राजनीति

चुनावी चर्चा: लुटिएका हतियार र फरार कैदीको त्रास

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण मिलाउन सरकारले राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ। निर्वाचन आयोगले नयाँ मतदाता लक्षित गरी नामावली संकलन गरिरहेको छ। कास्कीमा पनि मतदाता नामावली संकलन कार्य उत्साहजनक रूपमा भइरहेको छ, जसलाई दलहरूले सहयोग गरिरहेका छन्।

सरकार र आयोगले गरिरहेका निर्वाचनसम्बन्धी गतिविधिलाई कास्कीका दलहरूले चासोका साथ हेरिरहेका छन्। चुनावी कार्यक्रम सुरु नगरे पनि दलहरू पूर्वतयारीमा भने जुटेका छन्। जिल्लामा चुनावी तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रपंक्तिमा देखिएको छ। उसले केन्द्रको आह्वानमा समानुपातिक उम्मेदवार चयनसमेत थालिसकेको छ। त्यसबाहेक जिल्लास्तरीय घण्टी भेलासमेत आयोजना गरिसकेको रास्वपा कास्कीका सचिव दीपेन्द्र पोखरेलले बताए। ‘चुनाव हुन्छ भन्नेमा हामी ढुक्क छौं’, उनले भने, ‘त्यही भएर हामी तयारीमा जुटिसकेका छौं। चुनावी माहोल पनि बनेको छ। डर, त्रास र भयरहित चुनाव हुनेमा शंका छैन।’

उनका अनुसार चुनावी माहोल सिर्जना गर्न रास्वपाले चाँडै पोखरा महानगरसहित कास्कीका पालिकाहरूमा भेला तथा अधिवेशन गर्दै छ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दस दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले पनि तयारी थालेको छ। चुनाव अपरिहार्य भएकाले त्यसलाई सफल बनाउनुपर्छ भनेर आफूहरू तयारीमा जुटेको नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले बताए। ‘जेनजी आन्दोलनलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य सर्त हो’, उनले भने, ‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो अनि लोकतन्त्र सुदृढ गर्न चुनाव अनिवार्य हुनुपर्छ।’

उनले चुनावी रौनक सिर्जना गर्न आफ्नो पार्टीले निर्वाचन उपसमिति बनाएर अभियान थालेको बताए। त्यसअन्तर्गत कास्कीका पाँचवटा पालिकाका ७२ वटै वडामा मतदाता नामावलीमा नाम लेखाउने काम भइरहेको उनले जानकारी दिए। ‘कास्कीमा चुनावी वातावरण उत्साहजनक रूपमा अघि बढेको छ’, उनले थपे, ‘हामी चुनावमय बनाउँदै छौं।’

नेपाली कांग्रेस र नेकपा एमाले भने पर्ख र हेरको अवस्थामा छन्। केन्द्रीय समितिले गर्ने निर्णय र सरकारको कदमपछि मात्रै चुनावी वातावरण बन्ने उनीहरूको बुझाइ छ। कांग्रेस कास्की सभापति किशोरदत्त बराल चुनावी वातावरण नबनेकाले पार्टीले पनि गतिविधि सञ्चालन नगरेको बताउँछन् । ‘निर्वाचन हुनुपर्छ र हुन्छ’, उनले भने, ‘तर अहिले वातावरण बनिसकेको छैन । सरकारले चाँडै उपयुक्त वातावरण बनाउँछ भन्ने विश्वास छ।’

चुनाव भए कांग्रेस चुनाव लड्न तयार रहेको उनले बताए। त्यसका लागि सरकारले चुनावी वातावरण बनाउनुपर्ने उनको भनाइ छ। ‘जेनजी आन्दोलनमा भएको विध्वंसात्मक गतिविधि र हतियार लुटपाटले सुरक्षा निकाय र कर्मचारीको मनोबल गिरेको छ’, उनले भने, ‘त्यो गिरेको मनोबल राज्यले उकास्नुपर्छ अनि मात्र चुनावको वातावरण बन्छ।’

उनले लुटिएका हतियार निर्वाचनमा दुरुपयोग हुने खतरा भएको बताए। त्यसैले ती हतियारको खोजी राज्यले गर्नुपर्ने उनको भनाइ छ।

