राजनीति

प्रदेश सरकारले बनाएको योजना बैंकको औचित्यमाथि उठ्यो प्रश्न

गण्डकी प्रदेशमा योजना बैंक छ । गण्डकी प्रदेश सरकारले प्रदेशको योजनाबद्ध विकासका लागि योजना बैंक बनाएको हो । जसमा योजनाहरू स्थानीय तहहरूले प्रविष्ट गर्छन् । र तिनै योजनाहरू प्रदेश नीति तथा योजना आयोगले प्राथमिकताका आधारमा छनौट गर्ने नीति अवलम्बन गरिएको छ । ती योजनाहरू एकद्वार नीतिबाट छनौट गरेर बजेट विनियोजन गर्ने भन्दै प्रदेश सरकारले गत वैशाखमा योजना बैंक सञ्चालनमा ल्याएको थियो ।

तर नीति राम्रो भएपनि व्यवहारमा कार्यान्वयन भएको छैन । बरु खल्तीबाटै योजना छनौट हुने क्रम रोकिनुको सट्टा झन् बढ्दो छ । अझ यस पटक त मुख्यमन्त्री र अर्थमन्त्रीले खल्तीका योजना हाल्न दबाब दिएपछि अर्थ सचिव राजेन्द्रदेव पाण्डेले पनि आफ्नो वडामा ठूलो मात्रामा बजेट खल्तीबाटै हालेका थिए । योजना बैंकको सुरुआत गर्दा मुख्यमन्त्री पाण्डेले भनेका थिए,‘खल्तीबाट योजना हाल्ने काम आगामी बजेटबाट अन्त्य गर्छौं । यस योजना बैंकमा प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र कार्यालयहरूबाट योजनाहरू प्रविष्ट हुन्छन् । र त्यसबाट प्राथमिकताका आधारमा योजनाहरू छनौट गरेर कार्यान्वयनमा लैजान्छौँ ।’ उनले टुक्रे र खल्तीका योजना हाल्दा सङ्घीयतामाथि प्रश्न उठ्नुका साथै प्रदेश सरकारको हैसियत पनि स्थानीय तहको जस्तो देखिएकाले योजना बैंकबाटै योजना छनौट गर्ने प्रतिबद्धता जनाएका थिए । त्यति मात्र होइन, उनले प्रदेशको हैसियत अनुसार पूर्वाधारमा ३० लाख तल र खानेपानीमा १० लाख तल बजेट नहाल्ने बताएका थिए ।

तर त्यसको ठिक विपरीत उनले चालु आर्थिक वर्षको लागि बजेट बनाउँदा टुक्रे योजनालाई नै निरन्तरता दिए । जसका लागि यतिसम्म गरे कि सांसद र मन्त्रीहरूका लागि सिलिङ तोकेरै योजनाहरू मागे । हुँदाहुँदै उनी यतिसम्म गिरेर आफ्नो गृह जिल्लामा बजेट खन्याए कि त्यो देखेर अर्थ सचिवलेसमेत आफूखुसी योजना प्रविष्ट गरेर बदनाम हुने स्थिति आयो ।

योजना बैंक बने पनि त्यसबाट योजना छनौट नभई खल्तीका योजनाले निरन्तरता पाएपछि बुधबार प्रदेश विकास समस्या समाधान समितिको बैठकमा स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिले असन्तुष्टि जनाए । बैठकमा उनीहरुले खल्तीकै योजना हाल्ने हो भने योजना बैंकको औचित्य के छ ? भनेर प्रश्नसमेत गरे ।

बैठकमा बोल्दै गाउँपालिका महासंघ गण्डकी प्रदेश अध्यक्ष नवराज ओझाले पकेटकै योजना हाल्ने हो भने योजना बैंक किन बनाएको ? भनेर प्रश्न गरे । बजेट निर्माणको अन्तिम दिन २३ घण्टा तयारी चल्छ,उनले भने,‘तर अन्तिम एक घण्टामा पकेटका योजनाहरू प्रविष्ट हुन्छन् । यसै गर्ने हो भने योजना बैंक किन चाहियो ? ।’ उनले बैठकमा समस्या समाधान गर्ने निर्णय हुने तर कार्यान्वयन नहुने गरेको भन्दै असन्तुष्टि जनाए । अघिल्लो पटक पनि कयौँ समस्या समाधान गर्ने भनेर निर्णय भयो,उनले थपे,‘तर स्थानीय तहका समस्या समाधान भएनन् । कि यो बैठक प्रदेश सरकारको समस्या समाधान गर्ने, तर स्थानीय तहको नगर्ने बैठक हो ? ।’

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले खल्तीका योजनाले निरन्तरता पाउँदा पनि खर्च गर्ने क्षमता किन नबढेको ? भनेर प्रश्न गरे । बजेट ल्याउँदा ताउरमाउर गर्दै ल्याउने तर कार्यान्वयनमा किन फितलो ? भन्दै उनले थपे,‘प्रदेश सरकारले खर्च गर्ने क्षमता, तागत किन बढाउन सकेन ? समस्या के हो ? ।’ उनले विधि बनाएर दिए जिससले बजेट कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए ।

नगरपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संघ, प्रदेश र स्थानीय तहबिच समन्वय अभावमा बजेट कार्यान्वयन गर्न समस्या भइरहेको बताइन् । स्थानीय तहमा प्राविधिक जनशक्ति र संरचना नहुँदा काम गर्न अप्ठ्यारो परेको उनको गुनासो थियो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले निःशुल्क शिक्षा स्थानीय तहका लागि टाउको दुःखाईको विषय बनेको बताए । संघले दरबन्दी पर्याप्त दिँदैन,उनले भने,‘प्रदेशलाई वास्ता छैन, विद्यालयले शुल्क उठाउन पाउँदैन, अनि स्थानीय तहले मात्र कसरी सक्छ ? ।’ उनले योजना बैंक कार्यान्वयनमा नआउँदा समानुपातिक विकास हुन नसकेको बताए ।

भीरकोट नगरपालिकाका प्रमुख गोविन्दबहादुर कर्माचार्यले बाँदर समस्याले स्थानीयले गाउँ छाड्ने स्थिति आएको भन्दै समस्या समाधानका लागि पहल गर्न आग्रह गरे ।

बडिगाड गाउँपालिकाकी प्रमुख गण्डकी थापाले गण्डकीका सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिएर अभियान सञ्चालन भइरहेपनि आफ्नो पालिकामा समस्या आएको बताइन् ।

बैठकमा उठेको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्षदेखि योजना बैंकबाटै योजना छनौट गर्ने प्रतिबद्धता जनाए । हाम्रोमा खल्तीबाटै योजना हाल्ने चलन छ,उनले भने,‘यो चलन हटाउन जति प्रयास गरे पनि यस पटक सकिएन । आगामी वर्षदेखि भने शतप्रतिशत नभए पनि पच्चीस प्रतिशतचाहिँ कार्यान्वयन गरेरै छाड्छु ।’ उनले त्यसका लाग भदौदेखि नै योजना बैंकमा योजना टिपाउन उनले मातहतका मन्त्रालय र कर्मचारीहरुलाई निर्देशन दिए । यो मेरो निर्देशन भयो,उनले भने,‘आगामी वर्ष मेरो कार्यकालको अन्तिम बजेट हो । यसमा पूरै नसके पनि थिति बसाल्ने प्रयास म बाट हुनेछ ।’

प्रकाशित: २१ श्रावण २०८२ १७:५१ बुधबार