समाज

पाथीभरा पदमार्गमा झन्डै एक किलोमिटरमा फाइवरको छाहारी पुरा

 ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी(ट्रस )लगाउने कार्य मन्दिरबाट माथिल्लो फेदीतर्फ करिब एक किलोमिटर पूरा भएको छ। पदमार्गमा फाइवरको छाहारी लगाउने कार्य मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो।

 पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिले सम्म ९ सय २० मिटर क्षेत्रमा फाइवरको छाहारी लगाई सकिएको छ। माथिल्लो फेदीबाट मन्दिर सम्मको दुरी २ हजार ४ सय मिटर रहेको छ। कार्यकारी निर्देशक काफ्लेले मन्दिरबाट सुरु भएको फाइवरको छाहारी लगाउने कार्य माथिल्लो फेदी सम्म नै पु¥याउने लक्ष्य रहेको बताए।

चालू आर्थिक वर्षमा प्रदेश सरकार र पाथीभरा क्षेत्र विकास समितिको संयुक्त आयोजनाको रुपमा फाइवरको छाहारी लगाउने कार्यलाई निरन्तरता दिइएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका अनुसार पदमार्गलाई तीन मिटर चौडाइमा बिस्तारसँगै फलामे ट्रस जडान गरी फाइवरको छाहारी लगाएको छ। 

यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दायाँ–बायाँ रेलिङ लगाएको समितिले जनाएको छ। पदमार्ग नै ढाक्ने गरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छाहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए। फाइवरको छाहारी लगाउने कार्य पूरा भएमा हिउँको र पानी परेको समयमा पनि तिर्थालुहरु मन्दिरमा आउन जान सहज हुने  समितिले बिश्वास लिएकाे छ। 

प्रकाशित: २० असार २०८० १६:१८ बुधबार

पाथीभरा पदमार्गमा झन्डै एक किलोमिटरमा फाइवरको छाहारी पुरा