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य चुनावी वातावरण बनिसकेको बताउँछन्। चुनावी वातावरण नै नबनेकाले तयारी पनि सामान्यबाहेक नगरेको उनको भनाइ छ। चार कारणले चुनावको वातावरण नबनेको उनको भनाइ छ।

प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग संवाद गर्दिन भन्नु, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाहिर जान नदिनु, जेनजी आन्दोलनमा लुटिएका हतियार फिर्ता नल्याउनु र जेनजी अगुवा सुदन गुरुङले दलका नेता–कार्यकर्तालाई घरभित्र थुनेर भोट हाल्न नदिने र चुनावी परिणाम आफ्नो पक्षमा नआए स्वीकार नगर्ने भनेकाले वातावरण नबनेको उनले बताए।

 उनले भने, ‘तर पहिले त सरकारले वातावरण बनाउनुपर्‍यो। जेनजी आन्दोलनमा लुटिएका हतियार फिर्ता र फरार कैदीबन्दीलाई खोजेर भयरहित वातावरण बनाउनुपर्‍यो। प्रधानमन्त्रीले दलका नेताहरूसँग संवाद गर्नुपर्‍यो। जेनजी समूहले भयरहित चुनाव गराउन प्रतिबद्धता जनाएपछि मात्र चुनावको वातावरण बन्छ।’

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले चुनावी वातावरण बनिनसकेको बताइन्।

उनले भनिन्, ‘जेनजी आन्दोलनमा लुटिएका हतियार अझै पनि फिर्ता भइसकेका छैनन् अनि आपराधिक मुद्दा लागेका कैदीबन्दी जेलबाट भागेर लुकिरहेका छन्। हतियार र कैदीबन्दीका कारण समाज त्रसित छ। त्यसैले लुटिएका हतियार र फरार कैदीबन्दी फिर्ता ल्याएर सरकारले चुनावको वातावरण बनाउनुपर्छ।’

मत बदल्ने संकेत

कुनै बेला एमालेको गढ रहेको कास्कीमा उसको अवस्था पछिल्लो समय खस्कँदै गएको छ। एमाले कमजोर हुँदा कास्कीमा कांग्रेसले सामान्य सुधार गरे पनि अघिल्लो चुनावमा जनताले नयाँलाई नै मत दिए। घण्टी चिह्न लिएर चुनावमा भाग लिएको रास्वपालाई कास्केली जनताले मत दिए पनि जित्नका लागि पर्याप्त भएन। अघिल्लो चुनावमा कास्की क्षेत्री नम्बर २ मा झिनो अन्तरले हारेको रास्वपाले क्षेत्र नम्बर १ र ३ मा पनि सम्मानजनक मत पाएको थियो।

अघिल्लो पटक कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगाय गठबन्धन बनाएर चुनाव लडेका बेला पनि एमाले कास्कीका तीनवटै संघीय निर्वाचन क्षेत्र तथा प्रदेशतर्फ क्षेत्र नं १ का दुवै सिट क्षेत्र नं २ को एक सिट र क्षेत्र नम्बर ३ का दुवै सिटमा विजयी भएको थियो। प्रदेशसभातर्फ कांग्रेसले क्षेत्र नं २ को एक सिट मात्र जितेको थियो तर यसपटक त्यो विरासत जोगाउन एमालेलाई हम्मेहम्मे पर्ने देखिएको छ। त्यस्तै कांग्रेस र माओवादी केन्द्रलाई पनि आफ्नो मत जोगाउन मुस्किल हुने देखिएको छ।

२०७९ सालकै चुनावमा मत बदलेका कास्केली जनताले जेनजी आन्दोलनपछि पुराना दललाई भन्दा नयाँलाई परीक्षण गर्ने सोच बनाएको पाइन्छ। खासगरी गाउँभन्दा सहरका मतदाता मत बदल्ने तयारीमा छन्। जेनजी आन्दोलनले आँखा खोलिदिएको उनीहरू बताउँछन्।

नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल चुनाव भएमा पुराना दलहरू पराजित हुने अड्कल गर्छन्। ‘चुनावी रौनक पनि बन्दै छ अनि जनता पनि तयार छन्’, उनले भने, ‘वातावरण हेर्दा पुरानाभन्दा नयाँलाई जनताले आशा र विश्वासका साथ हेरिरहेका छन्।’

