समाज

ताप्लेजुङबाट ५ जनाले लिए गैर आवासीय नेपाली नागरिकता

चालु आर्थिक वर्षमा ताप्लेजुङबाट ५ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का अनुसार पुस महिनामा २ सहित चालु आवमा ५ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका हुन्।

आव २०८०/८१ को एकवर्षे अवधिमा यहाँबाट ६ वटा गैर आवासीय नेपाली नागरिकता जारी भएको थियो। ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनामा पहिलो गैर आवासीय नेपाली नागरिकता जारी भएको थियो। आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निघुरादिनमा जन्मिएर नर्वेमा बस्दै आएका विशालकुमार सिटौलाले यहाँबाट पहिलो गैर आवासीय नेपाली नागरिकता लिएका थिए।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको पहिलो प्रमाण चाहिन्छ। यस्तै सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र पेस गर्नुपर्ने हुन्छ।

विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नातिनातिनासम्मले गैर आवासीय नेपाली नागरिकता पाउँछन्। नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएका व्यक्तिले गैर आवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम रहेको छ।

चालु आवमा २ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। प्रशासन कार्यालयले चालु आवको यो अवधिसम्ममा १ हजार ६ सय ७१ वटा राहदानी वितरण गरेको छ। १ हजार ४ सय ६१ जनालाई राहदानीका लागि साधरण तथा ८९ वटा द्रुत राहदानीको सिफारिस गरेको प्रशासन कार्यालयले जनाएको छ। पुस महिनामा मात्र प्रशासन कार्यालयले ३ सय ५३ वटा राहदानीका अनलाइन फारम निःशुल्क भरिदिएको छ।

प्रशासन कार्यालयले राहदानीको अनलाइन फारम कार्यालय कक्षबाटै निःशुल्क रूपमा भरिदिने व्यवस्था गर्दै आइरहेको छ। चालु आवको यो अवधिसम्ममा ६ सय ९९ वटा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिसकेको प्रशासन कार्यालयले जनाएको छ।

अघिल्लो आवसम्ममा ९ सय ३० वटा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको थियो। ताप्लेजुङमा अहिलेसम्म ७२ हजार ८ सय ६६ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण दर्ता गराइसकेका छन्।

प्रकाशित: २४ माघ २०८१ ११:१२ बिहीबार