समाज

तिला नदीमा र्‍याफ्टिङ गराउने जुम्लाका ‘बिर्खराम’

जुम्लाका बिर्खराम नेपाली तिला नदीकेन्द्रित पर्यटन व्यवसायमा सक्रिय छन्। तिला नदी वारिपारि उनी पर्यटकलाई र्‍याफ्टिङ गराउनमै खटिरहेका छन्। जिल्लाको चन्दननाथ नगरपालिका–१ तलिचौर गाउँका बिर्खराम नजिकैको तिला नदीमा पौडिरहन्थे। नदीमा खेलिरहेको देखेर बुवाआमाले उनलाई पटक/पटक सझाउँथे। आफ्ना साथीभाई दौउतेरीहरु पढ्न स्कुल गहिरहेका बेला पौडी खेल्ने उनको बानीमा परिवर्तन आएन।

उनको दैनिकी नै नदीमा जाने माछा हेर्ने र पौडिने काममा बित्न थालेको थियो। छिमेकीहरु पनि बिर्खरामको आयु दिगो नहुने भन्दै गिज्याइरहन्थे। उनै बिर्खराम अहिले तिला दिनमा रिभरगाइड बनेर र्‍याफ्टिङ चलाइरहेको देख्दा परिवारसँगै छिमेकी पनि दंग छन्। उनी हरेक दिन दुई ट्रिप पर्यटकलाई नदीमा घुमाइरहेका छन्। 

कर्णालीको पहिलो रिभर गाइड भएकोले पनि उनी आफूमा गर्व गर्छन्। सुरुमा रिभर गाइड बनेको सुन्दा पनि सबै अचम्म मानिरहेका हुन्थे। दौतरीहरु त्यहीँ र्‍याफ्टिङ  चढिरहेका हुन्छन्। आफुले पनि साहसिक पर्यटनमा सघाउन पुर्याइरहेको देख्दा मन प्रफुल्ल हुन्छ। सानैदेखि गरिबीको पहाडले थिचिएका बिर्खरामले कक्षा- ५ सम्ममात्र पढेका छन्। उमेर छिप्पिदै जाँदा परिवारको जिम्मेवारी बढ्न थाल्यो।

उनी सन् २००१ मा कामको सिलसिलामा भारत हानिए। भारतको उत्तराखण्डको गंगा नदीमा चलेका र्‍याफ्टिङ क्याम्पमा वेटरको भूमिकामा काम गरे। जुम्ला रहँदा कहिल्यै र्‍याफ्टिङ नदेखेका उनी टन्न यात्रु लिएर नदीमा चलिरहेको देख्दा अचम्मित हुन्थे। तर नदीमै खेलेको हुँदा रिभरगाइड बन्ने चाहनाले भित्रभित्रै कुत्कुत्याइरहेको थियो।

अन्य रिभरगाइडहरुसँग परामर्श गरेर उनी पनि तालिम लिन थाले। उनले तीन वर्षको तालिम लिए। संयोगवश र्याफटिङ क्षेत्रमै पाएको कामले उनले तालिमको अवसर प्राप्त गरे। जब उनी रिभरगाइड सिक्न थाले, तब कर्णालीका नदीमा आफ्नो भविष्य देख्न थाले। आफु खेलेको तिला नलीमा सन् २०१२ मा गुठीचौरको गर्ज्यांङकोटदेखि तिलाको नाग्मसम्मको झण्डै ४५ किलोमिटरमा काइकिङ गरेर रेकी गरे।

उनले तिलामा र्‍याफ्टिङको सम्भावना राम्रो रहेको निष्कर्ष निकाल्दै फेरि भारत हानिए। उनी त्यतिबेला उत्तराखण्डको गंगा, अलगनन्दा, भागरथी, मन्दाग्नी, लदाकको इन्डक्स झास्को र सर्चु हिमान्चलको वयास, पार्वती र साउथ इन्डियाको कुण्डली रिभरमा गाइड बनेर र्‍याफ्टिङ चलाइरहेका थिए। झण्डै १५ वर्ष भारतमा रिभर गाइडको रुपमा काम गरे। भारतका नदीहरुमा बटुलेको अनुभव अहिले नेपाली नदीहरुमा लागु गरिरहेका छन्।

६ वर्षदेखि बिर्खराम नेपालका नदीमै चलिरहेका छन्। उनी अहिले त्रिशूली, भोटेकोशी, मर्स्याङ्दी, सुनकोशी, बलेफी, कालीगण्डकी, सेती, कर्णाली र तिला नदीमा सिजनेवल र्याफ्टिङ चलाइरहेका छन्। उनी भन्छन्, ‘हरेक नदीहरुमा भविष्य छ। तर त्यो हामीले देखिरहेका छैनौं।’ उनलाई अहिले पनि रिभरगाइडको रुपमा काम गरिदिन भन्दै फोन आइरहन्छन्। तर उनले हरेकलाई तिलामा चलाइरहेको भन्दै आन्तरिक पर्यटकको रुपमा आउन निम्तो दिने गरेका छन्।

