राजनीति

भोटेकोशी बाढीपीडितका लागि गण्डकी सरकारको ४ करोड सहयोग

गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, उपचार र राहतका लागि ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक अपिल जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम प्रदान गर्ने निर्णय भएको जनाएका हुन्।

मुख्यमन्त्री पाण्डेले अपिलमा बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य यात्रामा गएका नागरिकहरू अझै पनि सम्पर्कमा नआउँदा चिन्ता बढाएको बताएका छन्। उनले सम्पर्कविहीन नागरिकको खोजीमा गण्डकी प्रदेश सरकारले समन्वय गरिरहेको उल्लेख गरेका छन्। अपिलमा भनिएको छ, ‘सम्पर्कविहीन नागरिकको खोजी, अवस्था पहिचान र भेटिएका शवको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।’

मुख्यमन्त्री पाण्डेले बाढीपीडितको उद्धार, घाइतेको उपचार र आश्रयविहीनका लागि खानपानको व्यवस्था गर्न सरोकारवालाहरूलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रहसमेत गरेका छन्। ‘विपद्को यस घडीमा जोखिममा रहेकाहरूको गण्डकी प्रदेश सरकार आफ्नो सामर्थ्यअनुसार उद्धार र राहतमा सहयोग गर्न प्रतिबद्ध छ,’ उनले भनेका छन्।

उनले बाढीले क्षति पुर्‍याएको रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायतका स्थानको पीडा ती जिल्लाको मात्र नभई समग्र नेपाल र नेपालीको साझा पीडा भएको बताएका छन्।

मुख्यमन्त्री पाण्डेले विपद् प्रभावित नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोगका लागि गण्डकी प्रदेशभित्रका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई अपिल गरेका छन्।

‘साथै, विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामात्र सम्प्रेषण गर्न सबैमा विशेष आग्रह गर्दछु,’ उनले भनेका छन्।

यसअघि पोखरा महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४५ लाख रुपैयाँ सहयोग घोषणा गरिसकेको छ। त्यस्तै, मादी गाउँपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

विपद्मा रुपा गाउँपालिकाले पनि पीडितसँगै उभिएको जनाएको छ। उनीहरूको उद्धार तथा राहतका लागि सबै जनप्रतिनिधि तथा कर्मचारीको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन्।

गण्डकी प्रज्ञा प्रतिष्ठानले २ लाख १६ हजार १ सय १० रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एक लाख रुपैयाँ प्रतिष्ठानको तर्फबाट तथा थप १ लाख १६ हजार १ सय १० रुपैयाँ प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीको तलब–भत्ताबाट सहयोग गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै, पोखरा उद्योग वाणिज्य संघले ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिसकेको जनाएका छन्।

प्रकाशित: १२ भाद्र २०८३ १८:४८ शुक्रबार