नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले सार्वजनिक जग्गामा बनेको आफ्नै संरचना भत्काएको छ। महानगरपालिकाले फिर्केखोला, पोखरा बसपार्कलगायत क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालय अगाडि रहेको आफ्नै संरचनामा डोजर लगाएर भत्काएको हो।
पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै फिर्केखोला, पोखरा बसपार्कलगायत क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउन पहिलो पटक ३५ दिने सूचना निकालेको थियो। सूचनाको म्याद सकिन लाग्दा गत बुधबार महानगरले पुनः ७२ घण्टे अल्टिमेटमसहित अर्को सूचना जारी गरेको छ।
सो अल्टिमेटम आएपछि उक्त मजदुर संगठनले आफैं डोजर ल्याएर सभाहलसहितका अस्थायी संरचना भत्काएको छ। आफूहरूले सभाहल र केही अस्थायी संरचना भत्काएको महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले जानकारी दिए। डेढ करोडमा बनेको अर्को कार्यालय भवन भने महानगरलाई नै हस्तान्तरण गर्ने उनले बताए।
उनले भने, “त्यसमा कार्यालय भवन सञ्चालन गर्न उपयुक्त हुन्छ। त्यसैले नभत्काई महानगरलाई नै शनिबार हस्तान्तरण गर्दैछौँ।”
२०६७ सालमा महासंघ गण्डकीले ४ रोपनी क्षेत्रफल ओगटेर भवन बनाएको थियो। नेकपा एमाले, नेपाली कांग्रेसलगायतका मजदुर संगठनले पोखरा उपत्यका नगर विकास समितिको जग्गा हडपेर कार्यालय भवन बनाएको देखिएपछि माओवादीको प्रभाव रहेको समयमा सो मजदुर संगठनले पनि भवन बनाएको थियो।
तर महानगरले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान सुरु गरेपछि सो संगठनले अन्य संगठन तथा संस्थाहरूले सार्वजनिक जग्गा हडपेर बनाएका संरचना भत्काउने सर्तमा आफूहरूले आफैं भत्काएर त्यसको सुरुआत गर्ने घोषणा पत्रकार सम्मेलनमार्फत गरेको थियो। सोही घोषणाअनुसार आफूहरूले संरचना भत्काएको गौतमको भनाइ छ।
“हामीले स्वघोषणा गरेअनुसार संरचना भत्काएर महानगरलाई सहयोग गरेका छौँ,” उनले भने, “अब महानगरले अरूको पनि भत्काओस्।”
सो संगठनले अन्य संगठन तथा संस्थाहरूका संरचना नभत्काए उचित नहुने चेतावनी दिएको छ। अध्यक्ष गौतमले चेतावनी दिँदै भने, “हामीले पहिले पनि भनिसकेका छौँ, हाम्रो भत्काएर सहयोग गर्दा पनि अरूको नभत्काउने हो भने त्यो स्वीकार्य हुँदैन। यदि त्यसो भएमा डोजर र डोजर चलाउने दुवै छन्, हामी आफैं पनि चलाउँछौँ।”
नेकपा निकट मजदुर संगठनले भत्काए पनि एमाले र कांग्रेस निकट मजदुर संगठनले बनाएका संरचना यथावत् छन्। एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्की र गण्डकी तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका छुट्टाछुट्टै भवन छन्। २०६० सालमा बनेका ती भवनमा दुई कार्यालय रहेका छन्। त्यस्तै, नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) को पनि सुविधासम्पन्न भवन छ। २०६४ सालमा बनेको उक्त भवनमा कार्यालय रहेको छ।
यी मजदुर संगठनहरूले पनि त्यहाँ रहेका संरचना हटाउन तयार रहेको बताएका छन्। जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले आफूहरू कार्यालय सार्ने तयारीमा रहेको बताए।
“हामी भाडामा फ्ल्याट खोजिरहेका छौँ,” उनले भने, “फ्ल्याट पाएपछि सर्छौँ र त्यहाँ रहेका सबै संरचना महानगरलाई हस्तान्तरण गर्छौँ।”
नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले पोखरा महानगरपालिकाले समन्वय नगर्दा भवन छाड्न ढिलाइ भएको बताए।
“हामी पनि भवन छाड्न तयार छौँ,” उनले भने, “तर मेयर धनराज आचार्यले कुनै पहल र समन्वय नै नगरी सूचना मात्र निकाल्दा समन्वय अभावले भवन छाड्न ढिलाइ भएको हो। मेयर आचार्यले छलफल र समन्वय गर्नेबित्तिकै महानगरलाई तालाचाबी बुझाएर निस्कन्छौँ।”
यसबाहेक सो क्षेत्रमा सामुदायिक प्रहरी सेवा भवन, हिमाली सांस्कृतिक परिवारको कार्यालय भवन, सहारा क्लब पोखरालगायत संघसंस्थाहरूका भवन पनि छन्। ती पनि हटाउन महानगरले सूचना जारी गरेको छ।
महानगरले पोखरा बसपार्कमा रहेका भूमिहीन, सुकुम्बासी तथा फिर्केखोला क्षेत्रको ५ मिटर मापदण्डभित्र पर्ने संरचना यही जेठ ८ गतेभित्र हटाउन भनेको छ। अन्यथा डोजर चलाउने तयारी महानगरले गरेको छ। सम्भवतः शनिबारबाटै डोजर चल्ने महानगर निकट स्रोतले जनाएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १६:५० शुक्रबार