चिनको तिब्बतबाट करिब एक महिनादेखि हरारहेका जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघु गाउँका ३८ वर्षीय गणेश लामा अझै फेला पर्न सकेका छैनन्।
गत साउन १८ गतेदेखि उनी चीनको तिब्बतबाट सम्पर्कबिहीन भएका हुन्।
साउन १८ गतेको व्यापार मेला हेर्न मरिम्ला हुँदै तिब्बतको सिंगात्से प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकाको व्यापारिक मेलामा गएका थिए।
डोल्पा जिल्लाकालाई मात्रै पास दिने भएकोले लामा लुकिछिपी तीब्बत पुगेको हुन सक्ने अनुमान गरिएको छ।
लामा घर नफर्किएपछि आफन्तहरूले खोजी गरिदिन भन्दै यसअघि नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइसकेका छन्।
प्रहरीले उनीसँगै तिब्बत गएका डोल्पाको जगदुल्लाका गाउँपालिका–४ का सिंहबहादुर महतरासँग सोधपुछ गरेर तारेखमा छाडेको छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले डोल्पा प्रहरीको आग्रहमा चीनको प्रहरीले पनि लामाको खोजीकार्य गरिरहेको बताए।
गत साउन महिनाको ‘१८ गते बेपत्ता भएका लामाबारे २१ गते मात्रै डोल्पा प्रशासनलाई जानकारी प्राप्त भयो। त्यसपछि लामाको खोजी कार्यको लागि पहल सुरू गरिएको हो,’ दाहालले भने।
लामा हराएको विषयमा परराष्ट्र मन्त्रालयमा पनि पत्राचार गरिसकेको बताए। तर लामाको परिवारले भने डोल्पा प्रशासनले खोजीका लागि बेवास्ता गरेको आरोप लगाएका छन्।
यता गुठिचौर गाउँपालिका–१ का वडा अध्यक्ष अर्जुनकुमार महताराले तिब्बतमा १२ वर्ष पछि लाग्ने व्यापार मेलाका लागि गएका लामाको अवस्थाका विषयमा २८ दिन बितिसक्दा पनि सरकारले खोजीकार्यमा चासो नदेखाएको गुनासो गरे।
वडाध्यक्ष महताराले जुम्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै आफ्नो वडाको नागरिक हराएको सबै निकायले प्रथामिकताका साथ खोजी कार्य गरिदिन अनुरोध पनि गरे।
प्रकाशित: १४ भाद्र २०८१ ०८:१० शुक्रबार