राजनीति

जुम्लामा कांग्रेसमा असन्तोष: सभापति ललितजंग शाहीविरुद्ध बहुमत प्रतिनिधि

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह जिल्लामै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष सतहमा आएको छ।

जुम्लाका २६ महाधिवेशन प्रतिनिधिमध्ये १९ जनाले विशेष महाधिवेशनको माग गर्दै उपसभापति कार्मा बुढाको नेतृत्वमा बिहीबार काठमाडौंतर्फ प्रस्थान गरेका छन्। गाडी रिजर्भ गरेर राजधानी पुगेका प्रतिनिधिहरूले यसअघि नै विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गरिसकेका थिए।

जुम्ला प्रदेश (क) का सभापति लछिमान बोहोरा, प्रदेश (ख) का कार्यवाहक सभापति कालीबहादुर बुढा, जिल्ला कार्यसमिति सचिव अर्जुनसिंह कठायतलगायत टोली पनि राजधानी गएको छ।

उपसभापति बुढाका अनुसार जुम्लाबाट विशेष महाधिवेशनको पक्षमा स्पष्ट बहुमत देखिएको छ। “२६ मध्ये १९ जनाले हस्ताक्षर गरिसकेका छन्, त्यो नै जुम्ला कांग्रेसको वास्तविक धार हो,” उनले बताए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७–२८ मा विशेष महाधिवेशनको औपचारिक आह्वान गर्ने तयारी गरिरहँदा, जुम्लाबाट देखिएको कदमले केन्द्रीय नेतृत्वमा थप दबाब सिर्जना गरेको छ।

तर पार्टी नेतृत्वको निर्देशनअनुसार केन्द्रीय कार्यालयले मात्र विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भन्दै चेतावनीसहित विज्ञप्ति जारी गरेको छ। यसले पार्टीभित्रको द्वन्द्व अब औपचारिक टकरावतर्फ उन्मुख भएको संकेत गरेको छ।

सबैभन्दा रोचक पक्ष के हो भने जुम्ला सभापति शाहीको गृह जिल्ला हो। नियमित महाधिवेशनको पक्षमा सार्वजनिक अपिल गर्दै आएका शाही आफ्नै जिल्लाका नेता–कार्यकर्तालाई समेत मिलाउन नसकेको देखिन्छ।

शाहीलाई जुम्लामै राजनीतिक धक्का पनि भोग्नु परेको छ। २०७९ को प्रदेशसभा निर्वाचनमा जुम्ला प्रदेश ‘क’ बाट उम्मेदवार बनेका उनलाई कांग्रेसकै विद्रोही देवेन्द्रबहादुर शाहीले पराजित गरेका थिए। देवेन्द्र शाहीले ९,६५४ मत ल्याएर १,८९९ मतान्तरले जित निकालेका थिए। शाही भने ७,७५५ मतमा सीमित भएका थिए।

स्थानीय तहको चुनावमा पनि जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा धक्का लागेको थियो। ललितजंग शाही निकटका मेयर पदका प्रतिस्पर्धी पदमबहादुर शाही भए, तर स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले जितेका थिए।

शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काका विश्वासपात्र मानिने शाहीको राजनीतिक पकड कमजोर हुँदै गएको संकेत अहिलेको घटनाक्रमले दिएको छ।

गृह जिल्लामै नेतृत्वविरुद्ध बहुमत देखिनु केवल संगठनात्मक असफलता मात्र होइन, देउवा नेतृत्वप्रतिको असन्तोषको प्रत्यक्ष अभिव्यक्ति पनि हो। जुम्लाबाट सुरु भएको असन्तोष अब कर्णाली हुँदै केन्द्रीय राजनीतिमा ठूलो तरंग पैदा गर्नेछ भन्ने अनुमान गरिएको छ।

प्रकाशित: २४ पुस २०८२ २१:३७ बिहीबार