ताप्लेजुङका सिरिजङ्गा र फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। सिरिजङ्गाले आर्थिक अनुशासन, वातावरण संरक्षण र गैरकानुनी गतिविधि नियन्त्रणमा कडाइ गर्ने नीति लिएको छ भने फक्ताङलुङले सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा र स्थानीय भाषा संरक्षणलाई प्राथमिकतामा राखेको छ।
सिरिजङ्गा गाउँपालिकाले स्वीकृत गरेको आर्थिक विधेयकमार्फत पालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने, पसलमा मूल्य सूची नराख्ने, म्याद गुज्रिएका सामग्री बिक्री गर्ने लगायतका कार्यमा जरिवानाको व्यवस्था गरेको छ। दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने र मूल्य सूची नराख्ने व्यवसायीलाई एक–एक हजार रुपैयाँ जरिवाना गरिनेछ भने म्याद गुज्रिएका सामग्री बिक्री गर्ने व्यवसायीलाई पहिलो पटक तीन हजार रुपैयाँ जरिवाना गरिनेछ।
पालिकाले निषेधित क्षेत्रमा फोहोर फाल्ने, जथाभावी पशु चौपाया छाड्ने, अरूलाई असर पर्ने गरी संरचना निर्माण गर्ने कार्यमा समेत जरिवाना तोकेको छ। नदीजन्य पदार्थ (ढुङ्गा, गिटी र बालुवा) अनुमति बिना उत्खनन् गरेमा पहिलो पटक १५ हजार रुपैयाँ जरिवाना तथा दोहोरिएमा थप जरिवाना र सामग्री जफत गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै पालिका क्षेत्रका नदी, खोला तथा खोल्सीमा पाइने दुर्लभ असला र तिते माछा मार्न रासायनिक विषादी, करेन्ट वा महाजाल प्रयोग गरेमा संघीय तथा प्रदेश कानुनअनुसारको कारबाहीसँगै थप १० हजार रुपैयाँ जरिवाना गरिने भएको छ। स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्ने ल्याब, क्लिनिक, औषधि पसल तथा पशु औषधि बिक्री केन्द्रलाई पाँच हजार रुपैयाँ जरिवाना गरिनेछ भने म्याद गुज्रिएका औषधिजन्य सामग्री बिक्री गरेमा १० हजार रुपैयाँ जरिवाना, इजाजतपत्र खारेजी र थप कानुनी कारबाहीका लागि सिफारिस गरिनेछ।
यता फक्ताङलुङ गाउँपालिकाले भने सामाजिक सम्मान र नागरिक सेवामुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ। गाउँपालिकाले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार संघीय सरकारले ७० वर्षपछि मात्रै ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने भएकाले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकको आर्थिक तथा सामाजिक अवस्थालाई सम्बोधन गर्न यो व्यवस्था गरिएको हो।
फक्ताङलुङले न्यून तलबमानमा कार्यरत विद्यालयका लेखापाल, भाषा शिक्षक, बाल शिक्षिका र कार्यालय सहयोगीको तलबमा १० प्रतिशत वृद्धि गर्ने भएको छ। साथै चालु आर्थिक वर्षभित्रै १५ शैयाको सामुदायिक अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।
भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै पालिकाले तल्लो क्षेत्रका नागरिकलाई लक्षित गरी सिँवा स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने र एमबीबीएस चिकित्सकसहितको सेवा सञ्चालन गर्ने योजना बनाएको छ। जिल्ला बाहिर उपचारका लागि जाने बिरामीलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत शुल्क छुट तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म सहयोगलाई निरन्तरता दिने भएको छ।
शिक्षातर्फ विद्यालयले लिने परीक्षा शुल्क, मासिक शुल्क, ट्युसन शुल्क तथा अन्य अनिवार्य शुल्क पालिकाले व्यवस्थापन गर्ने जनाएको छ। साथै स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षणका लागि सरकारी कामकाजमा लिम्बू र शेर्पा भाषाको प्रयोग कार्यान्वयन गर्ने निर्णय गरेको छ।
दुवै गाउँपालिकाका नीति तथा कार्यक्रमले एकातर्फ सिरिजङ्गामा नियम पालनामा कडाइ देखाएको छ भने अर्कोतर्फ फक्ताङलुङले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा विस्तार र स्थानीय पहिचान संरक्षणलाई प्राथमिकता दिएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १५:५० सोमबार