समाज

के हो पाथीभरा (मुक्कुमलुङ) केबलकार विवाद?

ताप्लेजुङस्थित पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्ने र गर्न नहुनेबीचको बहस गत माघ १२ गते मुठभेडसम्ममा आइपुग्दा राष्ट्रिय मुद्दाको विषय बनेको छ। सरकारसँगको वार्ता सार्थक नभएको बताइरहेका आन्दोलनरत पक्षले माघ २९ गतेदेखि फागुन ८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।

बन्द र हडतालका कार्यक्रमसमेत हुनेगरी घोषणा गरिएको आन्दोलनका कार्यक्रममा बन्द र हडताल कहिलेदेखि सुरु हुने भन्ने खुलाइएको थिएन। केबलकारका विषयलाई लिएर भएको वार्ताप्रति सरकार गम्भीर नभएको भन्दै ‘नो केबलकार’ पक्षधर मुक्कुमलुङ ताङसेप चुम्भोका संस्था र अन्तरदलीय राजनीतिक पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए।

जसअनुसार फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमईका केन्द्र रहेका कोसी प्रदेश र देश/विदेशमा बहिष्कार गर्ने घोषणा गरिएको थियो। फागुन ८ गते ‘बृहत् मुक्कुमलुङ बचाउ पदयात्रा’ कार्यक्रमसमेत घोषणा गरिएको थियो।

यस्तै मुक्कुमलुङ बचाउ पदयात्रा, केबलकार अनुमति खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ गर्ने कार्यक्रमसमेत घोषणा गरिएको थियो। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको सरकारी वार्ता टोलीसँगको छलफल सार्थक निष्कर्षमा पुग्न नसक्ने आन्दोलनरत पक्षको ठम्याइलाई उनीहरूले माघ २८ गते गृहमन्त्री रमेश लेखकसँगको भेटमा समेत उद्गार गरेका थिए।

गृहमन्त्री लेखक आफैंले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका थिए, ‘पाथीभरा–मुक्कुमलुङ केबलकार निर्माणबारेको विवाद शान्तिपूर्ण रूपमा सहमति गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठित समितिले वार्तालाई निरन्तरता दिनेछ। वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह गर्छु।’

आन्दोलनरत पक्ष र गृहमन्त्री लेखकसँगको भेटवार्ताको सहजीकरण गरेका प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले आन्दोलनरत पक्षलाई गृहमन्त्री लेखकले उक्त वार्ताटोलीलाई निर्णायक अधिकारसहितको जिम्मेवारी दिएको बताएका छन्।

गृहमन्त्रीसँगको भेटमा आन्दोलनरत पक्षले मौजुदा सरकारी वार्ता टोलीभन्दा उपल्लो स्तरको वार्ताटोली माग गरेका थिए। लेखकले भने उक्त वार्ताटोली अधिकारसम्पन्न भएकाले आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम स्थगन गरेर सोही वार्ता टोलीमार्फत सार्थक निष्कर्षका लागि आग्रह गरेको सांसद भट्टराईको भनाइ छ।

‘वार्ताद्वारा समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ भन्ने कुरा गृहमन्त्रीज्यूले उक्त छलफलमा पनि दोहोर्‍याउनुभयो,’ सांसद भट्टराईले भनेका छन्, ‘आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताद्वारा समस्या समाधानका लागि उहाँले आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ।’

मन्त्रालयको लेटरप्याडबिनाकोे एक पत्रमा सरकारी वार्ता टोलीका संयोजक भट्टराईले हस्ताक्षर गरी बुधबार साँझ जारी गरेको पत्रमा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेकाले वार्तामा सहभागी भई समस्या समाधान गर्न आह्वान गरिएको छ। उक्त पत्रको आधिकारिकतामाथि प्रश्न उठाउँदै आन्दोलनरत पक्षका नेताद्वय राम मादेन र सरस्वता सिंघकले ‘यस्तै तरिका भए वार्ताको औचित्य सकिएको छ’ भन्ने टिप्पणी गरेका छन्।

