राजनीति

नियमित महाधिवेशन पक्षधर कांग्रेसको उदयपुर अधिवेशन कात्तिक १९ गते

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले उदयपुरमा जिल्ला अधिवेशन कात्तिक १९ गते गर्ने भएको छ। देशभर कात्तिक १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने तय भए पनि प्राविधिक कारणले उदयपुरमा चार दिनपछि अधिवेशन गर्न लागिएको तयारी समिति संयोजक बसन्त बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार उदयपुरमा वडा अधिवेशनदेखि प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गतका अधिवेशनसम्मका प्रक्रिया पूरा भइसकेका छन्। प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गतका तीनवटै नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ। क्षेत्र नम्बर २ मा भने कटारी नगरपालिकाबाहेक उदयपुरगढी, रौतामाई, लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा अधिवेशन हुन बाँकी छ।

नियमित महाधिवेशन पक्षधर कांग्रेसले मंसिर २१, २२ र २३ गते राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसअघि कात्तिक २१ गते सातवटै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका रहेकाले सो मितिभन्दा अघि नै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने बस्नेतले बताए।

खोटाङमा कात्तिक १७ गते अधिवेशन

यसैबीच, खोटाङमा नियमित महाधिवेशन पक्षधर कांग्रेसको जिल्ला अधिवेशन कात्तिक १७ गते हुने भएको छ। जिल्ला संयोजक रोजन राईले बुधबार जारी गरेको सूचनाअनुसार कात्तिक १५ गतेका लागि तय भएको अधिवेशन विशेष कारणले दुई दिनपछि सारिएको हो।

सदरमुकाम दिक्तेल बजारमा हुने जिल्ला अधिवेशनअघि कात्तिक १४ गतेका लागि तय गरिएको प्रदेशसभा अधिवेशन पनि सोही दिन अर्थात् कात्तिक १७ गते गर्ने तयारी गरिएको छ।

जिल्ला तथा प्रदेशसभा अधिवेशनमा सहभागी हुन सम्बन्धित वडा, स्थानीय तह र निर्वाचन क्षेत्रबाट आएका प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थित हुन सूचनामार्फत आग्रह गरिएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ २१:१७ बुधबार