प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने भ्रमण सकेर सोमबार स्वदेश फर्किए।
प्रधामन्त्रीको भारत भ्रमण ऐतिहासिक भएको परराष्ट्रमन्त्री शिशिर खनालले विमानस्थलमै प्रतिक्रिया दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबाट संयुक्त रूपमा जारी ‘भिजन डकुमेन्ट’ले नेपाल-भारतबिचको पुराना सन्धिसम्झौता र सहमतिहरूलाई पनि परिमार्जन गर्ने बाटो खुलेको परराष्ट्रमन्त्री खनालले बताए। यता भिजन डकुमेन्टले नै सबै पुराना सन्धि र सहमति परिमार्जन गर्ने बाटो खुलेको भनिरहिएकै बेला उता भारतीय विदेश सचिव विक्रम मिश्रीले दिएको प्रतिक्रियाले भने नेपाललाई झस्काएको छ।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले जारी गरेको भिजन डकुमेन्ट अगाडि बढ्ने अवस्थामा आठ वर्षअघि दुवै देशको सहमतिमा तयार भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन आवश्यक नरहेको मिश्रीले बताएका छन्। भारतीय विदेश सचिव मिश्रीको भनाइ र परराष्ट्रमन्त्री खनालले भिजन डकुमेन्टले धेरै कुरा समेटेको दाबीसँगै इपिजी प्रतिवेदन नेपाल सरकारले पनि थन्क्याएको हो कि भन्ने प्रश्न जन्मिएको छ। इपिजीका सदस्य सूर्यनाथ उपाध्याय प्रधानमन्त्री शाहको भ्रमणमा ठुलो गल्ती भएको बताउँछन्। दुवै देशको सरकारले गठन गरेको विज्ञ समूहले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदन हेर्दै नहेरी भिजन डकुमेन्टले पुराना सन्धि र सम्झौताहरू परिमार्जन गर्ने बाटो खुलेको भन्नु झुक्याउने काम भएको उनले बताए।
‘त्यो प्रतिवेदन दुवै देशका सरकारद्वारा छनोट गरिएका विज्ञहरूको सहमतिमा तयार पारिएको हो,’ उनले भने, ‘त्यसमा परिमार्जनको कुरा मात्र गरिएको छैन, सन् १९५० को सन्धिको विकल्पसहित त्यसलाई कस्तो बनाउने भन्नेसम्मको मस्यौदासमेत दिइएको छ। त्यो एक पटक पनि नहेर्ने अनि भिजन डकुमेन्टले सबै समस्या समाधान गर्छ भनेर कसैले पत्याउँछ?’ दुई देशको सहमतिमा गठन भएको समूहले तयार पारेको आधिकारिक दस्ताबेज छाडेर कुनै सम्झौता पनि नभएको डकुमेन्टले समस्या समाधान गर्छ भन्नु गलत भएको उपाध्यायको तर्क छ।
गत जेठ २१ गते इपिजी नेपाल समूहका संयोजक पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री खनाललाई बुझाइसकेका छन्।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकै क्रममा दुई देशको सीमा समस्यादेखि डुबान र बाँध तथा व्यापारसम्बन्धी सबै समस्या समाधान गर्न सक्ने गरी अध्ययन प्रतिवेदन तयार पार्न प्रबुद्ध व्यक्ति समूह गठन गर्ने सहमति भएको थियो। सन् २०१६ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा इपिजी गठन भयो। नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापालाई संयोजक बनाइयो भने नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र राजन भट्टराई सदस्य थिए। भारतका तर्फबाट भारतीय जनता पार्टी (भाजपा) का नेता भगतसिंह कोसियारीलाई संयोजक बनाएर पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापक महेन्द्र पी लामा र बिसी उप्रेती सदस्य थिए।
