समाज

सामाजिक सुरक्षा भत्ता दिन गाउँमै पुगिन् गाउँपालिका उपाध्यक्ष शान्ति

गुठिचौर गाउँपालिका- १ की ७८  वर्षीय छिटुक लामा घरमै वृद्ध भत्ता पाएकोमा हर्षित छिन्। घरदेखि ४ घण्टा लगाएर बैङ्कमा पुगेर घण्टौँ लाइनमा बसेर वृद्ध भत्ता लिने लामाले क्षणभरमै वृद्ध भत्ता पाएकी हुन्। उनी पहिले घर बाट हिडेर गाउँपालिकाको सदरमुकाम झारज्वाला पुग्थिन्।  

यो पटक गाउँपालिकाको उपाध्यक्ष सहिदको टोलीले उनलाई घरमै पुगेर भत्ता दिइएको भन्दै खुसी भइन्।गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी), निमित्त प्रमुख प्रशासकीय अधिकृत गम्मबहादुर रोकाया र सनराइज बैंकका म्यानेजर घनबहादुर ओली र रेडियो गुठिचौर एफएमका कार्यक्रम संयोजक रामप्रकाश विक लगायतको टोली गुठिचौर गाउँपालिका-१ र २ वडामा पुगेको हो। छिटुक लामाजस्तै अन्य वृद्धवृद्धाले गाउँमै भत्ता दिएकोमा जनप्रतिनिधिप्रति अभार व्यक्त गरेका थिए।

लामाजस्तै  ७२ वर्षीय कमानसिंह ऐडीले बैङ्कमा २ दिन धाएर लाइनमा बसेर भत्ता लिएको सुनाउँदै जनप्रतिनिधिले गाउँमै भत्ता ल्याइदिएर वृद्धवृद्धालाई गुन लगाएको बताए। पहिले भत्ता  बैङ्क जाँदा र आउँदा सकिएको बताउँदै ऐडीले पहिलो पटक गाउँमा सरकार आएको अनुभूति गरेको महसुस गरे। गाउँपालिकाले सनराइज बैङ्कसँग सहकार्य गर्दै पहिलो पटक गाउँमै पुगेर वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो।  

निर्वाचनको क्रममा जनतासँग गरेका वाचा पुर्‍याउने र वृद्धवृद्धाको दुःख देखेर गाउँगाउँमै भत्ता दिने व्यवस्था गरेको बताउँदै गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले पहिलो चरणमा ७० वर्षभन्दा माथिका र पुर्ण असक्तलाई टोलमा भत्ता वितरण गरेको बताइन्।

थोरै भत्ता लिनका लागि दुःख, समय र रकमको खर्च भएको बताउदै गाउँमै भत्ता वितरण गर्दा वृद्धवृद्धालाई सहज भएको उनी बताउँछिन्।  

पालिकामा पहिलो पटक सामाजिक सुरक्षा भत्ता गाउँमा पुगेर वितरण गरेको बताउँदै उनले जनताको हितमा काम गर्ने पहिलो दायित्व आफ्नो भएको उपाध्यक्ष मल्लले बताइन्। यता निमित्त प्रमुख प्रशासकीय अधिकृत गम्मबहादुर रोकायाले भने भौगोलिक बिकटता,भत्ता सहजैरुपमा बुझेर आफ्नो घरसम्म पुग्नुअगावै बिच बाटोमै लुटिने डर त्रासले छ। त्यो नहोस भनेरै घरमै पुगेर भत्ता उपलब्ध गराइएको बताए।

'हाम्रोमा ५ वडा छन्। सबैभन्दा बढी टाढा र विकट १ र २ वडा हुन्। बिचबिचमा घना जंगलको बाटो छ।वृद्धवृद्धा लड्ने लुटपाटमा हुने जस्ता समस्या धेरै छन,त्यो नहोस भनेरै उपाध्यक्ष सहित सुरक्षाकर्मी सहितको टोली पुगेको हो, ' निमित्त प्रमुख प्रशासकीय रोकायाले भने। सुरक्षा भत्ता लिन जान नसक्ने भन्दैमा गुठिचौर पालिका स्तरीय जेष्ठ नागरिक संघले निवेदन दिएको थियो। साेही निवेदन अनुसार १ वडाका १ सय ५ जना,  र २ का ७० जना जेष्ठनागरिकले भत्ता बुझेका थिए।

प्रकाशित: १५ जेष्ठ २०८० ०६:३३ सोमबार