 उनले पुराना दलको विरासत आगामी चुनावले भत्काउने बताए। ‘पुरानो धङधङीले अब चल्ने देखिँदैन’, उनले भने, ‘मत बदल्ने मनस्थितिमा छन् जनता। नयाँलाई एकपटक हेरौं न त भन्ने देखिन्छ। यो स्वाभाविक पनि हो। नयाँलाई परीक्षण गर्न जनता हतारमा छन्।’

पर्यटन व्यवसायी तथा नागरिक अभियन्ता दामोदरभक्त थापा पुराना दलहरूबाट जनता आजित भएको बताउँछन्। पुराना दलहरू झोले बने, सत्ता र शक्तिमा गएपछि उनीहरूले आफू र आफ्नाबाहेक कोही पनि देखेनन्’, उनले भने, ‘यसलाई जेनजी आन्दोलनले नांगो रूपमा देखाएको छ। त्यसैले पुरानाबाट पार लाग्दैन भन्नेमा जनता देखिएका छन्। नेतृत्व नबदलेसम्म उम्मेदवार नयाँ आए पनि जनताले पुराना दललाई मत दिने अवस्था देखिँदैन।’

 उनले नयाँ पनि मिलेर नआउँदा दोधारको स्थिति भने देखापरेको बताए। ‘नयाँको घोषणापत्र र उनीहरूको एकतामा जितहार हुन्छ’, उनले भने।

पुराना दलका नेताहरू भने आफ्नो मत नघटेकोे दाबी गर्छन्। एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य आफ्नो पार्टीको विरासत कायमै रहने दाबी गर्छन्। उनले भने, ‘हामी पुरानै अवस्थामा छौं। हाम्रो मत यथावत् छ।’

कांग्रेस कास्कीका सभापति बराल पनि पार्टी कमजोर नबनेको दाबी गर्छन्। ‘कांग्रेस जित्ने अवस्थामा पुगेको छ’, उनले भने, ‘अन्य पार्टीको तुलनामा हामी मजबुत अवस्थामा छौं। त्यसैले अबको चुनाव जित्नेमा आशावादी छौं।’

माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछाने पहिलेभन्दा अहिले माओवादी थप बलियो भएको बताउँछन्। ‘हिजो हामी कमजोर थियौं’, उनले भने, ‘जेनजी आन्दोलनपछि ठुला दल कमजोर भएका छन्, जेनजीले हाम्रै अजेन्डा माओवादीले बोकेको रहेछ भन्ने पनि बुझ्न थालेका छन्। त्यसैले अबको चुनावमा नतिजा हाम्रो पक्षमा आउने विश्वास गरेका छौं।’

रास्वपा कास्कीका सचिव दीपेन्द्र पोखरेल आफ्नो पार्टीले कास्कीमा एकछत्र राज गर्ने दाबी गर्छन्। ‘अघिल्लो चुनावमा हाम्रो पार्टीका उम्मेदवारले राम्रो मत पाएका थिए’, उनले भने, ‘पहिले संगठन नहुँदा त त्यत्रो मत ल्यायौं, अहिले त संगठित सदस्य नै सयौं गुणा बढेको छ। वडा तहसम्म कमिटी बनेका छन्। त्यसैले चुनावी नतिजा हाम्रो पक्षमा पक्कै आउँछ।’

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष अधिकारीले चुनावी परिणम अहिल्यै आकलन गर्ने अवस्था नरहेको बताइन्। जेनजी आन्दोलन अप्रत्याशित थियो, उनले भनिन्, ‘त्यसपछि जनता कुन मुडमा छन् भन्न सकिन्न। अहिले नै आकलन गर्नु पनि हतार हुन्छ।’