उपाध्यायले खुला सीमा समस्या, सीमापार व्यापार, पारवहन, जलस्रोत, नागरिकबिचको सम्बन्धलगायत विषयमा छलफल भएर प्रतिवेदन तयार पारिएको बताए। भारतीय पक्षको कतिपय विषयमा विमति राखे पनि दुवै पक्षको साझा प्रतिवेदन सन् २०१८ जुन ३० मा तयार भएको हो। अहिले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उक्त प्रतिवेदनबारे कुरै नउठ्नु र भिजन डकुमेन्ट भनेर अर्को प्रसंग ल्याउनु अनौठो भएको उपाध्याय बताउँछन्। ‘उहाँले राम्रो तयारी गर्न चाहनुभएको भए इपिजीकै सदस्यलाई बोलाएर त्यहाँ भएका कुराहरूबारे सोध्न सक्नुहुन्थ्यो र आफुले अघि सार्नुपर्ने अजेन्डाबारे पनि कुरा हुन सक्थ्यो,’ उपाध्याले भने, ‘इपिजीमै समेटिएका कुनै विषयमा भारतले नयाँ प्रस्ताव गरे त्यसमा छलफल गरौं भन्न सक्थे तर कुरै नउठाउनु र भारतले त्यो विगत भएको बताउनु ठिक भएन।’
इपिजीकै अर्का सदस्य नीलाम्बर आचार्यले नेपाल र भारतका सचिवस्तरीय बैठकमा सीमा र सन्धिबारे कुरा गर्न दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिनु पुरानै कुरा भएको बताउँछन्। दुई देशको सरकारको सहमतिमा बनेको संयन्त्रले तयार पारेको प्रतिवेदनलाई भारतले एकतर्फी रूपमा विगत भएको भनेर भन्नै नमिल्ने आचार्यको भनाइ छ। ‘सचिवलाई निर्देशन दिनु नेपाललाई अलमल्याउने कुरा हो। यो नयाँ निर्देशन होइन, सन् २०१४ मै पनि यस्तो निर्देशन दिइसकिएको छ। नयाँ कुरा भनेर भिजन डकुमेन्ट निकाल्नु ठिक छ तर इपिजीको प्रतिवेदनको विकल्प यो हुँदैन,’ आचार्यले भने, ‘भारतीय विदेश सचिवको भनाइ आपत्तिजनक छ। संयुक्त प्रतिवेदन एकतर्फी रूपमा थन्क्याउन पाइँदैन।’ भोटेकोसी बाढीले पुर्याएको क्षतिमा पुनर्निर्माणका लागि आर्थिक सहायता, दुई देशको सांस्कृतिक पक्षलाई बलियो बनाउने र विकास निर्माणमा सहयोग गर्ने कुरा ठिक भए पनि खास समस्या समाधानमा भने डकुमेन्ट प्रवेश नगरेको आचार्यको निष्कर्ष छ।
इपिजीकै नेपालका अर्का सदस्य राजन भट्टराईले पनि इपिजी नेपाल-भारतबिचको समग्र सम्बन्धबारे तयार पारिएको प्रतिवेदन भएकाले त्यसको अर्को विकल्प नहुने बताउँछन्। सन् १९५० को सन्धि सम्बन्धमा सचिवस्तरीय छलफल गरेको भन्नु भारतको पुरानै कुरा भएको भट्टराईले बताए। ‘जुन सरकार आए पनि भारतले भन्ने त्यही नै हो। सचिवस्तरमा छलफल त गर्ने हो तर त्यो कहिल्यै टुंगोमा पुगेको छैन। अहिले इपिजीको प्रतिवेदन पुरानो भइसक्यो भन्नु र प्रधानमन्त्रीको भ्रमणमा त्यो कुरै नउठ्नुले शंका पैदा भएको छ,’ भट्टराईले भने।
इपिजीको प्रतिवेदनबारे छलफलसमेत नहुनुले नेपाल सरकार पनि त्यसलाई पन्छाउन तयार भएको हो कि भन्ने शंका गर्ने ठाउँ रहेको भट्टराईको भनाइ छ। इपिजीमा नेपाल-भारत सम्बन्ध र समस्या समाधान मात्रै होइन, भारत ब्रिटिसबाट स्वतन्त्र भएपछिका सबै कुरा समेटिएका छन्। त्यस्तो प्रतिवेदन छाडेर भिजन डकुमेन्टतिर लाग्नु गलत भएको उनको तर्क छ। यसअघि सचिवस्तरमा टुंगो नलागेरै इपिजी बनेको हो। अहिले फेरि त्यही कुरा गरेपछि भारत इपिजीको कामै छैन भन्ने अवस्थामा पुगेको भट्टराई बताउँछन्। भारतीय विदेश सचिवले इपिजी प्रतिवेदनलाई दिएको जवाफमा नेपालले कुनै प्रतिक्रिया जनाएको छैन।
प्रकाशित: ९ मंसिर २०८३ ०६:५६ बुधबार