 आन्दोलनरत पक्षले गत माघ १५ देखि १९ गतेसम्म मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा यातायात बन्द गरे। २० गतेदेखि उनीहरूको आन्दोलन अरूणपूर्वका नौ जिल्ला केन्द्रित भयो। माघ २१ गते साँझ पहिलो पटकको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच सहमति नभएपछि २२ गते राति ६ बुँदे सहमति गरियो। सहमतिसँगै आन्दोलनरत पक्षले यातायात बन्दका कार्यक्रम स्थगन गरे भने सरकारले पक्राउ परेका ‘नो केबलकार’ पक्षका कार्यकर्ता रिहाइ गर्‍यो। माघ २२ गतेको वार्तामा समस्या समाधानका लागि माघ २७ गते अर्को चरणको वार्ता गर्ने मिति तय गरियो। तर उक्त वार्ता निष्कर्षमा पुग्न नसकेपछि आन्दोलनरत पक्षले माघ २८ गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो। सोही साँझ आन्दोलनरत पक्षका केही नेताले गृहमन्त्री लेखकसँग भेट पनि गरे। आन्दोलनरत पक्षले गृहमन्त्री लेखकसँगको भेटपछिको अवस्थाबारे आधिकारिक केही बताएको छैन।

राज्य पक्षसँग यसरी भयो आन्दोनरत पक्षको भेट

पाथिभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र केबलकार निर्माण पक्षधरबीचको मतभेदमा यही माघ १खि राज्य पक्षसमेत मिसियो। यो विषयमा राज्य पक्षको बलियो संलग्नता माघ १२ गते बलुडाँडामा ‘नो केबलकार’ पक्षधरसँगको मुठभेडपछि देखिएको छ।

हुन त गत कात्तिक २३ गते पाथिभराको काफ्लेपाटी भन्दा १५ मिनेट दुरीमा रहेको केबलकारको ‘बेस स्टेसन’ शिलान्यासपछि त्यहाँ निर्माण उपकरण पुर्‍याउने विषयमा समेत केबलकार निर्माण पक्ष र ‘नो केबलकार’बीच ढुंगा हानाहान हुँदा स्थानीय प्रशासनले अवस्था सामान्य बनाउन अग्रसर हुनुपरेको थियो। केबलकार निर्माण गर्ने पक्ष र गर्न नहुने पक्ष आमने–सामने हुने परिस्थितिको मूल्यांकन गरेको जिल्लास्थित सुरक्षा समितिले केबलकारको ‘बेस स्टेसन’ निर्माण हुने क्षेत्रतर्फ जान लागेको स्काभेटर मेसिनको चाबी खोसिदियो।

‘हामीले अवस्था असामान्य हुने देखेपछि शान्तिसुरक्षा व्यवस्थापनका लागि उक्त मेसिन कार्यस्थलमा जानबाट रोकेका हौं,’ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने। उनले उक्त दिन मेसिन जान दिएको भए अवस्था असामान्य हुने देखेर सुरक्षा निकायले उक्त स्थानतर्फ जान नदिन सावधानी अपनाएको बताए। सो क्रममा केबलकार निर्माण पक्षधर र केबलकार निर्माण गर्न नहुने पक्षबीच ढुंगा हानाहान हुँदा सुरक्षामा खटिएको प्रहरीले दुवै पक्षलाई तितरबितर पार्न लाठी चार्जसम्मको बल प्रयोग गर्नुपरेको जिल्लास्थित सुरक्षा स्रोतको भनाइ छ।

केबलकार निर्माण कम्पनीले स्थानीय पूर्वाधार निर्माणको जिम्मेवारी दिएको हिमालयन कन्स्ट्रक्सन प्रालिले माघ ८ गतेदेखि केबलकारको ‘बेस स्टेसन’ निर्माण हुने क्षेत्रमा स्काभेटरसहितका उपकरण लगी जमिन सम्याउनेसहित कार्य सुरु गर्‍यो। सोही दिनदेखि ‘नो केबलकार पक्षधरहरू’ पाथिभरा क्षेत्र केन्द्रित हुन थाले। माघ १२ गते बलुडाँडामा अपराह्नतिर आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबीचको झडपमा पहिलोपटक अश्रुग्यास र दोस्रो पटक गोली प्रहारसमेतको अवस्था सिर्जना भएपछि आन्दोलनरत पक्ष बन्दसहितका कार्यक्रममार्फत प्रतिरोधमा उत्रियो। स्थानीय सुरक्षा निकायले भने उक्त दिन आन्दोलनकारीका तर्फबाट सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि प्रतिरक्षाका लागि हवाई फायर गरिएको दाबी गरेको छ।

