राजनीति

गृहमन्त्री गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ

सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ परेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा ‘गोरखामा सुधन गुरुङलाई लखेटे’ शीर्षकमा भिडियो सामग्री (रिल्स) पोस्ट गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका अधिकारी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता हुन्। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत (साइबर अपराध) सम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीले पक्राउ गरी गोरखा पठाएको छ।

आइतबार सामग्री पोस्ट गरेका उनलाई सोमबार साँझ पोखरा–८ नागढुंगाबाट पक्राउ गरिएको परिवारले जनाएको छ। सोमबार साँझ पक्राउ परेका उनलाई मंगलबार बिहान मात्रै गोरखा लगिएको थियो।

गृहमन्त्री गुरुङको ठाडो आदेशमा अधिकारी पक्राउ परेको आशंका गरिएको छ। सामाजिक सञ्जालमा अधिकारीले हालेको भिडियो भाइरल भएपछि गृहमन्त्रालयदेखि प्रहरी हेडक्वार्टर, प्रदेश प्रहरी र जिल्ला प्रहरीसम्म आतङ्क फैलिएको स्रोत बताउँछ। स्रोत भन्छ, ‘भिडियो पोस्ट भएलगत्तै गृहमन्त्रालयले चासो राख्न सुरु गरेका थिए, जसले प्रहरी हेडक्वार्टर, प्रदेश प्रहरी र जिल्ला प्रहरीसम्मको निद्रा हराम गर्‍यो।’

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गोरखा प्रहरीको अनुरोधमा अधिकारीलाई पक्राउ गरी पठाइएको जानकारी दिए। निवेदन साइबर ब्युरोमा परेको हो वा गोरखा जिल्ला प्रहरीमा भन्ने यकिन नभएको उनले बताए। ‘हामीलाई गोरखा प्रहरीले पक्राउ गरी पठाउनु भनेकाले पक्राउ गरेर पठाएका छौँ,’ उनले भने। सामाजिक सञ्जालमा भ्रम फैलाएको वा सामाजिक सञ्जालमा लेख्न नहुने विषय लेखेको भन्ने दुईमध्ये एउटा विषयमा पक्राउ गरिएको हुन सक्ने उनको भनाइ छ।

गोरखा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले हुँदै नभएको कुरा राखेर भ्रम फैलाएकाले अधिकारीलाई पक्राउ गरिएको बताए। दुई–तीन वर्षअघिको घटनालाई गृहमन्त्री गुरुङ गोरखा पुगेको समयमा लेखिएको भन्दै सामाजिक सञ्जालमा भिडियो सामग्री हालेकाले पक्राउ गरिएको उनको भनाइ छ। ‘उनीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएको तथा हुँदै नभएको कुरामा भ्रम फैलाएको मुद्दामा अनुसन्धान भइरहेको छ,’ उनले भने। उनका अनुसार गोरखा जिल्ला अदालतमा मंगलबार अधिकारीलाई उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको छ।

डीएसपी श्रेष्ठले गृहमन्त्रीको ठाडो आदेशमा अधिकारी पक्राउ नपरेको बताए। उनीमाथि कसैले निवेदनसमेत नदिएको बताउँदै उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले नै विज्ञप्ति निकालेर खण्डन गरिसकेको विषयमा सामाजिक सञ्जालमा भ्रम फैलाइरहेपछि पक्राउ गरिएको हो। साइबर ब्युरो वा गोरखा प्रहरीमा जाहेरी वा निवेदन परेको होइन।’

अधिकारीको पक्राउप्रति नेकपा कास्कीले चासो व्यक्त गरेको छ। प्रहरीले पक्राउ गरेर गोरखा पुर्‍याएलगत्तै नेकपा कास्कीका इन्चार्ज रामजीप्रसाद बराल, संयोजक खड्ग हमाललगायतका नेताहरू कास्की प्रहरी प्रमुख, प्रदेश प्रहरी प्रमुखलगायतलाई भेट्न पुगेका थिए। इन्चार्ज बरालले अभिव्यक्ति स्वतन्त्रताको हकविपरीत अधिकारीलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन्। ‘सामाजिक सञ्जालमा लेखेकै आधारमा, बोलेकै आधारमा राज्य दमनमा उत्रिनु शोभनीय हुँदैन,’ उनले भने।

त्यस्तै, वाईसीएल कास्कीले विज्ञप्ति जारी गर्दै अधिकारीको रिहाइको माग गरेको छ। सरकारको आलोचना गर्ने नागरिकलाई पक्राउ गरेर विचार र आवाजलाई नियन्त्रण गर्न खोज्नु निरङ्कुश प्रवृत्ति भएको भन्दै उसले विरोध गरेको छ। ‘राज्यसत्ताको बलमा नागरिकको आवाज दबाउन खोज्नुले लोकतन्त्र बलियो हुँदैन र राज्यप्रतिको विश्वाससमेत कमजोर बन्छ।’

प्रकाशित: १७ कार्तिक २०८३ २०:०० मंगलबार