानीघट्ट बन्द भएको थापा सुनाउँछन्।
उनी भन्छन्, ‘ ग्रामीण क्षेत्रमा कतै भए मात्र सदरमुकाम आसपासमा परम्परागत पानी घट्ट मासियो।’
उनी थप्छन्, ‘पानीघट्टको पिठोको रोटी वा ढिँडो स्वाद निकै मिठो हुन्छ भने धेरै ताकत दिन्छ।’
‘मिलको पिठो चाँडै बिग्रिन्छ, धनजित थप्छन्, ‘ढिँडो त कहिलेकाहीँ मात्रै खाइन्छ। उहिलेको जस्तो अहिले खानेकुरामा स्वाद पाइँदैन।’ घट्टका पारखी खेमबहादुर थापा घट्ट खोजेर पनि नपाइने बताउँछन्।‘
अब घट्ट खोज्न कहाँ जाने?’ कतैकैतै त पानीघट्टको चलन कायमै भन्ने पनि समाचार पढ्न पाइन्छ, सुनिन्छन तर,जुम्लाका ग्रामीण क्षेत्रमा पानीघट्टको अहिले पनि विकल्प छैन। घट्ट स्थानीय बिष्ना रोकाया भन्छिन्, ‘राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा नपुगेसम्म मेरो घट्ट चल्छ।’
प्रविधिको विकासँगै अधिकांश ठाउँमा आधुनिक घट्टले परम्परागत पानीघट्ट विस्थापित भएका छन्। विद्युत् नपुगेका ठाउँमा भने अझै पानीघट्ट लोकप्रिय छ। जुम्लाको पातारासी गाउँपालिकाको पट्मारामा परम्परागत पानीघट्ट चलाउँदै आएकी जुनकली थापा भन्छिन्, ‘विद्युत् नभएकाले पानीघट्ट चलिरहेको छ। यसले एकातिर मेरो परिवार धानेको छ भने अर्कोतिर संस्कृति जोगाएको छ।’
विद्युत् विस्तार भएपछि भने ठूलो लगानी गरेर मेसिन किन्नुपर्ने स्थानीय बताउँछन्। ‘अहिले दिनभर मकै, गहुँ, जौ, फापर, कोदो जस्ता अन्न पिस्नमा व्यस्त हुन्छु’, उनी भन्छिन्। पानीघट्ट मानव जीवनमा निकै लामो समयदेखि उपयोग भएको घरेलु यन्त्र हो।’
पानीले मदानी घुमाएपछि घट्ट घुम्छ र विस्तारै अन्न पिसिन्छ। यस्तो घट्ट आधुनिक शहरमा नदेखे पनि कतैकतै ग्रामीण क्षेत्रमा अझै पाइन्छ। पहिले खोला किनारमा घट्ट थापेर पिस्दै गुजारा चलाउने धेरै भेटिन्थे, पानीबाट चल्ने अथवा घुम्ने एक प्रकारको यन्त्र हो। जसको प्रयोगबाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थ पिस्ने गरिन्छ।
विशेषगरी नेपालको ग्रामीण इलाकामा यसको प्रयोग हुन्छ। पानीघट्ट प्राचीनकालदेखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। बगेको पानी ठाडो गरी राखिएको काठको सानो डुँडबाट जोडले सानो मुडोमा मिलाएर अड्काइएका मदानी फोहोरामा पारिन्छ। यसकै जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुंगा फनफनी घुम्छ। यही घुमाइसँगै कम्पनले अन्नका दाना बिस्तारै खस्छन् र पिसेर धुलो बन्ने गर्दछ। सोली (डौठो) मा अन्न खन्याइन्छ र अन्न सोली (डौठो) बाट सोलीको मुखमा भएको धारा हुँदै घट्टमा खस्दछ।
यसका लागि सोली र घट्टको माथिल्लो फक्लेटोमा चरो जोडिएको हुन्छ। अचम्मको कुरा के छ भने घट्टमा पिस्न लिएको अन्नमा घुन छ भने अन्न पिसेर मसिनो पिठो भएर घट्ट हेर्दा सामान्य जस्तो लाग्छ। तैपनि यसको सबै प्रक्रिया राम्ररी अध्ययन गर्ने हो भने यो त्यतिबेलाको वैज्ञानिक चमत्कार नै थियो।
पानीघट्टको संरक्षण गर्न जरुरी रहेको जुम्लाका सिंजा गाउँपालिका- ६ का वडाध्यक्ष लालबहादुर बुढा बताउँछन्। भन्छन्, ‘मानव सभ्यताको विकाससँगै मानिसका आवश्यकताहरूले विभिन्न किसिमका ज्ञान विज्ञानको पनि सिर्जना भएको पाइन्छ।’
हाम्रा पुर्खाहरूले जीवन जिउने क्रममा आइपरेका विविध समस्याको समाधानका लागि विभिन्न उपायको खोजी गर्दै जाँदा घट्ट पनि प्रयोगमा आएको उनको बुझाइ छ। विद्युत अभाव भएका ग्रामीण क्षेत्रमा भने विकल्प छैन। यस्ता घट्ट चलाउने व्यक्तिलाई घट्टालो (घटेरो) भनिन्छ।
पिठो बनाएबापत घट्टालो (घटेरो) ले त्यही अन्नबाट निश्चित मात्रा ज्याला लिएर जीविका चलाउँछन्। बढ्दो आधुनिकतासँगै शहरबजारमा पानी घट्टको प्रयोग हुन छाडेका छन्। यद्यपि गाउँबस्तीमा भने घट्टको लोकप्रियता नघटेको वडा अध्यक्ष बुढा बताउँछन्, ‘हाम्रो ठाउँमा पानी घट्टको विकल्प छैन।’
पानी घट्टमा खाद्य पिसानी गर्दा सस्तो पर्नुको साथै घट्टमा पिसिएको खाद्य निकै स्वादिलो हुने भएकाले पिसानीको लागि पानी घट्टको नै प्रयोग गरेको पाइन्छ। ‘पानी घट्ट हेर्दा सामान्य जस्तो लागे पनि यसको सबै प्रक्रिया राम्ररी अध्ययन गर्ने हो, भने यो त्यतिबेलाको वैज्ञानिक चमत्कार हो’,लालबहादुर बताउँछन्, ‘यसको संरक्षण गर्न जरुरी छ।’
प्रकाशित: ९ फाल्गुन २०८१ ०९:५८ शुक्रबार