नजिकिएको ‘नयाँ वर्ष २०८०’ को स्वागत गर्न उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकाले आकर्षक पुरस्कार राशीको खेलकुद प्रतियोगितासहित ‘बृहत हाटबजार मेला’ आयोजना गर्ने भएको छ।पर्यटनको विकाससँगै स्थानीय कृषि, पशुपालन, खेलकुद तथा व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले मेला लगाउन लागेको हो।
नयाँ वर्षलाई स्वागत गर्दै पर्यटन प्रवर्द्धन, कृषि, खेलकुद र स्थानीय व्यापार व्यवसाय वृद्धि गर्ने उद्देश्यले यस्तो बहुउद्देश्यीय कार्यक्रम आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए।उनका अनुसार जिल्लाका ८ स्थानीय तहमध्ये सबभन्दा दुर्गम र बिकट भूगोल समेटिएको लिमचुङबुङले गाउँपालिका केन्द्र वडा नं. ३ बाराहा कटुवाल भन्ज्याङस्थित राई चोकमा हाटबजार मेला आयोजना गर्न लागेको हो।स्थानीय पर्यटन प्रवर्द्धन, कृषि उपजको बिक्री वितरण, खेलकुद क्षेत्रको विकास र उद्यम तथा व्यापार व्यवसायमा वृद्धि गर्ने उद्देश्यले नयाँ वर्षलाई स्वागत गर्दै मेला लगाउन लागिएको अध्यक्ष राईले बताए।
मेलालाई व्यवस्थित र सफल रुपमा सञ्चालन गर्न स्थानीय निदेश खत्रीको अध्यक्षतामा बजार व्यबस्थापन समिति गठन गरिएको छ । मेलालाई भव्य र बहु आयामिक रुपमा सफल बनाउन खुल्ला भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ । प्रथम पुरस्कार नगद १ लाख रुपैयाँ र सिल्ड तथा मेडल र प्रमाणपत्र, दोस्रोले ६० हजार र तेस्रो विजेतालाई ४० हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने प्रतियोगितामा महिला पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष राईले बताए । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले नयाँ वर्षलाई स्वागत गर्दै बृहत हाटबजार मेला लगाउने उद्देश्यले अनुशिक्षण तालिम समेत सम्पन्न गरिसकेको बताए।उनले गाउँपालिकाको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटनलगायत विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षासहित सञ्चालन गरिने हाटबजार सफलतापूर्वक सम्पन्न गर्न सबै वडाका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा तालिम सम्पन्न गरिएको बताए। मेलामा स्थानीय कृषकले उत्पादन गरेका सागसब्जी, तरकारी, फलफूललगायत बिभिन्न कृषि उपज, बाख्रा, खसी, गोरु, राँगा, भैँसी, कुखुरा, हाँस, परेवालगायत पशुपक्षीको पनि बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।
कृषि उपज तथा पशु पक्षी बिक्री गर्नका लागि मेलामा निशूल्क स्टल उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । त्यसैगरी काठका फर्निचर तथा डोका, नाम्ला, डाला, थुम्सेजस्ता बाँसका सामग्रीहरूको पनि स्टल राखिने गुरुङले बताए । बजार व्यवस्थापन समिति अध्यक्ष खत्रीले वैशाख १ गते विहान १०ः०० बजे उद्घाटन हुने मेलामा ५० भन्दा बढी विभिन्न व्यापारिक स्टलहरू रहने बताए।उनका अनुसार सुरुमा ५ गतेसम्म लगाउने तय भएको मेला आवश्यक परे अरु समय थपिने योजना बनाइएको छ।गाउँपालिकाको संयोजनमा लगाइने भएकाले मेलाको अवधि थप्नु परे अध्यक्ष उपाध्यक्ष र वडाध्यक्षलगायत जनप्रतिनिधिसँग छलफल गरेर निर्णय गरिने खत्रीले बताए ।
खत्रीले मेलाका लागि स्टल निर्माण लगायत सबै खाले तयारी भईरहेको बताएका छन्।मेलामा स्टल निर्माण गर्दा स्थानीय उत्पादन बाँसको प्रयोग गरिने भएको छ । जस अनुसार गाउँमै उत्पादित बाँसबाट सोमबार साँझसम्म २० वटा स्टल निर्माण गरिसकिएको छ भने बुधवार र बिहीबारभित्र थप ३० वटा स्टल बनाई सक्ने गरी काम भईरहेको छ। मेलामा उपयोग गर्ने व्यापारीलाई निशूल्क स्टल उपलब्ध गराइने पनि अध्यक्ष खत्रीले बताए।
प्रकाशित: २८ चैत्र २०७९ १६:११ मंगलबार



