राजनीति

उदयपुरमा देउवा पक्षको समानान्तर समिति, बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय आयोजक समिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विवाद जिल्ला तहसम्म पुगेको छ। उदयपुरमा पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आइतबार भेला गर्दै समानान्तर अधिवेशन आयोजक समिति गठन गरेका छन्।

गाईघाटमा आयोजित भेलाले त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको हो। समितिले असोज १५ गतेदेखि वडा, स्थानीय तह, प्रदेश तथा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ।

भेलामा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वजिल्ला सभापति नारायण कार्की, जिम्मेवारी खोसिएका प्रदेश २ का क्षेत्रीय सभापति रामकुमार खत्रीलगायत नेता तथा कार्यकर्ता सहभागी थिए। आयोजक समिति संयोजक शिव कटुवालले आफूहरू ‘विशेष महाधिवेशन’को पक्षमा नभई नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने पक्षमा रहेको बताए।

संयोजक बस्नेतका अनुसार असोज १५ गते वडा, २० गते स्थानीय तह, २२ गते संघीय निर्वाचन क्षेत्र तथा प्रदेशस्तरीय अधिवेशन र कात्तिक २५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। मंसिर ४ गते सातवटै प्रदेश अधिवेशन तथा मंसिर २१ देखि २३ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने योजना रहेको उनले बताए।

उता कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले भने नियमित महाधिवेशनको पक्षमा सीमित कार्यकर्ता मात्रै रहेको टिप्पणी गरेका छन्। उनले गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले तय गरेको कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको बताए।

कांग्रेसको संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन, ७ गते स्थानीय तह तथा १० गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको छ।

प्रकाशित: ४ आश्विन २०८३ २०:५३ आइतबार