घटना १ (असार ६)
जथाभाबी दोहनका कारण बलान नदीको किनारमा बनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर लहान नगरपालिका–१७ बलानसेरका दुई बालकले ज्यान गुमाए। किनारमा थोरै पानी होला भनेर नुहाउन गएका रितिक चौधरी र अविनाश सदाय गहिरो खाल्डोमा भासिएर डुबेका थिए । सात वर्षीय रितिक र आठ वर्षीय अविनाश नजिकैको बलान खोलाकिनारमा छिपछिपे पानी होला भनेर झुक्किँदा गहिरो खाल्डोमा भासिएका थिए। उनीहरू डुबेको ठाउँमा दोहनका कारण खाल्डो बनेको थियो। तर बलान नदीमा आएको बाढीले त्यो खाल्डो भरिँदा ठुलो तालझैं बनेको थियो ।
अविनाशकी आमा कविता सदाय लहान बजार क्षेत्रमा निर्माण मजदुरको काम गर्छिन्। रितिककी आमा गृहिणी हुन् । उनी घरकै काममा व्यस्त भएका बेला छोरा बलान नदीको खाल्डोमा डुबेको थियो। नुहाउन हाम फालेपछि डुबेर मृत्यु भएको खबर गाउँमा फैलिएपछि सशस्त्र र नेपाल प्रहरीको टोली लहानबाट घटनास्थल पुगेको थियो। बालकहरू डुबेको खाल्डोको गहिराइ २० फिटभन्दा बढ्ता थियो । प्रहरीलाई उद्धार गर्न हम्मेहम्मे भयो। त्यसपछि आशिकका काकाले दुवै बालकालाई मृत निकालेका थिए । आशिकका बुवा लगन सदायको दुई वर्षअघि नै मृत्यु भइसकेको छ । रितिकका बुवा वैदेशिक रोजगारीमा छन् । अहिले बलान नदीकिनारको त्यो खाल्डोमा पानी घटे पनि चौधरी र सदाय परिवारलाई छोरा गुमाउनुको पीडाले सधैं पिरोलिरहनेछ।
घटना २ (असार १८)
जथाभाबी ग्राभेल झिकेर अलपत्र छाडिएको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर सिरहाको नरहा गाउँपालिका–३ खोरियाका दुई बालकको मृत्यु भयो। मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका सात वर्षीय छोरा राहुल मण्डल र सुशीलकै भान्जा आठ वर्षीय आशिष मण्डल छन्। दुवै बालक असार १७ देखि हराइरहेका थिए। उनीहरूको खोजीमा स्थानीय र प्रहरी खटिएका थिए। खोजी गर्ने क्रममा उनीहरू असार १८ गते बिहान साढे ८ बजे बस्ती छेउकै ग्राभेल खनेर अलपत्र खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएका थिए । स्थानीयका अनुसार ग्राभेल ठेकेदारहरूले ग्राभेल खनेर अलपत्र छाडिदिएको गहिरो खाल्डो ती बालकहरूको काल बन्यो । स्थानीय जनिफ अन्सारीले भने, ‘यस क्षेत्रमा जथाभाबी ग्राभेल उत्खनन गरेर अल्पत्र छाडेको गहिरो खाल्डोमा जमेको वर्षाको पानीमा डुबेर बर्सेनि बालबालिकाको ज्यान जाने गरेको छ।’
घटना ३ (साउन ४)
सिरहाको गोलबजार नगरपालिका–८ वलकावानजिकको इँटाभट्टाको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर ६० वर्षीय मनोज थापाले ज्यान गुमाए। साउन ३ बाट हराइरहेका थापाको शव भोलिपल्ट इँटाभट्टाले खनेको गहिरो खाल्डोमा घोप्टो परेर तैरिरहेका अवस्थामा गोलबजार प्रहरीले फेला पारेको थियो। थापा आफ्नो खेत जाने क्रममा चिप्लिएर पानी जमेको गहिरो खाल्डोमा डुबेको स्थानीयको अनुमान छ।
घटना ४ (असार २०)
धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्बाको सार्वजनिक पोखरीमा नुहाउन गएका तीन बालिकाको डुबेर ज्यान गयो। ज्यान गुमाउनेमा ११ वर्षीया मुस्कान खातुन, नौ वर्षीया जिनत खातुन र १० वर्षीया अजमेरी खातुन थिए।
पोखरीमा नुहाउन गएका ती तीन बालिका डुबेको थाहा पाएर जम्मा भएका स्थानीयले पोखरीमा हाम फालेर सबैको उद्धार गरेका थिए । पोखरीबाट निकाल्दा निस्सासिइसकेका तीनमध्ये एकको उपचारका लागि जनकपुरधाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भयो। दुईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
तथ्यांक डरलाग्दो, अबोध बढी
