राजनीति

‘कांग्रेस-एमालेले देश सङ्कटमा फसाए, उन्मुक्ति पाउन हामीलाई जिताउनुस्’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहन जरुरी नभएको बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहन नपर्ने बताए।

उनले भने, ‘धेरै साथीहरू अहिले पनि चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहनु भएको छ, तर यसरी चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहनु पर्दैन, चुनाव हुन्छ र हुनै पर्छ।’

सरकार पनि चुनाव गराउने तयारीमै रहेको र छिमेकी देशहरू प्नि चुनाव होस् भन्ने पक्षमा रहेकाले चुनाव हुने उनको भनाई थियो। तर शीर्ष नेताहरुसँग छलफल नगर्ने प्रधानमन्त्री सुशीला कार्कीको भनाई प्रति भने उनले आपत्ति जनाए।

चुनाव गर्ने सरकारले फलानो नेता भेट्छु, फलानो नेता भेट्दिन भन्ने होइन,’ उनले भने, ‘जसको सबभन्दा धेरै जनाधार छ ऊनीहरुसँग भेट्दिनँ, अनि जसको केही पनि छैन तिनीसँग मात्र भेट्छु भन्यो भने सरकार चुनावप्रति गम्भीर भएको देखिने छैन।’

आफू र माधवकुमार नेपालकै सिफारिसमा सुशीला प्रधानमन्त्री भएको हेक्का राख्न उनले चेतावनी दिए।

संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको मिसन सम्पूर्ण कम्युनिष्टहरुलाई एकतामा ल्याउने रहेको बताए। ‘यति भयो, पुग्यो भन्ने होइन,’ उनले भने, ‘हामी सबै कम्युनिष्टहरुलाई एकताबद्ध बनाउने मिसनमा छौं। ढिलोचाँडो उहाँहरु आउनुहुन्छ भन्ने मलाई लागेको छ।’

उनले आफूहरुको आँखा एमालेभित्र पनि रहेको बताए। ओलीको दम्भले देश बर्बाद हुँदै गएको आरोप लगाउँदै उनले भने, ‘एमाले भित्रकाहरुसँग पनि छलफल भइरहेको छ। देशभक्त एमालेका नेता, कार्यकर्ताहरूले केपी ओलीको नक्कली, अहङ्कारी, दम्भी चेहरा चिन्नेछन् र ढिलोचाँडो उनीहरु हामीसँग आउँछन्।’

ओलीको बोली पत्याएर केही समय झुक्किन सक्ने भएकाले एमालेसँगको एकता तत्काल हुने स्थिति नरहेको उनले बताए। ‘सरी भन्दै यहीँ आउने वाला छन्। अन्त जाने ठाउँ छैन,’ उनले भने, ‘किनकि हामीले समाजवादको पक्षमा, देशको पक्षमा, समृद्धिको पक्षमा अगाडि बढ्ने निर्णय गरिसकेका छौं।’

संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको मिसन कम्युनिष्टहरुसँग मात्रै एकता गर्ने नरहेको बताए। हिजो माओवादीसहितका दलहरुका कारण देशमा गणतन्त्र, संविधान, संघीयता र धर्मनिरपेक्षतालगायतका उपलब्धि हाँसिल भएको बताउँदै उनले भने, ‘ती सबै रक्षाका लागि कांग्रेससँग पनि गम्भीर संवादमा छौं हामी। मधेश केन्द्रित दलहरूसँग पनि छलफल भइरहेको छ।

उनले नेपाली कम्युनिष्ट पार्टीले चलाइरहेको प्रदेश एकता सन्देश सभा आत्मआलोचना र सङ्कल्प सभा पनि भएको प्रष्ट्याए।

‘हिजो हामीबाट पनि गल्ती भए होलान्,’ उनले भने, ‘त्यसैले हामी तपाईंहरुसामु गल्तीप्रति आत्मआलोचना गर्न आएका हौं, माफी माग्न आएको आत्मआलोचना सभा पनि हो यो। त्यस्तै, विगतका गल्ती सच्याउँछौं भनेर सङ्कल्प गर्न गरिएको सङ्कल्प सभा पनि हो यो।’

