मुख्यमन्त्री बनिनसक्दै नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्रीको रूपमा बधाईको ओइरो लाग्न थालेको छ।
मेन्याङ्वो मुख्यमन्त्री भइसकेको भन्दै सामाजिक सञ्जालमा मेन्याङ्वोलाई बधाई दिनेको लर्को लागेको हो। संघीय राजधानी काठमाडौंमा रहेका मेन्याङ्वोले भने आफूलाई मुख्यमन्त्रीका लागि ‘ग्रीन सिग्नल’ प्राप्त भएको जानकारी दिए। ‘लगभग हुन्छ नै होला,’ मेन्याङ्वोले टेलिफोन सम्पर्कमा भने। उनले आफूले एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको आंशिक प्रतिक्रिया दिए।
हाल कोशी प्रदेशको मुख्यमन्त्री एमाले केन्द्रीय सचिव हिक्मतकुमार कार्की रहेका छन्। एमाले र नेकपाबिच प्रदेश सरकारको सत्ता समीकरणको विषयमा भएको सहमति अनुसार एमालेले कोशी प्रदेशसहित तीन प्रदेशको मुख्यमन्त्री पाउने छ। दुई प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी र बाँकी दुई प्रदेशमा अन्य दलसँग समेत सहकार्य गरी सत्ता सञ्चालनको मार्ग तय गर्ने दुई दलको सहमति छ।
नेकपा एमालेका केन्द्रीय सदस्य रहेका मेन्याङ्वो एमाले ताप्लेजुङका इञ्चार्ज समेत हुन्। उनी यसअघि एमालेका पोलिटब्युरो सदस्य थिए। कोशीका मुख्यमन्त्री कार्कीपछि एमालेका सबैभन्दा अगुवा नेताको रूपमा मेन्याङ्वो नै रहेका छन्।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित मेन्याङ्वोले यसअघि दुई पटकसम्म कोशी सरकारको खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालिइसकेका छन्। उनले केही समय कोशी सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।
नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति तथा कांग्रेसका प्रभावशाली नेता सूर्यमान गुरुङलाई पराजित गरी मेन्याङ्वो २०५६ सालमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। गुरुङ २०६४ सालको संविधान सभाको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनी नेपाल सरकारको मन्त्री समेत भए। हाल गुरुङको निधन भइसकेको छ।
२०७९ सालमा मेन्याङ्वोले नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा एसको साझा गठबन्धनका उम्मेदवार नेकपा एसका खेमबहादुर वनेमलाई पराजित गर्दै मेन्याङवो प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। मेन्याङ्वोले १२ हजार ७ सय ७२ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिष्पर्धी वनेमले ८ हजार ७ सय ३३ मत ल्याएका थिए।
एमालेका कुशल संगठक रहेका मेन्याङ्वोले जिल्ला तहमा सचिव कार्यकारी रहने प्रणाली हुँदा एमाले ताप्लेजुङको लामो समय नेतृत्व लिएका थिए। पछि अध्यक्षतात्मक प्रणाली सुरु भएपछि पनि मेन्याङ्वोले एमाले ताप्लेजुङको अध्यक्ष भएर काम गरे। २०६४ सालको संविधानको सभाको निर्वाचनमा भने मेन्याङ्वो तेस्रो स्थानमा मात्र रहे। २०५६ सालको निर्वाचनमा मेन्याङ्वोले पराजित गरेका गुरुङ संविधानसभा सदस्यमा निर्वाचित हुँदा तत्कालन नेकपा माओवादीका सुरेन्द्र कार्की(राम) निटकतम् प्रतिष्पर्धी हुँदा मेन्याङवो तेस्रो स्थानको मतमा सीमित भएका थिए।
प्रकाशित: १० श्रावण २०८३ १०:२३ आइतबार