ताप्लेजुङमा आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्।
राश्वपाको शनिबार बसेको बैठकले श्रेष्ठलाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउँदै आइतबार सिरिजङ्गा गाउँपालिकाको वडा नं १ सिनाम पञ्चमीमा उम्मेदवार घोषणा कार्यक्रम राखेको राश्वपाका जिल्ला उपसभापति दावा शेर्पाले जानकारी दिए। पञ्चमी बजार श्रेष्ठको पुर्ख्यौली गाउँ हो। त्यहीबाट राश्वपाले उम्मेदवारी घोषणा तथा निर्वाचन प्रचार कार्यक्रम सुरुवात गर्ने जनाएको छ।
ईञ्जिनियर पृष्ठभूमिका श्रेष्ठ जलविद्युत क्षेत्रमा दख्खल भएका व्यक्तिमा पर्छन्। पछिल्लो समय श्रेष्ठको पहिचान गायक तथा ईञ्जिनियरका नामले स्थापित भएको छ। गीत र संगितमा औधी रुची राख्ने श्रेष्ठले विभिन्न जलविद्युत परियोजनामा परियोजना व्यवस्थापक भएर जलविद्युत आयोजनाको सफल सम्पन्नताको भूमिका निर्वाह गरेका छन्। राश्वपामा आबद्धता अघि श्रेष्ठ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि थिए। कांग्रेसको महाधिवेशन प्रतिनिधि त्याग गरेर श्रेष्ठ राश्वपाको सक्रिय राजनीतिमा लागेका हुन्।
यसपटक प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिरिजङ्गा गाउँपालिकाका उम्मेदवार बढी हुने देखिएको छ। नेपाली कांग्रेसले सिरिजङ्गाको खेवाङ घर भएका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई उम्मेदवारको रूपमा अघि सारेको छ। नेपाली कम्युनिष्ट पार्टीबाट सिरिजङ्गाको पेदाङ घर भएका खेलप्रसाद बुढाक्षेत्री (पराग)लाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। श्रम संस्कृति पार्टीबाट सिरिजङ्गाको याम्फुदिनका सन्तोष राई उम्मेदवार बन्ने चर्चा छ।
नेकपा एमालेले पार्टी उप–महासचिव योगेशकुमार भट्टराई (मैवाखोला), पार्टी केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्वो (पाथीभरा याङवरक) र क्षितिज थेबे (सिरिजङ्गा) र भीमादेवी ओझा (फुङलिङ)लाई सिफारिस गरेपनि उम्मेदवारको टुङ्गो लाग्न भने बाँकी रहेको छ। अन्य पार्टीका उम्मेदवार टुङ्गिन बाँकी रहेको छ।
प्रकाशित: २७ पुस २०८२ ११:४७ आइतबार