समाज

केवलकार विवाद: आन्दोलनरत पक्षलाई सरकारको आग्रह– ‘वार्तामा बसौं, समस्या समाधान गरौं’

फाइल।

ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद समाधानका लागि सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आग्रह गरेको छ।

गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षबीच माघ २२ गते भएको ६ बुँदे सहमति अनुरूप माघ २७ गते थप छलफल गरिएको थियो। सो छलफलमा उठाइएका विषयहरूलाई स्पष्ट पार्दै, वार्ता टोलीले संवादकै माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।

सरकारी वार्ता टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘मुक्कुमलुङ पाथिभरा केवलकार निर्माणका क्रममा उत्पन्न स्थानीय समस्याहरूलाई टुंग्याउन शान्तिपूर्ण वार्ता र संवाद गर्न सरकार सदैव तयार छ।’

साथै, नेपाल सरकारका सहसचिवस्तरमा गठित वार्ता टोलीले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, विज्ञप्तिमा आन्दोलनरत पक्षलाई वार्तामा सहभागी भई सहमतिको आधारमा समाधान खोज्न पुनः अनुरोध गरिएको छ।

गृह मन्त्रालयले समस्या समाधानका लागि वार्ता टोली सधैं तयार रहेको जनाउँदै वार्ता र संवाद नै समस्याको समाधानका लागि उपयुक्त माध्यम भएको उल्लेख गरेको छ।

पाथिभरा केवलकार परियोजना हाल स्थानीयस्तरमा देखिएको असन्तोषका कारण प्रभावित भएको छ। वार्ताबाट सहमति जुटाएर समाधान खोजिने सरकारी पहलका बाबजुद विवाद भने अझै समाधान हुन सकेको छैन।

प्रकाशित: ३० माघ २०८१ २०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App