संयोजक प्रचण्डले दुईतिहाईको दम्भले देश बर्बाद भएको टिप्पणी गरे। के लछार्‍यो दुई तिहाईले ? उनले प्रश्नोत्तर शैलीमा भने, ‘बङ्गलादेशमा पनि शेख हसिनाको दुई तिहाई थियो तर देश छाडेर भाग्नु पर्‍यो, नेपालमा पनि कांग्रेस एमालेको दुई तिहाई थियो तर हेलिकोप्टर चढेर भाग्नु पर्‍यो। त्यसैले दुई तिहाई भएर मात्रै हुँदैन रहेछ त्यो चेत खुल्नु पर्‍यो नेताहरुको।’

कांग्रेस एमालेका कारण देश सङ्कटमा फसेको भन्दै त्यो संकटबाट उन्मुक्ति पाउनका लागि नेपाली कम्युनिष्ट पार्टीलाई जिताउनुपर्ने उनले बताए।

‘जनताले जति चाँडो बुझे त्यति छिटो देश संकटबाट निस्किन्छ’, उनले भने, ‘नत्र फेरी पनि चेत नखुले फेरी अर्को दुर्घटना निम्तिन्छ।’

संयोजक प्रचण्डले पपुलिजमहरुको भ्रममा नपर्न पनि आग्रह गरे। पुलिजमबाट आउनेहरुले गन्तव्यमा पुर्‍याउन नसक्ने उनको भनाई थियो।

पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जेनजीहरुको आकर्षणको केन्द्र बनेको बताए।

‘एसिड पीडित मुस्कान खातुनलगायतका जेनजीहरु एकपछि अर्को गर्दै नेकपामा प्रवेश गरिरहेको छन्,’ उनले भने, ‘हामीले जेनजीको भावनाको सम्मान गर्नै पर्छ। तर जेनजीको नाममा भएको कुकर्मको दोषीलाई त्यसै छाडिनु भने हुन्न, कारबाही गरिनैपर्छ।’

नेता नेपालले पुरानो पार्टीमा रहेकाहरुले आफूहरुलाई काम गर्न नदिएको समेत बताए। हिजो एकीकृत समाजवादी हुँदा मेरा खुट्टा भाँच्ने र तान्नेहरु थिए, अनि माओवादी हुँदा प्रचण्डको पार्टीमा बसेर खुट्टा तान्नेहरु पनि थिए, आज तिनीहरु भागेर गएका छन्। भाग्नेहरु, छाड्नेहरु जाउन् हामी प्रचण्ड, मलगायत एकताबद्ध भएर अगाडि बढिरहन्छौं।’

पार्टी ठूलो भए पनि पार्टीमा विधि बसाल्न भने नसकिएको उनले स्वीकारे। तर नचाहेर नभई दिनदिनै पार्टी एकीकरण भइरहेकाले पार्टीमा विधि बसाल्न नसकिएको उनको प्रष्टोक्ती थियो।

‘एकता सकेर जिम्मेवारी बाँडफाँट र विधि टुंग्याउने प्रयास भइरहेको छ’, उनले भने, ‘तर आज टुंग्याऔं एउटा पार्टीसँग एकता हुन्छ, फेरी अर्को दिन टुंग्याऔं भन्यो फेरी अर्को पार्टी एकतामा आउँछ, त्यसैले पार्टीमा अहिलेसम्म को को बोल्ने, मर्यादा कस्तो बनाउने बारेमा विधि बसाल्न सकिएको छैन।’

पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध नभए देश समाप्त हुने खतरा रहेको औंल्याए। उनले भने, ‘कम्युनिष्ट क्रान्तिकारीहरु एकता हुनुको विकल्प छैन। नभए देश समाप्त हुनसक्ने खतरा छ।’

पूर्व प्रधानमन्त्री खनालले लामो समयसम्म शासन गर्दा पनि विगतका सरकारहरुले जनआकांक्षा पूरा नगरेकाले जेनजी आन्दोलन भएको बताए।

‘भ्रष्टाचार व्याप्तहुँदा जनता आजित भए, उनले भने, ‘यसअघिका सरकारले कृषि क्रान्ति गर्न सकेन, भूमि सुधार गर्न चासो नै दिएन। उद्योग धन्दा सञ्चालन नगर्दा जनता बेरोजगार भए अर्थात काम पाएनन् र विदेशीन बाध्य भए। त्यसैले जेनजी आन्दोलन भयो।’

