राजनीति

गण्डकीका मुख्यमन्त्रीको गुनासो- संघले कानुन र वित्तीय अधिकार नदिँदा प्रदेशलाई काम गर्न सकस

दलहरूको असफलतासँगै व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव रहेको दाबी गरेका छन्।

उनले प्रदेशका संवैधानिक अधिकार प्रयोगमा अवरोध रहेको औंल्याउँदै वित्तीय संघीयता र कानुन निर्माणमा तत्काल सहजीकरण गर्न संघीय सरकारसँग माग गरेका हुन्।

१२औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार गण्डकी प्रदेश सरकारले पोखरामा आयोजना गरेको मूल समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीयता बलियो बनाउन केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘वित्तीय संघीयता र कानुन निर्माणमा कमजोरी छन्, यसलाई संघ सरकारले छिटोभन्दा छिटो समाधान गरेर सहजीकरण गर्नुपर्छ,’ उनले भने।

कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको सफल कार्यान्वयनका लागि राज्यका सम्पूर्ण अङ्ग, राजनीतिक दल, नागरिक समाज र आमजनताबीच बलियो एकता र सहकार्य अपरिहार्य रहेको बताए। तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

संविधान केवल कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौं लामो त्याग र बलिदानको परिणाम भएको प्रदेश प्रमुख भट्टले स्मरण गरे।

‘संघीयताको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई सहज, सरल, पारदर्शी र गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘यसको व्यावहारिक कार्यान्वयनमा प्रदेश सरकार र प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।’

सुशासन, सामाजिक न्याय र समृद्धितर्फ अग्रसर हुनु नै आजको मुख्य दायित्व रहेको उनको भनाइ थियो।

समारोहमा गण्डकी प्रदेश नेकपा संसदीय दलका नेता हरिबहादुर चुमानले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको जिकिर गरे।

कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरूलाई सुधार्दै जनआकांक्षा पूरा गर्न र समृद्धिको सपना साकार पार्न यही संविधानबाट मात्र सम्भव रहेको उनले बताए।

त्यसैगरी, पोखरा महानगरपालिकाका प्रमुख धनराज अचार्यले जनयुद्ध र जनआन्दोलनको जगमा बनेको संविधान मास्ने षड्यन्त्र भइरहेको बताए।

संविधान पक्षधर शक्तिहरूबीच एकता, सहकार्य र सहमतिको आवश्यकता औंल्याउँदै उनले भने, ‘संविधान मास्ने प्रयास भइरहेको छ, तर यी संविधानविरोधीहरूलाई परास्त गरेरै छाडिन्छ।’

प्रकाशित: ३ आश्विन २०८३ १८:१६ शनिबार