चर्चित मेडिकल अभियन्ता डा. गोविन्द केसी उदयपुरमा अनसन बस्ने तयारी गरेका छन्। यही १२ गतेदेखि अनसन बस्नका लागि डा. केसी आजै उदयपुर आउन लागेको बताइएको छ।
सदरमुकाम गाईघाटमा अनसन बस्ने तयारी गरेका डा. केसीका लागि स्थान छनोट गर्न समर्थकहरु लागिरहेका छन्। तर, अहिलेसम्म ठाउँ यकिन नभईसकेको केसीका स्थानीय प्रतिनिधि गौरीशंकर उदासले बताए। उनका अनुसार १२ गतेदेखि अनसन बस्नका लागि अनसनस्थल खोजि भईरहेको छ।
अनसन बस्ने ठाउँ खोजी भईरहे पनि अहिलेसम्म निर्क्योल भईनसकेको उदासले बताए। केसीकै रोजाईमा उपयुक्त स्थान बोक्सेस्थित राधाकृष्ण मन्दिर परिसरलाई सुरुवाती छनोट गरेको भए पनि मन्दिर व्यवस्थापन समितिले त्यहाँ अनुमति दिन नमानेको उदासले बताए।
वृद्ध शरिर, खराब मौसमको पूर्वानुमान सार्वजनिक भईसकेकाले सुरक्षित स्थानको खोजी भईरहेको उदासको भनाई छ। राधाकृष्ण मन्दिर परिसरमै बस्ने डा. केसीको इच्छा अनुसार आग्रह गर्दा मन्दिर व्यवस्थापन समिति र प्रशासनसँग कुरा नमिलेको उदासले बताए।
डा. केसीले त्यहीँ ठाउँ रोज्नु भएको थियो, त्यसैले मन्दिर व्यवस्थपनसमितिसँग आग्रह गर्यौँ उदासले भने धार्मिकस्थलमा राजनीतिक मागसहितको अनसन बस्नु उचित नहुने आशयको कुरा गर्दै प्रशासन र मन्दिर व्यवस्थापन समितिले मानेन। त्यसैले उपयुक्त ठाउँको खोजी भईरहेको छ।
प्रचारमा आए अनुसार बिहीबारदेखि अनसन बस्नका लागि डा. केसी आजै साँझसम्म गाईघाट आउने जानकारी पाएको बताउँदै उदासले बताए। तर, ठाउँको खोजी भईरहे पनि टुंगो नलागेकाले मिति सर्न सक्ने संभावना रहेको बताए। आजै ठाउँ यकिन भए भोलिदेखि नै अनसन बस्ने भन्नुभएको छ उनले भने।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अनसन बस्ने विषयमा आफुलाई कुनै जानकारी नभएको बताए। व्यक्तिगत वा सँस्थागत को कहाँ अनसन बस्ने कुराको जानकारी कार्यालयलाई प्राप्त नभएको सिडिओ शाहीले बताए।
देशमा रहेको चिकित्सा शिक्षाको सुधार र मेडिकल माफियातन्त्रको अन्त्यलगायत बिभिन्न स्वास्थ्यमसँग सम्बन्धित माग राख्दै डा. केसी यसअघि २४ औँ पटक अनसन बसिसकेका छन्। सुरुमा गत २०६९ (सन् २०१२)मा पहिलो अनसन बसेका डा. केसीका मागहरु पुरा गर्ने भन्दै सरकारले अनसन तोड्न लगाउने तर, पुरा नभएपछि फेरि अनसन बस्दै आएका छन्।
राजधानीदेखि बिभिन्न जिल्ला घुमेर फरक फरक ठाउँमा अनसन बस्दै आएका डा. केसी पछिल्लो पटक गत भदौ (जुलाई २०२६)मा अनसन बसेका थिए। कैलालीको धनगढीमा बसेको ७ दिन लामो अनसनपछि सरकारसँग ७ बुँदे सहमति भएर अनसन तोडेकोमा अहिलेसम्म ती माग पुरा नभएको भन्दै अर्को अनसन उदयपुरमा बस्न लागेको उनी निकटहरुले बताएका छन्।
प्रकाशित: ११ कार्तिक २०८३ १२:४९ बुधबार