घटनामा आन्दोलनकारीतर्फ तीन जनालाई गोली लागेको र अरू केही घाइते भएको मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिम बताउँछन्। आफूहरूले शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहेका बेला सुरक्षा फौजले अन्धाधुन्ध गोली बर्साएको लिङखिमको दाबी छ।

स्थानीय प्रशासनले सुरक्षाकर्मीतर्फ सात जना घाइते भएको बताएको छ। दुवै पक्षका गरी उक्त घटनामा करिब २५ जना घाइते भएको सुरक्षास्रोतले जनाएको छ। आन्दोलनरत पक्षका तीनजनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सरकारले आन्दोलनका सबै घाइतेको उपचारको जिम्मेवारी लिएको गृहमन्त्री लेखक स्वयंले पनि आन्दोलनरत पक्षको भेटमा बताइसकेका छन्।

पाथिभरा क्षेत्रमा केबलकार निर्माणको वित्तीय व्यवस्थापनसहितको प्रक्रिया सुरु भएसँगै पछिल्लो चार वर्षयता भने केबलकार निर्माण र ‘नो केबलकार’ पक्षबीचको बहसले मतभेद, आन्दोलन हुँदै मुठभेडको रूप लिन थालेको हो। पाथिभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले पाथिभरामा जाने केबलकार निर्माण गर्ने अनुमति पाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रञ्जु मार्ग (केबलकार) सम्बन्धी अनुमति दिने निकाय फुङलिङ नगरपालिकासहितका निकायबाट सबै वैधानिक प्रक्रिया पूरा गरेको दाबी गर्ने कम्पनीले तीर्थालुको सहयोगका लागि केबलकार आवश्यक रहेकाले प्रक्रिया पूरा गरेर काममा आएको भनिरहेको छ।

पाथिभरा क्षेत्रलाई प्राकृतिक र सांस्कृतिक हिसाबबाट बिगार्न हुन्न: केबलकार खारेजी पक्षधर

सुरुमा ६ मुख्य घटक मुक्कुमलुङ अर्थात् पाथिभरा बचाउ आन्दोलनमा थिए। उनीहरूले ताप्लेजुङ जिल्लाको ‘मुक्कुमलुङ मुन्धुमी आस्थास्थल तथा माङ्गेना चोःत्लुङ हो’ भनिरहेका छन्। चोःत्लुङ भनेको शिर हो। प्रकृति पूजकहरूको मुख्य आराध्यस्थल भएकाले मुक्कुमलुङ अर्थात् पाथिभरा क्षेत्रलाई प्राकृतिक र सांस्कृतिक हिसाबबाट बिगार्न नहुने उनीहरूको भनाइ छ।

मुक्कुमलुङ अर्थात् पाथिभरा क्षेत्र देशको सांस्कृतिक धरोहर भएको उनीहरूले बताउँदै आएका छन्। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथिभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघ मुक्कुमलुङ र केबलकार खारेजीको विषयमा मुख्यरूपले आन्दोलनको नेतृत्व गर्ने गरेका थिए।

उनीहरूले आफ्नो मुन्धुमी स्थलको नाम मुक्कुमलुङबाट पाथिभरा बनाइएको भन्दै एक पत्रकार सम्मेलनमा ‘कथित पाथिभरा’ भनेरै विज्ञप्ति जारी गरेका थिए। अहिले भने आन्दोलनमा मुकुम्लुङ ताङ्सेःप चुम्भो सम्बद्ध ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीसमेत सामेल भएका छन्। पाथिभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बू मुक्कुमलुङ मुन्धुमी संस्कृतिको आस्थाको पवित्र स्थल भएकाले यहाँको वातावरण र प्रतिकूल हुने गरी कुनै पनि पूर्वाधार निर्माण गरिनु हुँदैन भन्ने मान्यताका साथ आफ्नो अडानमा अडिग रहेको बताउँछन्।