उनले भने, ‘हामी गरिब होइनौं आफैँ बनाइएका छौं। अब नदीनाला, ताल तलैया, मठमन्दिर जस्ता पर्यटकीय गन्तब्यको महत्व दर्शाएर पर्यटक आकर्षित गर्ने बेला आइसकेको छ।’ चार वर्षअघि कोरोना महामारी फैलियो। सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर बस्नुपर्दा सबै दिक्क बनिरहेका थिए। ठीक यहीँ समयमा जुम्लाका पर्यटन व्यवसायी ललित महतले दुई वटा र्‍याफ्टिङ भित्र्याए। बिर्खराम रिभरगाइडको भूमिकामा रहेर काम गर्न थाले।

अहिलेसम्म चार सिजन चलाइरहेका बिर्खरामले एक हजारभन्दा बढी पर्यटक तिला नदीमा घुमाइसकेका छन्। मन्त्रीदेखि सांसद, व्यवसायीदेखि सर्वसाधारण सबैले तिलामा र्‍याफ्टिङ चढेका छन्। कर्णालीको डुंगेश्वरदेखि चिसापानीसम्म ८ दिनको ट्रिप समेत उनले चलाइसकेका छन्।

जुम्लामा १४ फिटको बढीमा ८ जना राख्न मिल्ने र्‍याफ्टिङ ल्याइएको छ। उनले भने, ‘तिला नदी सिजनेबल र्‍याफ्टिङको लागि उपयुक्त छ। यो समयमा सबैको ध्यान खिच्न जरुरी छ।’ उनी हरेक ट्रिपको पैसा लिन्छन्। कहिलेकाँही दैनिक दुई ट्रिप चलाउनुपर्ने हुन्छ। प्रति ट्रिप तीन हजार रुपैयाँ पारिश्रमिक लिने गरेका उनले दुइट्रिप चले ६ हजार पाउँछन्।

र्‍याफ्टिङ चढ्नेले प्रतिव्यक्ति दुई हजारदेखि पच्चीस सयसम्म तिर्नुपर्छ। असारदेखि भदौसम्म तिलामा र्‍याफ्टि चल्छ। दुई छोराछोरीसहित दुई दाजुभाइ, दुई बहिनी र आमाबुवा गरेर ६ जनाको परिवारको खर्च उनी रिभर गाइड बनेर चलाइरहेका छन्। उनको कामप्रति परिवार पनि निकै खुसी छ।

उनको एक छोरा र एक छोरी बोडिङ स्कुलमा पढिरहेका छन्। बिर्खरामले भने, ‘गरिबीले पढ्न दिएन्। अब छोराछोरीलाई राम्रो स्कुलमा पढाएर ठूलो मान्छे बनाउने धोको छ।’ आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउन रिभर फेस्टिभल आवश्यक रहेकोमा उनको जोड छ। उनले रिभर गाइड उत्पादन, र्‍याफ्टिङको संख्या बढाएर प्रतिष्पर्धा गराउन सकेमात्र कर्णालीमा पर्यटक बढाउन सकिने सुनाए।

सन् २००८ मा भारतको कुमाउ गडवालमा रहेको काली नदीमा उनले एशियाली कायक प्रतियोगितामा भाग लिए। उनी प्रथम भए। २०१४ मा भारतको केरलामा अन्तराष्ट्रिय कायक प्रतिष्पर्धामा तेस्रो बने। २०१५ मा गंगा नदीमा भएको र्याफ्टिङ प्रतिष्पर्धामा तेस्रो स्थानमा आए। उनले भने, ‘ती प्रतिष्पर्धाले झनै रिभर गाइडको भूमिकामा अडिग रहन मद्दत गरे।’

कक्षा ५ पढेका बिर्खरामले र्‍याफ्टिङ गर्नु पूर्व ‘सेफ्टी ब्रिफ’ अंग्रेजीमै गर्दा सबै मख्ख हुन्छन्। ‘सुरक्षित रुपमा खुसी बनाएर र्‍याफ्टिङ चढाइरहेका छौं। कर्णालीमा तिलालाई र्‍याफ्टिङ पर्यटनको गन्तब्य बनाउन लाग्नुपर्छ,’ उनले भने।

प्रकाशित: ३१ श्रावण २०८१ ०७:३३ बिहीबार

#Jumla News #Birkharam-Nepali #Rafting