नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले पोखरा–१७ छोरेपाटन माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको छ। अध्यक्ष पहारीले छोरेपाटन माविको स्वामित्वमा रहेको पोखराको चर्चित पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स)को भएको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै अखिल (क्रान्तिकारी)ले कालोमोसो दलेको हो।
भ्रष्टाचारविरोधी अभियान अन्तर्गत पहारीलाई कालोमोसो दलेर सांकेतिक कारबाही गरेको अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले जनाएको छ। अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश संयोजक राजन साउदले एक विज्ञप्ती जारी गरेर घटनाको जिम्मेवारी लिएको छ। विज्ञप्तिमा निजी कम्पनीलाई डेभिड फल्स सुम्पिने सम्झौता प्रक्रियामा संलग्न प्रधानाध्यापक डिल्लीराम शर्मालाई समेत तत्काल राजीनामा दिन आग्रह गरेको छ। ‘बेवास्ता गरे थप कारबाहीको चेतावनी दिइन्छ,’ विज्ञप्तlमा भनिएको छ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले विद्यालयको नाममा हुने भ्रष्टाचार, निजीकरण र माफियातन्त्रविरुद्ध जनकारबाही आवश्यक बनेको बताएको छ। उसले जनताको सम्पत्तिमा दाबी गर्ने तर निजी कम्पनीसँग साँठगाँठ गर्नेहरूलाई अब सजायको दिन सुरु भएको चेतावनी समेत दिएको छ।
विद्यालयको सार्वजनिक सम्पत्तिका रूपमा रहेको डेभिड फल्स विगत ४८ वर्षदेखि छोरेपाटन माविले संरक्षण र भोगचलन गर्दै आएको थियो। तर, हालै उक्त जग्गा पोखरा महानगरपालिकाले निजी कम्पनीलाई ठेक्कामा दिएपछि विवाद हुँदै आएको छ। विद्यार्थीको भविष्यसँग जोडिएको आयश्रोत गुम्ने खतरा देखिएको भन्दै अखिल (क्रान्तिकारी)ले विरोध गर्दै आएको छ।
प्रकाशित: २७ असार २०८२ १३:१९ शुक्रबार