मुम्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका अध्यक्ष लिङखिम अहिलेको आन्दोलन संस्कृति र प्रकृतिमाथि भइरहेको अतिक्रमणविरुद्ध लक्षित रहेको बताउँछन्। ‘हाम्रो प्रमुख मुन्धुमी स्थलमाथिको अतिक्रमण सह्य छैन, जुनसुकै मूल्य चुकाउन तयार छौं,’ उनले भनेका छन्।

 मुक्कुमको अर्थ ‘अग्नि, ज्वाला, सर्वशक्तिका देवता’ र लुङको अर्थ ‘ढुंगाको मूर्ति वा प्रतिमा’ भन्ने अर्थ लाग्छ। किरात समुदायको सभ्यता, इतिहास, प्राग्इतिहास, दार्शनिक दृष्टिकोण, सांस्कृतिक पक्षलगायतको अध्ययनको प्रमुख आधार नै मुन्धुम भन्ने गरिएको छ। मुक्कुमलुङलाई उनीहरूले प्रमुख मुन्धुमीस्थल र यसको पनि शिर अर्थात् चोःत्लुङ ठान्छन्। मुक्कुमलुङ अर्थात् पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा राष्ट्रिय फुल लालीगुराँस काटेर दोहन गरिएको भन्दै आन्दोलनरत पक्षले यसको व्यापक विरोधसमेत जनाएको थियो। पछि रूख काटिएका क्षेत्रमा वृक्षरोपण कार्यक्रमसमेत गरेर आन्दोलनरत पक्षले रचनात्मक विरोध गरेको थियो।

यसो भन्छ केबलकार निर्माण कम्पनी

पाथिभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको कम्पनी हो। केही दिनअघि काठमाडौंमा सम्पादकहरूको अन्तरक्रियामार्फत ढकालले केबलकार बन्नुपर्ने १४ वटा कारण पेस गरेका थिए। उनको भनाइअनुसार अनुमति पाए पनि लामो समयसम्म केबलकार निर्माणको काम अघि बढ्न सकेको थिएन। केही दस्ताबेजमा भेटिएअनुसार २०५४ सालमा कञ्चनजङ्घा केबलकार प्रालि दर्ता भए पनि काम भने अघि बढ्न सकेको थिएन।

विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले २०७२ मा पाथिभरा देवी दर्शन केबलकार प्रालि दर्ता गरेको दस्ताबेजहरूमा देखिन्छ। त्यही सेरोफेरोमा संघाई समूहका सुभाष संघाईले त्रिवेणी केबलकार कम्पनी दर्ता गरी केबलकार निर्माणको लाइसेन्स लिए।

यसरी एकै स्थानमा केबलकार निर्माण गर्ने दुई कम्पनी दर्ता भएपछि संघाई समूहले पाथिभरा देवी दर्शन केबलकार प्रालि खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दियो। सर्वोच्चले २०७५ सालमा पाथिभरा देवी दर्शन केबलकार प्रालिको पक्षमा आदेश दियो। अहिले कायम रहेको पाथिभरा देवी केबलकार दर्शन प्रालि यतिबेला ढकाल अध्यक्ष रहेको कम्पनी हो।

 अहिले पाथीभरा देवी (मुक्कुमलुङ केबलकार दर्शन प्रालि भनिँदै आएको) दुई वर्षअघि २०८० जेठदेखि भने कम्पनीको स्वामित्व ढकालले ग्रहण गरेका छन्। ‘करिब दुई वर्षअघि पाथिभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ,’ ढकालले भनेको विषय यही हो।

केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाका लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने र यी आधारभूत आवश्यकताका संरचनाबाहेक यहाँ अरू केही नबन्ने भएकाले मन्दिरपरिसर तथा यसवरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर नपर्ने ढकालको दाबी छ। उनले केबलकार निर्माणले बालबालिका, वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त र उकालोओरालो हिँड्न नसक्नेहरूका लागि सहज हुनुका साथै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने दाबी गरेका छन्।

हिँडेरै जान चाहनेहरूका लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा नपु¥याउने उनले भनेका छन्। वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रुखबराबर २५ रुखका दरले वृक्षरोपण गरी वृक्षरोपण गरिएका बिरुवालाई पाँच वर्षसम्म स्याहार तथा संरक्षण गर्ने र त्यसपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने ढकालले भनेका छन्। केबलकार आयोजना सञ्चालन हुँदा पनि जैविक विविधता र वातावरण बिग्रिने नभई यसलाई जोगाउन थप सहयोग पुग्ने उनको दाबी छ।