भरोसायोग्य व्यक्तिको खोजी

आनन्दराज मुल्मी, व्यवसायी

आनन्दराज मुल्मी, व्यवसायी

विश्वास र भरोसायोग्य व्यक्तिको खोजीमा मतदाता छन्। चुनावमा अनुहार मात्र होइन, आचरणको पनि खोजी हुन्छ। पुरानाको सट्टा नयाँ खोजिन्छ तर नयाँ भन्दैमा पनि हुन्न। नयाँको पनि आचरण, व्यवहार र कार्यशैली हेरेर मत जाहेर हुने देखिन्छ। जसमा पुराना र नयाँ दुवै पार्टीका पर्न सक्छन् तर यसअघि परीक्षण भइसकेकाले भने मत नपाउने पक्का छ। घोषणापत्र हेरेरभन्दा पनि उम्मेदवारको पृष्ठभूमि, आनीबानी, भाषण र व्यवहारबिचको तादात्म्यता हेरेर मतदान गर्नुपर्छ।

भुमरीमा फस्ने खतरा छ

तीर्थ श्रेष्ठ, साहित्यकार

तीर्थ श्रेष्ठ, साहित्यकार

चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै छ। आशंका, भय र अनिश्चयको भुमरीबिच चुनाव भइहाले पनि समस्याबाट मुक्ति होलाजस्तो मलाई लाग्दैन। चुनावमा को नयाँ भन्ने छुट्याउन सकस हुने देखिन्छ। नयाँ अनुहार मात्र भएर भएन, सोच, व्यवहार, कार्यशैली, विचार र संकल्प पनि नयाँ हुनुपर्छ तर अहिलेसम्म कसैले त्यसतर्फ पाइला चालेको देखिँदैन। जनता भ्रमजाल र अनिश्चयको भुमरीमा फस्ने खतरा छ।

देश जेनजी अजेन्डामा जान्छ

विश्व सिग्देल, राजनीतिक विश्लेषक

विश्व सिग्देल, राजनीतिक विश्लेषक

पहिला चुनावमा कसलाई भोट हाल्ने भन्नेमा घरको अभिभावक निर्णायक हुन्थे। अघिल्लो चुनावबाट युवाको रोजाइमा मत हाल्ने ट्रेन्ड सुरु भयो। जेनजी आन्दोलनले त्यो ट्रेन्डलाई देशव्यापी बनाएको छ। जेनजी हस्तक्षेपकारी भूमिकामा पुगेका छन् तर दलहरुले पानीको फोका ठानिरहेका छन्। जेनजी माग भ्रष्टाचार अन्त्य, सुशासन कायम, संविधान संशोधन हो। पुराना दल परिस्कृत नभए देश जेनजी अजेन्डामा जान्छ।

जनता नयाँका पक्षमा छन्

शोभा गौतम, व्यवसायी

शोभा गौतम, व्यवसायी

पुराना नदोहोरिउन भन्नेमा जनता छन्। जेनजी पनि अलि परिपक्व नभएको महसुस जनताले गरेका छन्। त्यसैले जेनजीबाट पनि अलि विश्वासिला, भरोसायोग्य र सक्षम उम्मेदवार बन्नपर्छ, नयाँ भन्दैमा भएन, बुझेको हुनुपर्छ। जेनजी आन्दोलनपछि मुलुकमा सुशासन आउँछ, भ्रष्टाचार अन्त्य हुन्छ र कुशासनको अन्त्य हुन्छ भन्ने सोचिए पनि पछिल्ला गतिविधिले आशंका उत्पन्न हुन थालेको छ। जनता पुरानालाई मत दिने पक्षमाचाहिँ छैनन्।

पुराना दल सच्चिए मत जान सक्छ

विष्णुहरि अधिकारी, नागरिक अगुवा

विष्णुहरि अधिकारी, नागरिक अगुवा

जनता अन्योलमा छन्। पुराना दलहरुप्रति वितृष्णा छ। जेनजी आन्दोलनले अघिल्लो चुनावमा उदाएका दललाई पनि घाटा हुन्छ। पुराना दलहरू सच्चिएमा, उनीहरूले इमान्दार र नयाँ अनुहारलाई उम्मेदवार बनाए जनताले विश्वास गर्न सक्छन् तर पुरानै अनुहार लिएर पुराना दल आए जनताले विश्वास गर्दैनन्। जेनजीले बनाएका दलप्रति जेनजीको मत जाला तर पुराना दलले पनि जेनजीलाई उम्मेदवार बनाए जेनजीको मत पनि काटिन्छ।

प्रकाशित: ३० कार्तिक २०८२ ०६:१४ आइतबार