समाज

३७ सय मिटर उचाइमा पर्यटन महोत्सव हुँदै

समुद्र सतहबाट करिब ३ हजार ७ सय मिटर उचाइमा रहेको ताप्लेजुङको पापुङस्थित तोक्पेगोलामा साउन २५ गतेबाट ४ दिने पर्यटन महोत्सव हुने भएकाे छ।

महोत्सवमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता, हाफ म्याराथन, र तिब्बती संस्कृतिमा आधारित प्यारासो खेलजस्ता कार्यक्रमहरू समावेश गरिएका छन्।

मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा हुने तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव मूल आयोजक समितिले आइतबार पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

महोत्सव प्रचारप्रसार समिति संयोजक नुपुछिरिङ शेर्पाका अनुसार महोत्सवको उद्देश्य पापुङ र तोक्पेगोलाको पर्यटकीय स्थलहरूको प्रचारप्रसार र बजारीकरण गर्नु हो।

महोत्सवमा करिब २५ देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सव स्थलमा हुने खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ७१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यसैगरी, तोक्पेगोलाको बस्तीबाट सोदुपोखरीसम्मको १५ किलोमिटर दुरीमा खुल्ला हाफ म्याराथन आयोजना हुनेछ। हाफ म्याराथनका विजेताले ३० हजार, उपविजेताले २० हजार, र तृतीय स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्।

महोत्सवमा तिब्बतीयन संस्कृतिमा आधारित प्यारासो खेल पनि समावेश गरिएको छ। प्यारासो खेलका विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पाउनेछन्।

मिक्वाखोला गाउँ कार्यपालिकाको कार्यालय र मिक्वाखोला गाउँपालिका–५ पापुङको मुख्य प्रायोजनमा आयोजना हुने महोत्सवले हिमाली भेगका बासिन्दाको दैनिकी, रहनसहन, र चौंरीको महत्त्वबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी गराउने अपेक्षा गरिएको छ।

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले मिक्वाखोला र तोक्पेगोला क्षेत्रको भ्रमणले स्वर्गीय आनन्द दिने बताउँदै महोत्सवको सफलताले क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार (गणेश) मावो लिम्बूले उच्च उचाइमा हुने भलिबल र हाफ म्याराथन प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण रहेको बताए।

आर्थिक संयोजक प्रताप साँवा लिम्बूका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको लागि खाने र बस्ने व्यवस्था निःशुल्क गरिएको छ। महोत्सव अवलोकन गर्न आउने पर्यटकहरूको लागि तोक्पेगोला क्षेत्रमा रहेका घरहरू, अस्थायी टेन्ट, र होटलहरूको व्यवस्थापन गरिएको छ।

प्रकाशित: २० श्रावण २०८१ १८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App