शान्तिसुरक्षा प्रदान गर्ने जिम्मेवारी मात्र हाम्रो: स्थानीय प्रशासन

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा केबलकार निर्माणका लागि अनुमति दिने निकायबाट सबै प्रक्रिया पूरा भएर आइसकेकाले स्थानीय प्रशासनका तर्फबाट शान्तिसुरक्षा प्रदान गर्ने जिम्मेवारी मात्र आफूहरूमा रहेको बताउँछन्। ‘केबलकारसम्बन्धी निर्णय हाम्रो तहबाट हुँदैन र भएको होइन,’ प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलमा प्रजिअ शर्माले भनेका थिए। उनले अनुमति दिने निकायसँगै यो विषयमा छलफल गर्न आन्दोलनरत पक्षलाई आग्रहसमेत गरेका थिए।

कस्तो छ केबलकार योजना

पाथिभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म २.७५ किलोमिटर दुरीमा केबलकार बन्ने गरी कम्पनीले अनुमति पाएको हो। केबलकार निर्माणका लागि करिब तीन अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ। पाथिभरा दर्शन केबलकार प्रालिले भने सरकारी अनुमति प्राप्त भएकाले १५ महिनाभित्र केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ। केबलकार कम्पनी अध्यक्ष ढकालका अनुसार काफ्लेपाटी बेसस्टेसन रहने गरी तयार भएको केबलकारको विस्तृत परियोजनामा पाथिभरा डाँडाभन्दा करिब ७ सय मिटर तल पश्चिम दिशामा टप स्टेसन बन्नेछ।

उनका अनुसार केबलकारमा ३६ वटा गोन्डोला रहनेछन्। त्यसमध्ये २ वटा गोन्डोलामा पाथिभरा क्षेत्रमा सामान ओसारपसारका लागि प्रयोग गरिनेछ। माथिल्लो स्टेसनमा पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना बन्ने कम्पनीको दाबी छ। केबलकार निर्माण र सञ्चालनका क्रममा करिब ३ सय जनशक्ति आवश्यक पर्ने र त्यसमध्ये ८० प्रतिशत जनशक्ति स्थानीय नै प्रयोग गर्ने दाबीसहित ढकालले केही दिनअघि पत्रकार सम्मेलन गरेका थिए।

जग्गाको अस्वाभाविक मूल्य: आन्दोलनरत पक्षले उठाउने अर्को अजेन्डा

पाथिभराको तल्लो फेदीमा केबलकारको ‘बेस स्टेसन’ बनाउन किनिएको जग्गाको असामान्य मूल्य आन्दोलनरत पक्षले बारबार उठाउनेमध्येको एक अजेन्डा हो। केबलकार सञ्चालनका लागि फुङ्लिङ नगरपालिका–११ को काफ्लेपाटीमा सस्तो मूल्यको जग्गा अस्वाभाविक मूल्य देखाएर ९० लाख रुपियाँ प्रतिरोपनीका दरले खरिद गरिएको दाबी आन्दोलनरत पक्षको छ।

 पाथिभरादेवी दर्शन केबलकार प्रालिलाई सो मूल्यमा २९ रोपनी जग्गा बिक्री गरेको दाबी आन्दोलनरत पक्षले बारम्बार उठाउने गरेका छन्। ३९ रोपनी जग्गा खरिद गरी १० रोपनी आफूले राखेर २९ रोपनी जग्गा अस्वाभाविक मूल्यमा खरिद गरिएको दाबी उनीहरूले गर्ने गरेका छन्।

मालपोत कार्यालय ताप्लेजुङका अनुसार २९ रोपनी जग्गा कारोबार गर्दा दुई करोड ३४ लाख ७७ हजार रूपैयाँ राजस्व तिरिएको देखिएको छ। यता केबलकार कम्पनी अध्यक्ष ढकाल भने जग्गा खरिदसम्बन्धी विषय आफ्नो कम्पनीले केबलकार निर्माणको स्वामित्व ग्रहण गर्नुअघिको भएकाले कम्पनीको स्वामित्व ग्रहण गरिसकेको अवस्थामा विगतमा भएका कुरा के थिए भन्ने विषयमा आफू अनभिज्ञ रहेको र जग्गा खरिदसँग जोडिएको उक्त विषय अहिले कम्पनीले नजान्ने बताउँछन्।

