नेपाली कांग्रेस कास्कीका सभापती किशोरदत्त बरालले महाधिवेशनको बहसभन्दा नीति तथा कार्यक्रममा केन्द्रित हुन नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेसमा संस्थापन पक्ष नियमित महाधिवेशन हुनुपर्ने र त्यो महाधिवेशन चुनाव पछि गनुपर्नेमा उभिएको छ भने ईतर पक्ष चुनाव अघि नै विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठाईरहेको छ । संस्थापन र ईतर पक्ष आ–आफ्नै अडानमा रहिरहेका बेला देशभरका कार्यकर्ता पनि विभाजित छन् ।
यसैबीच कांग्रेस कास्कीका सभापति बरालले पनि मुख खोलेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले संस्थापन र ईतर दुबै पक्षले महाधिवेशन चुनाव अघि कि पछि भन्नेमा बहस गरिरहेकोप्रति प्रश्न गरेका छन् । दुबै पक्षको धारणा आगामी फागुनमा हुने चुनावमा जनताको विश्वास कसरी जित्ने भन्नेमा रहेको उनको ठम्याई छ । तर त्यतिले मात्रै जनताको विस्वास जित्न नसकिने उनले बताएका छन् । के केवल नयाँ अनुहार लिएर चुनावी मैदानमा उत्रिदामात्रै पनि जनताको विश्वास जित्न सकिन्छ भन्ने प्रश्न गर्दै उनले भनेका छन्,‘कि ती नयाँ अनुहारको हातमा हामीले के दिने ? के हामीसँग नया सोंच, नयाँ कार्ययोजना र नयाँ दृष्टिकोण पनि छ ? ।’
सभापति बरालले अझै पनि जादूको छडीजस्तै महाधिवेशनको हलभित्र फुत्त नीतिहरु निकाल्ने कल्पनामा त नेतृत्व छैन ? भनेर प्रश्न पनि उठाएका छन् । जनताको विश्वास केवल अनुहारबाट मात्र नभई दृष्टिकोण, योजना र परिणामबाट कमाईने भन्दै त्यसतर्फ लाग्न नेतृत्वलाई उनले ध्यानाकर्षण गराएका छन् । त्यसैले महाधिवेशन कहिले भन्दा पनि पहिले कांग्रेसले के नया दिनसक्छ भन्ने प्रश्नमा आत्ममन्थन गर्न नेतृत्वलाई उनले आग्रह गरेका छन् । कतिपटक चिच्याउने र कराउने हो ? उनले प्रश्नोत्तर शैलीमा भनेका छन्,‘अब त रुनमात्रै बाँकी छ । केन्द्रीय कार्य समितिले आगामी निर्वाचनका लागि आधिकारिक रुपमा नीत तथा कार्यक्रम माग गरोस् हामी त्यसका लागि सहयोग गर्न तयार छौं ।’
सभापति बराल गगन–विश्व समूहका हुन् । तर उनको व्यक्तिगत सम्बन्ध पूर्णबहादुर खड्कासँग पनि राम्रो भएकाले गगन–विश्व समूहमा खुल्न गाह्रो भएकाले मध्यमार्गी विचार राखेको हुनसक्ने कास्की कांग्रेसका एक पदाधिकारी बताउँछन् । ‘हुन त उहाँ गगन–विश्वको समूह हो’, ती पदाधिकारी भन्छन्,‘तर कार्यवाहक सभापति खड्कासँग पनि सम्बन्ध राम्रो भएकाले खुल्न नसकेका हुन् । बिस्तारै खुल्दै जालान् ।’
प्रकाशित: २१ कार्तिक २०८२ २०:२० शुक्रबार