यी त प्रतिनिधि घटना मात्र भए, यस्ता अनेकौं घटना मधेसका लागि नियति बन्दै आएको छ। त्यसो त स्थानीय तह गठनसँगै हरेक पालिकामा स्थानीय विपद् व्यवस्थापन समिति छ तर त्यसले बाढी पहिरो, पानीजन्य विपद्लगायतबाट उत्पन्न हुने जोखिमबारे जनचेतनाका कार्यक्रम गरेको पाइँदैन। मधेस प्रदेश प्रहरी कार्यालयको उपलब्ध गराएको तथ्यांकअनुसार मधेसमा पछिल्ला तीन वर्षमा (आर्थिक वर्ष २०७८/७९ देखि २०८० /८१ सम्म) पानीमा डुबेर ४९६ जनाले ज्यान गुमाएका छन्।
तीमध्ये बालबालिकाको संख्या २९८ छ भने महिलाको संख्या ४४ र पुरुषको संख्या १५४ छ । तथ्यांकअनुसार आव २०८०/८१ असार मसान्तसम्म मधेसका आठै जिल्लामा १८५ जनाले पानीमा डुबेर ज्यान गुमाइसकेका छन् । जसमध्ये बालबालिकाको संख्या १२४, महिलाको संख्या १४ र पुरुषको ४७ छ।
आव २०७९/८० मा प्रदेशका आठै जिल्लामा १०५ जनाको डुबेर मृत्यु भएको थियो। जसमा ६५ जना बालबालिका, नौ जना महिला र ३१ पुरुष थिए । आव २०७८/७९ मा २०६ जनाको डुबेर मृत्यु भएको थियो। जसमध्ये बालबालिका १०९, महिला २१ र पुरुष ७६ जना थिए। पानीमा डुबेर ज्यान गुमाउनेमा सबैभन्दा बढी बालबालिका हुने गरेको तथ्यांकले देखाउँछ।
प्रहरी अधिकारीहरूका अनुसार बालबालिका साथीसँग रमाइलो गर्न जाने क्रममा खाल्डोमा जमेको पानीमा पस्ने गरेको, डुबिन्छ भनेर नजानेर वर्षाका बेला जमेको पानीमा नुहाउन जाँदा डुबेर ज्यान गुमाउन पुगेको संख्या धेरै छ। बालबालिकामा चेतनाको अभावले पनि डुबेर मृत्युवरण गरेको पाइएको प्रहरी अधिकारी बताउँछन्। पछिल्लो समय विकास निर्माणका नाममा जथाभाबी खाल्डो खन्ने, गहिरो गरी खनिएको खाल्डो नपुर्ने, बस्ती छेउछाउबाटै ग्राभेल खनेर गहिरो खाल्डो नपुरी त्यक्तिकै छाड्ने प्रवृत्ति बढेको छ।
सिरहा धनगढीमाई नगरपालिकाका बुद्धिजीवी डेनक मोक्तान भन्छन्, ‘ती खाल्डाहरूमा वर्षायाममा पानी जमेर कालरूपी धराप बन्ने गर्छ। बालबालिकाका लागि त त्यो कालै हो। न उनीहरूलाई पौडिन आउँछ न त्यो गहिरो खाल्डोबाट निस्किन सक्छन्। जथाभाबी खनिएका खाल्डाहरू पुर्न लगाउनुपर्नेमा मोक्तान जोड दिन्छन्। ‘बस्ती, गाउँछेउछाउ जथाभाबी ग्राभेल, माटो, भरोठ खन्न गहिरो खाल्डो बनाउन रोक लगाउनुपर्छ। जथाभाबी, लापरबाहीपूर्ण यस्ता खालका कार्यको निरीह दर्शक बन्नुभन्दा स्थानीय प्रशासन, प्रहरी, समन्वय समिति र पालिकाहरू रोक्न सक्नुपर्छ । डरलाग्दो मानवीय क्षती रोक्न जथाभाबी कार्यलाई रोक्नैपर्ने मोक्तान बताउँछन्।’
बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट बच्न तथा जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न नीति तथा कार्यक्रमहरू बनाएको छ। तर जथाभाबी खनिएका र पानीमा डुबेर हुने मृत्युलाई सरकारले प्राथमिकतामा राखेको छैन। विभिन्न खालका अप्राकृतिक मानवद्वारा सिर्जित क्रियाकलापका कारण पनि मानवीय क्षति हुने गरे पनि यसलाई रोक्न तीनै तहको सरकार गम्भीर हुन नसकेको मधेसका प्रकृति संरक्षकहरू बताउँछन्।
डुबेर हुने मृत्युको विषयलाई सरकारले गम्भीरताका साथ लिएको पाइँदैन। भवितव्य भन्दै शव परीक्षणपछि परिवारलाई बुझाएपछि यस घटनाको अनुसन्धान टुंगिने गरेको छ। मानवद्वारा नै गरिने केही प्रकृतिविपरीतको क्रियाकलापहरूले पनि मानवीय क्षति भएका छन्। त्यसतर्फ अनुसन्धानको सुई घुमाइएको पाइँदैन। हुन त जनचेतनाको अभावले पनि यस्ता घटना भएको पाइन्छ ।
मधेसमा पोखरीमा डुबेर ज्यान गुमाउनेमध्ये कतिपय विपन्न समुदायका छन्। कारण उनीहरू लत्ताकपडा धुने, भाँडा धुने, नुहाउनेलगायत कामका लागि पोखरीमै आश्रित छन्। त्यसैले पानीमा डुबेर मृत्यु हुनेमा अधिकांश विपन्न बालबालिका पर्ने गर्छन्। यसको कारण उनीहरूको बाध्यतासँगै जनचेतनाको कमी हो। यस्ता विपद् व्यवस्थापन र मानवीय क्षतिको जोखिम न्यूनीकरणका लागि तीनवटै तहको सरकारले पहलकदमी लिनुपर्छ। मधेसका गाउँबस्तीमा खनिएका खाल्डोजन्य धराप पुर्ने र खन्न नदिने कार्यलाई सरकारले प्राथमिकताको विषय हुनुपर्ने मधेसका आम जनताको एकस्वर छ।
प्रकाशित: १३ श्रावण २०८१ ०६:३३ आइतबार