आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि श्रम संस्कृति पार्टीले ताप्लेजुङबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टीले प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको टुङ्गो लगाएको हो।
पार्टीका जिल्ला अध्यक्ष निमतेञ्जी शेर्पाका अनुसार प्रत्यक्षतर्फ याम्फुदिन निवासी सन्तोष राईको एकल नाम सिफारिस गरिएको छ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने पक्का भएपछि राईले हाल बहाल रहेको जिल्ला समन्वय समिति (जिसस) सदस्य पदबाट राजीनामा दिने तयारी गरेका छन्।
राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको गठबन्धनका तर्फबाट माओवादी केन्द्रको कोटामा जिसस सदस्य निर्वाचित भएका थिए।
पुराना राजनीतिक दल छोडेर उनी श्रम संस्कृति पार्टीमार्फत संसदीय राजनीतिको मैदानमा उत्रिन लागेका हुन्।
पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।
सिफारिस गरिएका नामहरूमा अमर लुहार (विक), साङ्गे शेर्पा, मञ्जु राई लिम्बू, नरेन्द्र इदिङ्गो लिम्बू र स्वयं जिल्ला अध्यक्ष निमतेञ्जी शेर्पा रहेको पार्टीले जनाएको छ।
प्रकाशित: ७ पुस २०८२ १५:३२ सोमबार