राजनीति

'अबको संघर्ष डिजिटल’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाले संगठनात्मक एकतालाई जिल्लास्तरमा पूर्णता दिँदै प्रतिनिधिसभा निर्वाचनको समीक्षा, पार्टीभित्रको आन्तरिक एकता सुदृढीकरण र डिजिटल युग अनुकूल राजनीतिक अभियान सञ्चालनलाई आगामी कार्यदिशाका रूपमा अघि सारेको छ।

साविकको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकतालाई जिल्लास्तरमा संस्थागत गर्न आयोजित जिल्ला एकता बैठकले संगठन पुनर्गठनसँगै आगामी निर्वाचनलाई केन्द्रमा राखेर पार्टी परिचालन गर्ने निर्णय गरेको हो। केही समयअघि जिल्ला इन्चार्ज र संयोजकको नेतृत्व फेरबदल भएपछि पहिलो पटक आयोजित बैठकमा कर्णाली प्रदेशका सहइन्चार्ज नरेश भण्डारी, सहइन्चार्ज तिर्थबहादुर बुढा, प्रदेश संयोजक विमला केसी तथा केन्द्रीय सदस्य पदमबहादुर रोकायालगायत नेताहरूले संगठन, राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे प्रशिक्षण दिएका थिए।

बैठकमा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको हारका कारणहरूको विस्तृत समीक्षा गरिएको थियो। छलफलका क्रममा संगठनभित्रको एकता, कार्यकर्ताको परिचालन, जनतासँगको सम्बन्ध तथा आगामी निर्वाचनमा प्रभावकारी उपस्थितिका विषयमा विशेष जोड दिइएको थियो।

कर्णाली प्रदेशका सह-इन्चार्ज तथा संविधानसभा सदस्य नरेश भण्डारीले चौतर्फी घेराबन्दीका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नुपरे पनि समानुपातिकतर्फ जुम्लाबाट सबैभन्दा बढी मत प्राप्त गरेको तथ्यलाई सम्मान गर्नुपर्ने बताए। उनले निर्वाचनका बेला पार्टीभित्रबाटै बदनाम गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने स्पष्ट पार्दै फराकिलो दृष्टिकोणका साथ संगठनलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

उनले अबको राजनीतिक आन्दोलन डिजिटल युग अनुकूल हुनुपर्ने उल्लेख गर्दै भने, 'अब भौतिक आन्दोलनको युग बदलिँदैछ, डिजिटल क्रान्तिको समय आएको छ। नेपाली कम्युनिष्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र हो। अबको संघर्ष डिजिटल माध्यमबाट पनि सशक्त रूपमा अघि बढाउनुपर्छ।'

उनले व्यवहार शैली परिवर्तन, जनविश्वासको संरक्षण र संगठनात्मक अनुशासनलाई आगामी राजनीतिक सफलताको आधारका रूपमा व्याख्या गरे। केही समयका लागि अवसरवादी पात्रहरू देखिए पनि उनीहरूको राजनीतिक भविष्य दीर्घकालीन नहुने उनको भनाइ थियो।

प्रदेश संयोजक विमला केसीले जुम्लामा पर्याप्त जनाधार हुँदाहुँदै लगातार दुई निर्वाचनमा हार व्यहोर्नुपरेको अवस्थाबाट पार्टीले गम्भीर पाठ सिक्नुपर्ने बताइन्। उनले हारलाई कमजोरी सुधार्ने अवसरका रूपमा लिएर संगठनलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिँदै पार्टी र उम्मेदवारको हारमा रमाउने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिइन्।

प्रदेश सह-इन्चार्ज तिर्थबहादुर बुढाले पार्टीभित्रको एकतालाई व्यवहारमै स्थापित गर्दै स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी संगठन विस्तार, कार्यकर्ता परिचालन र जनसम्पर्कलाई सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए।

बैठकले झण्डै साढे छ सयभन्दा बढी सदस्यीय जिल्ला समिति गठन गरेको छ। साथै प्रदेश ‘क’ र ‘ख’ तथा गाउँपालिका स्तरका इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह-संयोजकको जिम्मेवारी तोक्नुका साथै गाउँपालिका स्तरका भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। पार्टीले संगठनात्मक पुनर्संरचनामार्फत आगामी राजनीतिक अभियानलाई गाउँस्तरसम्म विस्तार गर्ने तयारीसमेत अघि बढाएको जिल्ला पार्टी संयोजक राजबहादुर खत्रीले बताए।

प्रकाशित: १३ असार २०८३ ०९:०६ शनिबार