राजनीति

जेनजी आन्दोलन: उदयपुरका पीडितको प्रश्न- क्षतिपूर्ति कहिले ?

जेनजी विद्रोहका क्रममा तोडफोड र आगजनीबाट करोडौँ रुपैयाँको क्षति बेहोरेका उदयपुरका पीडितले घटना भएको एक वर्ष बितिसक्दा पनि क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

भदौ २४ गतेको आन्दोलनका क्रममा उदयपुरमा सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, संघसंस्था तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा सरकारी, गैरसरकारी तथा निजी सम्पत्तिमा गरी ८ करोड ३५ लाख ९४ हजार १ सय १६ रुपैयाँ बराबरको क्षति भएको थियो ।

आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयसहित १६ सरकारी कार्यालय, १० गैरसरकारी संस्था तथा राजनीतिक दलका कार्यालय र १० व्यक्तिको निजी सम्पत्तिमा क्षति पुगेको प्रशासनले जनाएको छ । सरकारी सम्पत्तितर्फ ७५ लाख ४८ हजार १ सय ५०, राजनीतिक दल तथा संघसंस्थातर्फ २ करोड १७ लाख ३८ हजार २५ र निजी सम्पत्तितर्फ ५ करोड ४३ लाख १२ हजार १ सय ३४ रुपैयाँ बराबरको क्षति भएको विवरण प्रशासनसँग छ ।

त्रियुगा नगरपालिकाका दुई भवनमा मात्रै १ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति भएको नगरप्रमुख बसन्त बस्नेतले बताए । पूर्वनगरप्रमुख बलदेव चौधरीको निजी सम्पत्तिमा डेढ करोडभन्दा बढी तथा उपप्रमुख महेश्वरी राईको घरमा आगजनी हुँदा १ करोड ४४ लाख ८ सय रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

पीडितका अनुसार आन्दोलनलगत्तै प्रहरी, प्रशासन र जनप्रतिनिधिको रोहबरमा क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको आश्वासन दिइएको थियो । तर, एक वर्ष बितिसक्दा पनि त्यसबारे कुनै निर्णय नहुँदा पीडित थप निराश बनेका छन् ।

उपप्रमुख राईले पैतृक सम्पत्तिबाट जोडेको घर नै आगजनीबाट ध्वस्त भए पनि अहिलेसम्म क्षतिपूर्ति नपाएको बताइन् । पूर्वनगरप्रमुख चौधरीले आफू पदमा नरहेको अवस्थामा समेत निजी सम्पत्तिमाथि भएको क्षतिको राज्यले संरक्षण र क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण प्राविधिक, प्रहरी र जनप्रतिनिधिसहितको टोलीबाट मूल्यांकन गराई घटना भएको एक महिनाभित्रै गृह मन्त्रालयमा पठाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीका अनुसार क्षतिपूर्ति दिने वा नदिने विषयमा गृह मन्त्रालयबाट अहिलेसम्म कुनै जवाफ आएको छैन ।

प्रकाशित: २५ भाद्र २०८३ १८:३६ बिहीबार