नेता भीम रावलले देश जलेपछि केपी ओलीले माफी माग्लान् भनेको त अझै दम्भ देखाइरहेको बताए। ‘जेनजीले लखेटे, देश सङ्कटमा फस्यो, देशका धरोहरहरु सिंहदरबार, सर्वोच्च अदालतलगायत जलाइए,’ उनले भने, ‘त्यसपछि आफै उपस्थित भएर, नभए पनि वक्तव्यमार्फत केपी ओलीले माफी माग्लान् भन्ने सोंचेको थिएँ तर फेरी पनि मैले केही गल्ती गरेको छैन भन्दै दम्भ देखाइरहेका छन्।’

नेता नारायणकाजी श्रेष्ठले जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्न जरुरी रहेको बताए। जेनजी विद्रोहका मागहरु जायज भएकाले आत्मसाथ गर्न जरुरी रहेको उनको भनाई थियो।

‘जेनजीले पार्टीको शुद्दिकरण तथा रुपान्तरण, राजनीतिक अस्थिरताको अन्त्य र भ्रष्टाचार अन्त्यको लागि विद्रोह गरेका हुन्,’ उनले भने,‘जेनजी आन्दोलन जेनजी पुस्ताको लागि मात्र होइन, सबै पुस्ताको लागि हो, त्यसैले जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्नु पर्छ।’

नेता श्रेष्ठले निर्वाचन सम्पन्न हरहालतमा गर्नु अहिलेको आवश्यक्ता रहेको बताए। समाजवादी क्रान्तिका लागि नेपाली कम्युनिष्ट पार्टीको आवश्यक्ता रहेको बताउँदै उनले भने, ‘त्यसैले आफूलाई बदलौं, नेताहरु बदलौं र पार्टीलाई बदलौं।’

कार्यक्रममा नेकपा नेता तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली कम्युनिष्ट पार्टीले विगतमा भएका कमजोरीहरु सच्याएर अघि बढ्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘कम्युनिष्टहरुको झण्डै दुई तिहाई जनमत आउँदा पनि खास खास बेलामा संरक्षण गर्न नसकेको ईतिहास छ। आज फेरी सम्पूर्ण कम्युनिष्टहरु एकत्रित भएका छन्। यस पार्टीले विगतमा काम गर्दा भएका कमजोरी सच्याएर/सच्चिएर अगाडि बढ्नेछ भन्ने विश्वास लिएको छु।’

उनले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा पार्टीको कार्यक्रम गर्दा व्यवसायीलाई असर परेको गुनासो गरेको भन्दै अब आईन्दा यसलाई ख्याल गर्न पनि आग्रह गरे।

उनले भने, ‘व्यवसायीले गरिखान देउ भन्दै मानव अधिकार चोकमा कार्यक्रम नगर्न आग्रह गरेका छन्। यसलाई बुझेर आगामी दिनमा नदोहोर्‍याउन म सम्बन्धि सबै पक्षलाई आग्रह गर्दछु।’

पार्टीका नेता सोमबहादुर नेपालीले भ्रष्टाचारबिरुद्द र सुशासनको पक्षमा आफूहरुले आवाज उठाए पनि पूरा गर्न नसकेको अवस्थामा जेनजीहरुले दुई दिने आन्दोलनबाट सफलता प्राप्त गरेको भन्दै धन्यवाद दिए।

नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एउटै बिचार भएका विविध पार्टीमा रहँदा जनआकांक्षा पूरा गर्न नसकिएको बताए।

उनले भने, ‘दुई तिहाई ल्याएर संविधान संसोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउँछौं। देशको पुर्नसंरचना गर्छौं र देशलाई जनताको चाहना अनुसार समुन्नत बनाउँछौं।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा नेकपा माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले स्वागत तथा नेकपा नेता तथा तत्कालीन नेकपा एकीकृत समाजवादीका सचिव एवम् गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले सञ्चालन गरेका थिए।

प्रकाशित: १४ मंसिर २०८२ १८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App