समाज

स्याउलाले छेकेन हिउँदे झरी

दाङ- पुराना थाङ्नाको भरमा चिसो छलिन्न। माथिबाट शीत र सिरेटो, भुइँबाट चिस्यान। शरीर निथ्रुक्कै थिए। रातभर भिजेका शरीर ओभानो खोज्दै बिहान स्याउलाको ओतबाट निस्किए। तर, सूर्यको किरण फिटिक्कै थिएन। मंगलबार बिहानैदेखि कालो बादलले ढाकेको आकाश, त्यसमाथि एकाएक बढेको चिसो। रातभर भिजेका शरीर झनझन काँप्दै गए।दिनभर सूर्य छोपेको बादलसँगै पुरन्धाराकी बाढीपीडित पूर्णकली घर्तीको मन मडारिइरहेको थियो। उनको कामना थियो, 'झरी नलागोस्।' मंगलबार बेलुका झरी पर्ने भयले दुई छोरी र एक नन्दसहित थाङ्ना काखी च्यापेर स्याउलाको ओतभित्र गुटमुटिएकी पूर्णकली मध्यरातमा एकाएक झसंग भइन्। बबईको स्याँठ र शीतले थलिएका शरीरमा हिउँदे झरी झनै चोट थप्न आइपुग्यो। 'भर्खर निदाएका थियौँ,' उनले भनिन्, 'एकाएक पानीका धारा लागेपछि ब्युझिएँ।' ओतभित्र भुइँमा भलसरी पानी बग्न थाल्यो। स्याउलाको सानो भित्र केही ओभानो बचेन। चिसोले केही समययता थलिएका दुई छोरी सुनिता र तुलसीको झनै बिजोग, लुगलुग काँप्दै रुन थाले। 'पानीले सबै भिजायो, दौडँदै छिमेकीको घरमा गयौँ,' उनले भनिन्, 'हाम्रो त बिजोगै हुने भयो, कसरी बाँच्ने हो।'

स्याउलाको ओतभित्र चुहिने शीत र झरीसँगै पूर्णकलीका आँखाबाट आँसु उर्लिन थाल्छ। उनी भन्छिन्, 'भगवान् भरोसामा बाँचेका छौँ, छोरी र नन्द दुखाइले रुन्छन् म भगवान् पुकार्दै रुन्छु।' डेढ वर्षअघि कहर बनेर उर्लिएको बबईले जायजेथा लगेर गयो। जोतभोग गर्दै आएको झन्डै एक बिघा ऐलानी जमिन मध्य आधा बारी बगर बनेको छ। 'गाउँमा मागेर गुजारा चलारहेका छौं,' पूर्णकलीले दुखेसो पोखिन्, 'के गर्नु हजुर उब्जनी हुने बारी सबै बबई बनिसक्यो।'

घरबासै खोसिएपछि पूर्णकली दुई छोरी उठाएर बबई ढिकमा उक्लिइन्। स्याउलाले बारबेर गरेर सानो टहरो हालिन्। त्यही टहरोमा पनि प्रकृतिले दुःख दिइरह्यो। हावाहुरीले स्याउलाको बार भताभुंग पारिदियो। 'हावाहुरी आएर कतिपटक छाप्रो उडाइदिएको छ,' उनले भनिन्, 'ज्यान बचाउन दौडेर छिमेकीको घरमा पुग्नुपर्छ।'

मंगलबार झरीले लखेटिएपछि पूर्णकुमारीको परिवार ओतमा फर्कन सकेको छैन। 'बादल अझै उस्तै छ, टहरोभित्र पनि पानीले के बस्न देला र!' उनले भनिन्, 'गाउँलेको घरमा बसिरहेका छौँ।'

स्थानीय उदी खत्री बाढीले विस्थापित जीवन बाँच्नु न मर्नु बनिसकेको बताउँछिन्। उदीका दुवै आँखामा ज्योति छैनन्। श्रीमान्ले छोडेको वर्षौं अघि हो। चार छोराछोरी सानै छन्। घर बबईले लगिदियो। न मानो उब्जनी हुँदै आएको बारी नै बच्यो। धन्न गाउँलेले माना अन्न उठाएर दिन्छन्। मंगलबारको झरीले स्याउलाको ओतबाट उठिबासै लगायो। 'सुत्नै पाएनौं, पानीका धाराले पूरै भिजाएपछि भाग्यौँ,' उनले भनिन्, 'कहाँ गएर ज्यान बचाउने होला?'

जिल्लाको पश्चिमी क्षेत्र हापुरे बजारदेखि दिनभरको पैदल यात्रा गरेर पुगिने गंगटे गाउँ। जहाँ ब्याप्त गरिबी र असुविधाले गाँजेको छ। यो ठाउँमा २०७१ साउन २९ मा प्रकृति पनि कहर बनेर खनियो। दुई जनाले ज्यानै गुमाए। ७३ परिवार विस्थापित बने। बाढीले समथर पारेको गाउँमा सग्ला घर छैनन्। बस्ती बसेको स्थान पूरै बबईले निलिसकेको छ। स्थानीय बबईको ढिकमा उक्लिएका छन्। स्याउला बेरेर बनाइएका हरेक छाप्राभित्र कहालीलाग्दो अवस्था छ। 'हामीलाई अहिले पनि बाढी आएकै बराबर भयो,' पुरन्धारा–९ कै कर्ण घर्तीले भने, 'त्यो बेला बाढीले लैजाला भन्ने डर भयो, अब चिसोले लैजाने त होला।'

अत्यधिक चिसोले दाङका सबै स्थानका बाढी पीडितलाई सास्ती थपेको छ। तुलसीपुर–२० मोतीपुरका बाढी पीडित जिउधन चौधरीले भने, 'एक त चिसो सहन धौ हुन्छ, त्यसमाथि पानी परेपछि रातभर सुत्नै पाइएन।' परिवारका सदस्यसहित फाटेका टिनको ओतभित्र रातभर अनिदै बसेको उनले बताए।

प्रकाशित: ६ माघ २०७२ २३:४१ बुधबार