उदयपुरको लिमचुङबुङ गाउँपालिकामा सोमबार मध्यान्ह बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि सदरमुकाम गाईघाटको जिल्ला अस्पताल पुर्याइएको छ।
लिमचुङबुङ गाउँपालिका-३ छाताङ तीनचोकेस्थित माझखर्क–बाराहा सडकखण्डमा मध्यान्ह १२ बजे बोलेरो जीप दुर्घटनामा परेको हो।
गाईघाटदेखि बाराहातर्फ जाँदै गरेको बा १ च ३२६७ नम्बरको जीप ब्रेक फेल भएर सडकबाट झन्डै पाँचसय मिटर तल खोल्सामा खस्दा चालक त्रियुगा नगरपालिका-१६ सुकौराका २६ वर्षीय युवराज तामाङको घटनास्थलमै मृत्यु भएको थियो।
जीपमा रहेका ७ जनामध्ये ५ जना घाइते भएका छन् भने एकजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक सन्तोष कार्कीले जानकारी दिए।
घाइतेहरूमा लिमचुङबुङ-३ की १९ वर्षीया सुस्मिता खत्री, उनका ५ वर्षीय छोरा सुबिम खत्री, लिमचुङबुङ-४ छाताङका ४७ वर्षीय बलदिप राई, ४१ वर्षीया निललक्ष्मी राई, र ६२ वर्षीया चरिमाया राई रहेका छन्। घाइतेहरूको बाराहास्थित गाउँ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि गाईघाट ल्याइएको हो।
घाइतेहरूको अवस्था सुधारोन्मुख रहेको अस्पताल प्रशासनले जनाएको छ। दुर्घटनामा मृत्यु भएका चालक युवराज तामाङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ।
इलाका प्रहरी कार्यालय बाराहाबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गरी सर्जमिन मुचुल्का उठाएको छ। जीप दुर्घटनाको कारण र विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ मंसिर २०८१ २२:३७ सोमबार