जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा र सदस्य सन्तोष राईले दल बदल गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश समिति उपसचिव समेत रहेका लामा नेकपा एमाले प्रवेश गरेका छन् भने नेकपा(माओवादी केन्द्र)बाट जिल्ला समन्वय समिति सदस्य भएका सन्तोष राई श्रम संस्कृति पार्टीमा गएका छन् ।
श्रम संस्कृति पार्टी धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको पार्टी हो । लामा र राई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृतसहितको गठबन्धनबाट जिल्ला समन्वय समितिमा पुगेका थिए ।
नेपालको संबिधान २०७२ को भाग १७ मा स्थानीय कार्यपालिका सम्वन्धी व्यवस्था गरिएको छ । जसमा जिल्ला जिल्लासभा र जिल्ला समन्वय समिति सम्बन्धी व्यवस्था छ ।
जसअनुसार जिल्ला समन्वय समितिका प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुख तथा सदस्यहरुले प्रमुख समक्ष राजीनामा दिएमा, पदावधि समाप्त भएमा र निजको मृत्यु भएमा जिल्ला समन्वय समितिको प्रमुख,उप्रमुख वा सदस्यको पद रिक्त हुन्छ भनिएको छ ।
प्रकाशित: १७ मंसिर २०८२ १५:३८ बुधबार