अघिल्लो वर्ष पाथिभरा केबलकार निर्माणका विषयमा सरोकारवालासँग छलफल गर्न फुङ्लिङ आएका उनले सो बेला यही कुरा बताएका थिए। ढकालले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला तीन सय नागरिकसँग छलफल गरिएको, सो क्रममा २५ जनाले केबलकारका विषयमा कुरा उठाएको र केबलकारको विषयमा विमति राख्नेमध्ये एकजनाले पूर्णरूपमा र दुईजनाले केबलकार निर्माणका विषयमा आफ्नो रायसहित केही असहमति राखेको दाबी गरेका थिए।

वार्ता र संवादमार्फत समस्या समाधान गरी केबलकार बनाऔं: मेयर मादेन

ताप्लेजुङको फुङ्लिङ नगरपालिकासहित उपस्थित सरोकारवालाले वार्ता र संवादबाट समस्याको समाधान गर्दै केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने राय व्यक्त गरेका छन्। पाथिभरा केबलकार निर्माणका विषयमा केही दिनअघि फुङ्लिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख अमिर मादेनले पाथिभरा क्षेत्रमा केबलकार निर्माण नभए ताप्लेजुङको विकास नै छोपिने तर्क गरे। ‘नगरपालिकाले संयोजन गरेको यो पत्रकार सम्मेलनमार्फत म ुनो केबलकारु भनिरहेका साथीहरूलाई आग्रह गर्छु– ताप्लेजुङको विकासप्रति तपाईंहरू पनि चिन्तित भइदिनुहोस्,’ करिब आधा घण्टा आफ्ना कुरा राखेका नगरप्रमुख मादेनले भने।

उनले पाथिभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालसहित स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गरेर विकास निर्माणको जग बलियो बनाउनुपर्नेमा दलाल र माफिया भनेर हतोत्साहित गर्नु राम्रो विषय नभएको बताए।

विकास निर्माणमा अवरोध भइरहने हो भने व्यवसायी पलायन हुने, आर्थिक विकासले गति नलिने, समृद्ध समाज निर्माणको अभियानमा क्षयीकरण हुने भएकाले केबलकार निर्माण गरेर स्थानीय रूपमै रोजगारी सिर्जना र अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने उनको दाबी थियो। नगरप्रमुख मादेनले केबलकार निर्माणको विपक्षमा रहेकाहरूलाई ‘तपाईंहरूका पनि सन्तान छन्, विकासको मोडेलमा अवरोध गरेर सन्तानको भविष्य संकटमा पार्नुहुन्न’ भन्ने सुझाव पनि दिए।

भक्तजनहरूको सुविधाको असल माध्यम र अर्थतन्त्रको विकास एकसाथ अघि बढाउने उद्देश्यले केबलकार निर्माण गर्नैपर्ने उनको दाबी थियो। माता कसैको र मठमन्दिर कुनै जात, धर्म, संस्कार र संस्कृति मात्रैको पेवा नहुने बरु सबैको साझा हुने भएकाले प्रकृतिको संरक्षण र संस्कृतिको विकासका लागि केबलकार बन्नुपर्ने मादेनको भनाइ थियो। उनले केबलकार निर्माण आधुनिक युगको विकास र सबैभन्दा कम प्राकृतिक क्षतिबाट पूरा हुने साधन भएको दाबी गरे। मादेनले केबलकार निर्माणका क्रममा पाथीभरा डाँडालाई भत्काउने, लडाउने र प्राकृतिक हिसाबले नयाँ स्वरूपको बनाउने नभएकाले केबलकार निर्माणबाट संस्कृति, प्रकृति र मुन्धुमीस्थल मासिने भन्ने गलत तर्क मात्र रहेको बताए।

‘मलाई तपाईंहरूले गाली गर्नुभएको, धेरै आलोचना गर्नुभएको छ,’ नो केबलकार पक्षधरहरूप्रति संकेत गर्दै मादेनले भने, ‘तपाईंहरूले अब चिन्ता लिने भनेको विकासको हो, भावी पुस्ताको र समृद्ध ताप्लेजुङको हो।’

