राजनीति

जेन-जी सहिदको सम्मानमा उदयपुरमा दीप प्रज्वलन

जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालय परिसरमा दीप प्रज्वलन गर्दै माओवादी नेता-कार्यकर्ता । तस्विरः महेश्वर चामलिङ राई/उदयपुर

जेन-जी आन्दोलनका सहिदको सम्मान तथा दशौँ संविधान दिवसको उपलक्ष्यमा शुक्रबार साँझ उदयपुरमा दीप प्रज्वलन गरिएको छ । नेकपा (माओबादी केन्द्र)को त्रियुगा नगर कमिटीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।  

त्रियुगा नगरपालिका-३ बसपार्कस्थित जेन-जी आन्दोलनकारीले आगजनी गरी ध्वस्त पारेको कार्यालय परिसरमा भेला भएका जिल्ला, प्रदेश तथा नगरस्तरीय नेता कार्यकर्ता दीप प्रज्वलन कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा प्रदेससभा सदस्य सम्झना पाख्रिन, जिल्ला समन्वय कमिटी संयोजक द्रोण पौडेल, त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई र उपाध्यक्ष राजन खतिवडालगायतले जेन-जी आन्दोलनका सहिदहरुको सम्झनामा एउटा ठूलो मैनबत्ती र संविधान जारी भएको १० वर्ष पुगेको संकेतस्वरुप १० वटा मैनबत्ती प्रज्वलन गरेका थिए ।

माओबादीले जिल्लाका ८ वटै स्थानीयतहमा शुक्रबार साँझ सहिदको सम्झना र संविधान दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको जनाएको छ । 

प्रकाशित: ३ आश्विन २०८२ १९:२५ शुक्रबार