नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले खस्किएको जनाधार र संगठनलाई पुनः सुदृढ बनाउने लक्ष्यसहित जिल्लामा जागरण अभियान सुरु गरेको छ। कुनै समय पार्टीको बलियो आधार क्षेत्रका रूपमा रहेको कास्कीमा पुरानै जनविश्वास र संगठनात्मक शक्ति फर्काउने संकल्पका साथ अभियान थालिएको हो।
अभियानको आइतबार नेकपाका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले शुभारम्भ गरे।
कास्की कुनै समय तत्कालीन नेकपा (माओवादी) को बलियो आधार क्षेत्र मानिन्थ्यो। संविधानसभा निर्वाचन २०६४ मा चार निर्वाचन क्षेत्रमध्ये पार्टीले तीन क्षेत्रमा विजय हासिल गरेको थियो। क्षेत्र नम्बर १, २ र ४ मा विजयी भएको पार्टी क्षेत्र नम्बर ३ मा भने झिनो मतान्तरले पराजित भएको थियो।
तर त्यो लोकप्रियता लामो समय टिक्न सकेन। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कास्कीका सबै निर्वाचन क्षेत्र गुमाएको नेकपाले त्यसयता जिल्लामा चुनावी सफलता हासिल गर्न सकेको छैन।
चुनावी पराजयसँगै पार्टीको लोकप्रियता र जनमतसमेत निरन्तर खस्किँदै गएको देखिन्छ। २०८२ को निर्वाचनसम्म आइपुग्दा पार्टीले कमजोर नतिजा बेहोर्नुपरेको थियो। आफ्नै संगठित कार्यकर्ताको मतसमेत जोगाउन नसक्दा पार्टी केही स्थानमा जमानत जफत हुने अवस्थासम्म पुगेको पार्टीका नेताहरूको भनाइ छ।
नेकपाले कास्कीमा १२ हजार संगठित सदस्य रहेको तथा पोखरा महानगरपालिकामा मात्रै आठ हजार पार्टी सदस्य रहेको दाबी गर्दै आएको थियो। तर जेनजी आन्दोलनपछि कास्कीमा करिब दुई हजार जनाले मात्रै पार्टी सदस्यता नवीकरण गरेको पार्टी स्रोतले जनाएको छ। तीमध्ये पोखरा महानगरका एक हजार र अन्य चार पालिकाका एक हजार सदस्यले पार्टी सदस्यता नवीकरण गरेका छन्।
पार्टीको खस्किँदो साख उकास्दै पुरानै अवस्थामा फर्काउने उद्देश्यले जागरण अभियान सञ्चालन गरिएको नेकपा कास्कीका इञ्चार्ज रामजीप्रसाद बरालले बताए।
‘हिजोको मजबुत अवस्थाबाट अहिलेको कमजोर अवस्थासम्म आइपुगेका छौं,’ उनले भने, ‘अब रफ्तारका साथ पार्टीलाई पुरानै अवस्थामा फर्काउने संकल्पसहित जागरण अभियान लिएर गाउँ, घर र परिवारसम्म पुग्छौं।’
उनका अनुसार अभियानमार्फत कास्कीमा नवीकरण गर्न बाँकी पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने लक्ष्य राखिएको छ। पोखरा महानगरपालिकामा दुई हजार नौ सय ५०, मादी गाउँपालिकामा एक हजार, माछापुच्छ्रे गाउँपालिकामा सात सय ५०, अन्नपूर्ण गाउँपालिकामा आठ सय र रूपा गाउँपालिकामा पाँच सय सदस्यको सदस्यता नवीकरण गर्ने गरी अभियान सञ्चालन गरिनेछ।
अभियानका क्रममा पार्टी कमिटीले आ–आफ्ना पालिकामा रहेका संघसंस्था, क्लब, आमा समूहलगायतसँग छलफल र अन्तरक्रिया पनि गर्ने नेकपा कास्कीका संयोजक खड्ग हमालले जानकारी दिए।
उनका अनुसार पोखरा महानगर कमिटीले छ सय ६० वटा संघसंस्था, रूपा गाउँपालिका कमिटीले ३५, मादी गाउँपालिका कमिटीले ६०, माछापुच्छ्रे गाउँपालिका कमिटीले ४५ र अन्नपूर्ण गाउँपालिका कमिटीले ५५ वटा संघसंस्था तथा क्लबसम्म पुगेर छलफल र अन्तरक्रिया गर्नेछन्।
अभियानको शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेश इञ्चार्ज पौडेलले नयाँ राजनीतिक शक्तिप्रति बनेको ‘चुपचाप घण्टीछाप’ को भ्रमबाट जनतालाई मुक्त गराउन अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे।
संविधान र व्यवस्थाको रक्षाका लागि नेकपासहित पुराना राजनीतिक दल पुनः जागृत हुनुपर्ने उनको भनाइ थियो।
‘अहिले संविधान कोमामा छ। यसलाई मृत घोषणा त गरिएको छैन, तर यसले काम पनि गरिरहेको छैन,’ उनले भने, ‘वर्तमान सरकार संविधानको रक्षा गर्दैन र त्यसतर्फ अग्रसर पनि छैन।’
नेकपा पुरानै अवस्थामा फर्किन सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै पौडेलले संगठन सुदृढ बनाएर त्यसको जवाफ दिने बताए। ‘पार्टी बन्छ, बन्नैपर्छ र बनाएरै देखाइन्छ,’ उनले भने, ‘नबनाएर सुखै छैन।’
नेकपा गण्डकीका सहइञ्चार्ज श्रीनाथ बरालले वर्तमान सरकार र राजनीतिक अवस्थाबाट देश र जनतालाई मुक्त गर्न नेकपामा जागरण आवश्यक रहेको बताए। जनतासँग टुटेको सम्बन्ध र कमजोर बनेको विश्वास पुनःस्थापित गर्न अभियान सफल बनाउनुपर्नेमा उनले जोड दिए।
नेकपा कास्कीका पूर्व इञ्चार्ज राजकाजी गुरुङले जागरण अभियान पार्टीलाई मात्र नभई नेताकार्यकर्तालाई समेत रूपान्तरण गर्ने अभियान भएको बताए।
‘हिजो भएका कमीकमजोरी सुधार्दै पार्टीलाई सुदृढ बनाउनु यो अभियानको मुख्य उद्देश्य हो,’ उनले भने। नयाँपनका नाममा भइरहेको अराजकता, कुशासन र घृणाबाट देशलाई मुक्त गर्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न जनतालाई सचेत बनाउनु पनि अभियानको उद्देश्य रहेको उनको भनाइ थियो।
कास्की सहइञ्चार्ज तेजकुमारी पौडेलले देश संकटमा परेको अवस्थामा सरकारका गलत कदम र कामकारबाहीबारे जनतालाई जानकारी गराउँदै विश्वास पुनः जित्ने प्रयास जागरण अभियानमार्फत गरिने बताइन्।
दुईमहिने अभियानअन्तर्गत आगामी मंसिर ११ गतेदेखि जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरिने नेकपा कास्कीका सहसंयोजक विनय थापाले जानकारी दिए।
प्रकाशित: १५ कार्तिक २०८३ १६:२१ आइतबार