उनले केबलकार निर्माणले तिन हजार पाँच सय घरधुरी विस्थापन हुन्छ, स्थानीयको रोजीरोटी खोसिन्छजस्ता गलत भाष्य स्थापित गरेर विकासको अजेन्डामाथि धावा बोलिनु राम्रो विषय नभएको दाबी गरे। उनले सार्थक वार्तामा बसेर समस्या समाधानसहित केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने नगरपालिकाको धारणा रहेको बताए।

पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष टंक पालुङ्वा, वडा नं. ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा, वडा नं. ६ का वडाध्यक्ष मदन गुरुङ (तेज), वडा नं. ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला, वडा नं. ९ का वडाध्यक्ष लक्षुमन गुरुङ, वडा नं. ११ का वडाध्यक्ष युवराज भट्टराईसहितले लडाईं र झगडाबेगर केबलकार निर्माण हुनुपर्ने तर्क राखे।

प्रकृति र संस्कृतिको संरक्षण र जगेर्ना गर्दै केबलकार निर्माण हुनुपर्ने पक्षमा आफूहरू रहेको वडाध्यक्षहरूको मत थियो। पत्रकार सम्मेलनमा पूर्वनगर उपप्रमुख बमबहादुर भट्टराई, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, गैरसरकारी संस्था महासंघका अध्यक्ष खड्गविक्रम सुवेदी, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्कीसहितले शान्तिपूर्ण र सहज रूपको लगानीमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिए।

स्थानीय निर्माण कम्पनीको भनाइ

पाथिभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले स्थानीय पूर्वाधार निर्माणको जिम्मेवारी हिमालयन कन्स्ट्रक्सनलाई दिएको छ। हिमालयन कन्स्ट्रक्सनका प्रोप्राइटर इन्द्र केदेम आधुनिक युग सुहाउँदो यातायात साधन केबलकारले कुनै प्राकृतिक तथा धार्मिक सम्पदामाथि अतिक्रमण नहुने बताउँछन्। आफूले निर्माणको जिम्मेवारी पाएको काम १५ महिनाभित्र फत्ते गर्ने उनको दाबी छ। उनले तीव्र गतिले बेस स्टेसन निर्माणको कार्य भइरहेको दाबी गरे।

केबलकार निर्माण क्षेत्रका ९७ प्रतिशत रुख काटिएको निर्माण कम्पनीको दाबी

सरकारी वार्ता टोली र आन्दोलनरत पक्षको वार्ता सार्थक निष्कर्षतिर जान नसकिरहेका बेला केबलकार निर्माण पक्षधरले बुधबार केबलकार निर्माण हुने क्षेत्रका बाँकी रुखसमेत कटान गरेको दाबी गरेको छ। निर्माण कम्पनीका एक प्रतिनिधिले ‘बटम स्टेसन’ क्षेत्रका एकाधबाहेक बाँकी सबै रुख काटिएको जानकारी दिए। केबलकार निर्माण कम्पनीले गत जेठ १ गते केबलकार निर्माण क्षेत्रका करिब ८० प्रतिशत रुखको कटान सकेको थियो। बुधबार करिब थप १७ प्रतिशत रुख कटान भएको निर्माण कम्पनीको दाबी छ।

माघ २२ गते आन्दोलनरत पक्ष र सरकारबीचको वार्तामा केबलकारको बेस स्टेसनभन्दा माथिको भागको काम तत्काल स्थगन गर्ने सहमति थियो। बेस स्टेसनबारे माघ २७ गतेको वार्ताबाट टुंग्याउने सहमति भएको थियो।

उक्त विषयमा २७ गतेको वार्तामा सहमति नभएपछि आन्दोलनरत पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। आन्दोलनरत पक्षले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेपछि आफूहरूले रुख कटानको बाँकी कार्य गरेको निर्माण कम्पनीले बताएको छ। आन्दोलनरत पक्षले वार्तामा भएको सहमतिसमेत कार्यान्वयन नगरेर राज्यले आफूहरूलाई अन्याय गरेको भन्दै यसको सशक्त प्रतिरोध गर्ने टिप्पणी गरेको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार केबलकार निर्माण क्षेत्रका दुई हजार ११४ वटा ठूला रुखमा टाँचा लगाइएको छ। त्यहाँ ठूला, साना र पोथ्रापोथ्रीसमेत गरी ६ हजार रुख कटान हुने डिभिजन वन कार्यालयको आकलन छ।

