गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार निरंकुश हुने खतरा रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाको पत्रकारिता सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा बोल्दै उनले बलियो सरकार निरंकुश बन्ने खतरा हुने औंल्याए । गत फागुन २१ गतेको निर्वाचनपछि देशमा सत्तापक्ष बलियो र प्रतिपक्ष कमजोर बनेकाले सरकार निरंकुश हुने खतरा रहेको उनको आशंका छ ।
“राज्य भनेको जब बलियो हुन्छ, त्यस बेला निरंकुशता बन्ने खतरा उत्पन्न हुन्छ,” उनले भने, “पार्लियामेन्ट जहाँ गणितको हिसाब हुन्छ सरकार बनाउनलाई, त्यही हिसाबले सत्तापक्ष निकै बलियो बनेको छ । र यस्तो बेला सरकार निरंकुश बन्ने खतरा हुन्छ ।”
मुख्यमन्त्री पाण्डेले सरकार गलत बाटो र अधिनायकवादी सोच राखेर अघि बढ्न खोजेमा त्यसलाई पत्रकारिता जगतले चिनाउनुपर्ने बताए । किनकि पत्रकारिता जगत स्थायी प्रतिपक्ष भएको र यो आवाजविहीनहरूको आवाज, नसुनिने आवाज भएको पेशा र संस्था भएकाले पनि यसले खेल्ने भूमिका र जिम्मेवारी महत्वपूर्ण हुने उनको भनाइ छ ।
“सत्तापक्ष असाध्यै बलियो भएको छ र प्रतिपक्ष कमजोर छ,” उनले भने, “यो बेलामा पत्रकारिता जगत पनि कमजोर भयो वा डगमगायो भने सत्ता निरंकुश हुन सक्छ ।”
मुख्यमन्त्री पाण्डेले सरकार बदलाभाव राख्न नहुने बताए । साथै न्यायपालिकाले पनि आफ्नो संयमता गुमाउन थालेमा न्याय मर्ने टिप्पणी गरे । सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गरेको धरपकडप्रति संकेत गर्दै उनले भने, “सरकारले संयमता गुमाउन मिल्दैन । सरकार बदलाको भावनाले चल्न मिल्दैन । यस्तो भयो भने स्वतन्त्रता र न्याय मर्छ ।”
सरकारलाई निरंकुश बन्नबाट पत्रकारिता जगत र न्यायपालिकाले रोक्नुपर्ने उनको भनाइको आशय थियो । “पत्रकारिता जगत र न्यायपालिकाको आगामी दिनको भूमिका नेपालको इतिहासमा सबैभन्दा कठिन र सबैभन्दा चुनौतीपूर्ण हुने देखिन्छ,” उनले भने ।
मुख्यमन्त्री पाण्डेले देशमा निर्वाचनपछि राजनीतिक परिवर्तन भए पनि संविधान र कानुन परिवर्तन नभएकाले जथाभावी गर्न नमिल्ने बताए । “निर्वाचनपछि नेपालको राजनीतिक परिस्थिति अलिकति परिवर्तन भएको छ,” उनले थपे, “तर कानुन परिवर्तन भएको होइन, संविधान परिवर्तन भएको छैन । केवल परिस्थिति मात्र परिवर्तन भएको हो । यो भनेको सरकारले संयमता गुमाउने र बदलाभावमा चल्न पाउँदैन ।”
मुख्यमन्त्री पाण्डेले आफू प्रेस स्वतन्त्रताको पक्षपाती भएको र आफ्नो कार्यकालमा कसैको पनि कलम भाँचिने र कापी च्यातिने काम नहुने बताए । “स्वतन्त्रता कति प्यारो हुन्छ भन्ने मैले आफैंले पटक–पटक जेल बसेर अनुभव गरेको छु,” उनले भने, “त्यसैले मेरो कार्यकालभरि कसैको पनि कलम भाँचिने, कापी च्यातिने काम हुँदैन ।”
कार्यक्रममा पोखरा पत्रकारिता सम्मानबाट संघ–संस्थातर्फ सहारा क्लब पोखरा र व्यक्तिगततर्फ राजबहादुर गुरुङलाई सम्मान गरिएको थियो । सहाराले आहा ! रारा पोखरा गोल्डकपको माध्यमबाट खेलकुद र खेल पर्यटनमा तथा सहारा एकेडेमीमार्फत समाजसेवामा महत्वपूर्ण योगदान दिएको र पत्रकारितामार्फत गुरुङले समाज रूपान्तरणमा भूमिका खेलेको भन्दै सम्मान गरिएको महासंघ कास्की अध्यक्ष माधव बरालले जानकारी दिए । दुवैलाई नगद ५०/५० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारबाट फडिन्द्र अधिकारी र एकराज गिरीलाई पुरस्कृत गरिएको थियो । दुवैले पत्रकारितामार्फत समाज रूपान्तरणमा भूमिका खेलेकाले जनही २५ हजारसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको बरालले बताए ।
सम्मानित सबैलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पत्रकार महासंघ कास्कीका अध्यक्ष बराल, पूर्व अध्यक्षहरू, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी, पुरस्कार छनोट समितिका संयोजक कुशुमकेशव पराजुली, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारीलगायतले सम्मान गरेका थिए ।
प्रकाशित: १६ चैत्र २०८२ १९:२० सोमबार