हिमाली जिल्ला मुगुको सोरुकोट, कर्णालीको त्यही विकट बस्ती, जहाँ पुग्न अझै पनि सहज छैन। त्यही गाउँमा जन्मिएका मंगलबहादुर शाही अहिले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने ठाउँमा पुगेका छन्।
यो एउटा राजनीतिक नियुक्तिका लागि मात्रै कथा होइन। यो विकट गाउँबाट निस्किएको एउटा व्यक्तिको दशकौँ लामो संघर्ष, राजनीतिक उतारचढाव, शिक्षक जीवन, हिरासत, भूमिगत राजनीति, सशस्त्र विद्रोह, जेल र चुनावी यात्राले बनाएको राजनीतिक आरोहणको कथा हो।
साविक जिमा गाविस–९ सोरुकोट र हाल सोरु गाउँपालिका–६ का स्थायी बासिन्दा शाही २०२५ भदौ १६ गते बिजुरा र विक्रमबहादुर शाहीका पाँच भाइ र दुई बहिनीमध्ये जेठा छोराका रूपमा जन्मिए। सोरुकोट प्राथमिक विद्यालयबाट सुरु भएको उनको शिक्षा यात्रा मुगु, हुम्ला हुँदै जुम्लासम्म आइपुग्यो। सोरुकोटमा कक्षा १ देखि ३, नाथरपुरमा ३ देखि ७, हुम्लाको श्रीनगरमा कक्षा ८ र जुम्लामा कक्षा ९ तथा १० अध्ययन गरे।
२०४४ सालमा जुम्लाको चन्दननाथ माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं पुगे।काठमाडौंले उनको जीवनमा पढाइसँगै राजनीति पनि थपिदियो। नेपाल ल क्याम्पसमा अध्ययन गर्ने क्रममा २०४५ सालमा अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरे। नेकपा मालेको पाँचौँ राष्ट्रिय महाधिवेशनपछि उनको राजनीतिक धार अझ स्पष्ट हुँदै गयो। २०४७ सालमा कानुनमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे। त्यसपछि राजनीति उनको जीवनको मुख्य बाटो बन्दै गयो।
२०५४ सालमा नेकपा एमालेको एरिया कमिटी सचिव बने। २०५६ सालको आमनिर्वाचनमा एमालेका चन्द्रबहादुर शाहीलाई जिताउने अभियानमा सक्रिय हुँदा कांग्रेससँग झडप भयो। ज्यान मार्ने उद्योगको अभियोगमा नौ दिन हिरासतमा बस्नुपर्यो।
राजनीति मात्र उनको परिचय थिएन। लामो समय उनी शिक्षक पनि रहे। १३ वर्षमा १६ वटा विद्यालयमा अध्यापन गरे। तर शिक्षक जीवन पनि स्थिर रहेन। उनका अनुसार राजनीतिक विचार र सक्रियताकै कारण तत्कालीन सरकारले पटक–पटक सरुवा गर्यो। २०५७ सालमा शिक्षक जीवन चलिरहेका बेला तत्कालीन माओवादी नेता परानबहादुर धरालासँग भएको लामो राजनीतिक संवादले शाहीको जीवनको बाटो मोडिदियो।
व्यवस्था परिवर्तनबिना जनताको अवस्था परिवर्तन नहुने निष्कर्षमा पुगेका उनी बिस्तारै माओवादी आन्दोलनसँग नजिकिए। २०५८ सालमा शिक्षक जीवन छाडेर तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहमा पूर्णकालीन भए।त्यसपछि उनका लागि राजनीतिको अर्थ बैठक, भाषण र संगठन मात्र रहेन। जीवन स्वयं जोखिममा राखेर हिँड्नुपर्ने भूमिगत यात्रा सुरु भयो।
डोल्पाको माझफाल भिडन्तमा सात सहयात्री गुमाए। मुगुबाट दुई सय जनाको नेतृत्व गर्दै गरिएको जुम्ला आक्रमणमा सहयोद्धा राजकर्ण शाही गुमाए। २०६० सालमा बाँकेको नरैनापुरमा सुरक्षा घेरामा परे पनि जोगिए।