भारत र अमेरिकादेखि नेदरल्यान्डसम्मका नागरिक आउँछन् पाथिभरा

पाथिभरा मन्दिरमा नेपाली भक्तजन मात्र दर्शनका लागि पुग्दैनन्। विदेशीमध्ये भारतबाट सबैभन्दा बढी दर्शनार्थी पाथिभरा आउने गरेका छन्। पाथिभरा क्षेत्र विकास समितिको सूचना प्रविधि क्षेत्रको संयोजन गरिरहेका पत्रकार सन्तोष पुर्कुटीका अनुसार चालु आवको साउनदेखि कात्तिक मसान्तसम्ममा ४७८ जना विदेशी पर्यटक पाथिभरा मन्दिरमा आएका छन्। भारतबाहेक अमेरिका, जापान, थाइल्यान्ड, नेदरल्यान्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

४७ देशका मुद्रा भेटिए पाथिभरामा

आव २०७९/८० को अवधिमा ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा नेपालसहित ४७ देशका मुद्रा भेटिएका थिए। पाथिभरा क्षेत्र विकास समितिका अनुसार नेपालबाहेक पाथिभरा मन्दिरमा अमेरिका, साउदी अरब, मलेसिया, कतार, भुटान, कुवेत, हङकङ, कोरिया, दुबई, बेलायत, सिंगापुर, बंगलादेश, बहराइन, इराक, मालदिभ्स, भियतनाम, फिलिपिन्स, इजरायल, म्यानमार, मकाउ, क्यानडा, ओमान, सुडान, लिबिया, जोर्डनसहित देशहरूका मुद्रा भेटिएका छन्। यस्तै पाकिस्तान, स्विजरल्यान्ड, रोमानिया, चाइना, इन्डोनेसियासहित देशका मुद्रासमेत भेटिएको समितिले जनाएको छ।

पछिल्लो ७ वर्षमा पाथिभरा पुग्ने दर्शनार्थी १३ लाखभन्दा बढी

पछिल्लो ७ वर्षमा ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा १३ लाखभन्दा बढी दर्शनार्थी आएका छन्। यो चालु आव २०८१/८२ को तथ्यांकबाहेकको संख्या हो। पाथिभरा क्षेत्र विकास समितिले आव २०७४/७५ देखि आव २०८०/८१ सम्मको तथ्यांक दिएको छ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङका अनुसार ७ वर्षको उक्त अवधिमा १३ लाख तिन हजार ४९२ जना दर्शनार्थी मन्दिरमा आएका छन्। क्षेत्र विकास समितिको तथ्यांकअनुसार पछिल्लो ७ वर्षमध्ये सबैभन्दा बढी दर्शनार्थी आव २०७९/८० मा आएका थिए। उक्त आवमा दुई लाख ८३ हजार ९४५ जना दर्शनार्थी आएका थिए। यस्तै आव २०८०/८१ मा दुई लाख ३१ हजार ३३४ जना दर्शनार्थी आएका थिए। यस्तै आव २०७७/७८ मा दुई लाख १७ हजार ९६१ जना र आव २०७८/७९ मा दुई लाख चार हजार २८४ जना दर्शनार्थी आएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ।

सात वर्षभित्रमा सबैभन्दा कम दर्शनार्थी आव २०७५/७६ मा एक लाख एक हजार ६०५ जना आएका थिए। आव २०७६/७७ मा एक लाख दुई हजार ८७६ जना र आव २०७४/७५ मा एक लाख ६१ हजार ४८७ जना दर्शनार्थी पाथिभरा मन्दिर आएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ। चालु आवको कात्तिक महिनामा मात्रै ६१ हजार १७३ जनाले पाथिभराको मन्दिर दर्शन गरेका थिए। असोज महिनामा भने पाँच हजार ९४९ जनाले मन्दिरको दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: ८ फाल्गुन २०८१ ०६:२३ बिहीबार

# Pathibhara temple # Nagarik # Kewalkar nirman