राजनीति

एमाले कास्कीले भन्यो: ‘घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीलाई पनि बर्खास्त गरियोस्’

नेकपा एमाले कास्कीले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ।

एमाले कास्कीको शनिबार बसेको पूर्ण बैठकले पोखराको १३५ रोपनी लिची बगैँचा हडप्ने योजनाको घुस डिल भएको अडियोमा मुछिएका मन्त्री अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष माग गरेको हो।

बर्खास्त गर्न माग गरिएका मन्त्री अधिकारी नेकपा एमालेकै केन्द्रीय सदस्य हुन्।

घुस डिल भएको अडियोमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेको तर सोही काण्डमा मुछिएका अधिकारी पदमा कायम रहनु गलत हुने भन्दै अधिकारीलाई पनि बर्खास्त गर्न माग गरिएको छ।

बैठकपछि एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले भने, ‘घुस प्रकरणमा जोडिएका दुवै जनालाई समान तरिकाले अनुसन्धान होस्, दोषी पाइए कारबाहीको माग गर्दै निर्णय गरिएको छ।’

बैठकमा जिल्ला पदाधिकारी तथा सदस्यहरूले मन्त्री अधिकारीलाई बर्खास्त गर्न माग गर्नुपर्ने आवाज उठाएका थिए। बैठकको एजेण्डा नभए पनि अधिकांश पदाधिकारी तथा सदस्यहरूले माग गरेपछि त्यसलाई निर्णय नै गरिएको उनको भनाई छ।

अध्यक्ष अधिकारीले भने, ‘एउटै प्रकरणमा जोडिएका एउटा मन्त्रीले राजीनामा दिनुपर्ने, अर्को मन्त्रीचाहिँ पदमा रहिरहनु उचित होईन भन्ने आवाज उठ्यो। हामीले दुबैलाई समान व्यवहार गर्न र छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गर्ने निर्णय गर्‍यौँ।’

उनका अनुसार घुस प्रकरणका कारण पार्टीमा ठूलो क्षती पुग्ने देखिएकाले यसको निरूपण छानबिनबाटै होस् भन्ने अधिकांश सहभागीको माग भए बमोजिम बैठकले निर्णय लिइएको हो।

‘सबैको निष्पक्ष छानबिन होस् भन्ने छ, उनले भने, ‘अहिले अडियो सुनेकै भरमा हामीले दोषी भन्ने कुरा पनि भएन। त्यो अडियो असली हो कि होईन हामीले छुटाउने कुरा पनि भएन। त्यसैले त्यो प्रयोगशालामा लगेर निक्र्यौल नभएसम्म छानबिनमा सहयोग पुर्‍याउनु मन्त्रीको जिम्मेवारी भएकाले त्यसमा सहजीकरण गरियोस् भन्ने हाम्रो चाहना हो।’

मन्त्रीसँग घुस डिलमा सहभागी बिचौलिया भनिएका सुजन लामाको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय यसअघि नै पार्टीले गरिसकेको अध्यक्ष अधिकारीले जानकारी दिए।

लामाले पोखरा–२५ बाट एमालेको पार्टी सदस्यता लिए पनि विवादमा आएकाले यसको निरूपण नभएसम्म नवीकरण नगर्ने निर्णय भएको उनको भनाई छ।

यसअघि पोखराको लामौचौरमा रहेको १३५ रोपनी जग्गा हडप्न मन्त्रीसँग घुस डिल भएको अडियो सार्वजनिक भएको थियो।

करिब ४० वर्षअघि कास्की जिल्ला र पश्चिमाञ्चल अदालतले दुर्गादेवी शाह र लोकदिव्येश्वरी शाहको नाममा कायम गर्ने फैसला गरेको सो जग्गा बिचौलिया लामाले हकवाला फेर्न घुस डिल भएको हो।

प्रकाशित: ३ श्रावण २०८२ २१:१७ शनिबार