युद्धको त्यो कालखण्डले उनलाई राजनीति मात्र सिकाएन, मृत्यु नजिकबाट देखायो। ‘जतिखेर हामी जनयुद्धमा थियौँ। त्यतिखेर मेरो बुबालाई प्रशासनले पक्राउ गर्न भनेर ताकेता गर्थ्यो, बुबा चाहिँ भागेर हिँड्नुपर्थ्यो,’ उनी विगत सम्झन्छन्।
आफ्नो जीवनलाई उनी अहिले पनि असामान्य ढंगले सम्झन्छन्। ‘हाम्रो जिन्दगी त नाफाको हो। मृत्युलाई जितेर आएको हो, यो देशको राज्य सत्ता बदल्न,’ शाही भन्छन्।
२०५९ देखि २०६४ सम्म जिल्ला कमिटी सदस्य हुँदै पार्टी सचिवको जिम्मेवारी सम्हाले। २०६५ पछि जिल्ला इन्चार्ज बने। तर माओवादी आन्दोलनभित्रको विभाजनले उनको राजनीतिक बाटो फेरि बदलियो। २०६९ सालमा मोहन वैद्य ‘किरण’ नेतृत्वको धारमा लागे। २०७० सालको संविधानसभा निर्वाचन बहिष्कारमा सक्रिय भएपछि १८ दिन जेल बस्नुपर्यो।
२०७१ सालमा प्रचण्ड नेतृत्वको पार्टीसँग एकता भएपछि उनी केन्द्रीय सदस्य बने। दशकौँको भूमिगत र संगठनात्मक राजनीतिपछि उनी जनताबाट प्रत्यक्ष अनुमोदित हुने चरणमा पुगे। २०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु क्षेत्र नं. १ ९२० बाट ८ हजार ४ सय २९ मतसहित प्रदेशसभा सदस्य निर्वाचित भए।त्यसपछि उनको राजनीतिक यात्रा आन्दोलनको मैदानबाट सरकार सञ्चालनतर्फ मोडियो। २०७९ माघ ११ गते कर्णाली सरकारको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री बने।
२०८० चैत २८ गतेसम्म मन्त्रालय सम्हाले। २०८२ सालमा नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दल नेताको जिम्मेवारी पाए। २०८२ माघ ४ गते नेकपा संसदीय दलको नेता निर्वाचित भए। र, अन्ततः साउन १२ गते नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरे।
प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम उनलाई कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरे। शाहीको राजनीतिक यात्रा जहाँबाट सुरु भयो, त्यहाँको भूगोल र उनको राजनीतिक यात्राबीच एउटा गहिरो सम्बन्ध देखिन्छ।सोरुकोटजस्ता कर्णालीका गाउँमा सडक पुग्न कठिन छ। स्वास्थ्य, शिक्षा, रोजगारी र उत्पादनका अवसर सीमित छन्।
राज्यको उपस्थिति अझै पनि नागरिकले अनुभूति गर्ने गरी बलियो हुन सकेको छैन। यही भूगोलबाट आएका शाही अहिले त्यही प्रदेशको सत्ता सञ्चालन गर्ने ठाउँमा छन्। मुख्यमन्त्रीका रूपमा उनले सुशासन, उत्पादन र रोजगारीलाई प्राथमिकतामा राख्ने बताएका छन्। कर्णालीको गरिबी घटाउने र प्रदेशलाई समृद्धिको गन्तव्य बनाउने उनको लक्ष्य छ।
तर राजनीतिक संघर्षको कठिन बाटो पार गर्नु र सरकार चलाउनु एउटै कुरा होइन। भूमिगत हुँदा राज्यसत्तासँग लड्नु थियो। अहिले राज्यसत्ताकै स्रोत, संरचना र संयन्त्र प्रयोग गरेर जनताको जीवन बदल्नुपर्ने जिम्मेवारी छ। हिजो उनको परीक्षा जेल, घेरा र संघर्षमा थियो।
आज परीक्षा नीति, बजेट, सुशासन र परिणाममा हुनेछ। मुगुको सोरुकोटबाट सुरु भएको यात्रा कर्णालीको मुख्यमन्त्रीको कुर्सीसम्म आइपुगेको छ। पत्नी नारायणदेवी शाहीसहित उनका दुई छोरा र चार छोरी छन्।
प्रकाशित: ४ भाद्र २०८३ १३:१२ बिहीबार