नियमित महाधिवेशनपक्षधर नेपाली कांग्रेस उदयपुरको सभापतिमा बसन्त बस्नेत सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम गाईघाटमा आयोजित १५औँ जिल्ला अधिवेशनले त्रियुगा नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेतलाई निर्विरोध सभापति चयन गरेको हो।
गाईघाटस्थित वसुधारा पार्टी प्यालेसमा आयोजित अधिवेशनले दुई उपसभापतिमा राजेन्द्र पौडेल र भक्तबहादुर रानामगरलाई चयन गरेको छ। त्यसैगरी, दुई सचिवमा विष्णुप्रसाद कोइराला र टेकबहादुर दाहाल चयन भएका छन् भने सहसचिवमा क्षेत्रबहादुर कार्की सर्वसम्मत चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूको भने अझै टुङ्गो लागिनसकेको निर्वाचन समिति संयोजक अधिवक्ता शुकराम श्रेष्ठले बताए। सदस्य चयनका लागि निर्धारित कोटाभन्दा बढी संख्यामा आकांक्षीको उम्मेदवारी परेकाले सर्वसम्मत चयनका लागि प्रयास भइरहेको समितिले जनाएको छ।
अधिवेशनको बन्दसत्रले चुनावी प्रक्रिया नअपनाई सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्ने विषयमा छलफल जारी राखेको जनाएको छ। हालसम्म सभापति, उपसभापति, सचिव र सहसचिव सर्वसम्मत तथा निर्विरोध चयन भएका हुन्।
नियमित महाधिवेशनपक्षधर कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक डा. शशांक कोइरालाले उद्घाटन गरेको अधिवेशनमा उत्साहजनक सहभागिता रहेको दाबी गरिएको छ।
नवनिर्वाचित पदाधिकारीलाई संयोजक कोइरालाले बिहीबार साँझ आयोजित कार्यक्रममा निर्वाचन प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना दिएका थिए।
प्रकाशित: १९ कार्तिक २०८३ २१:२१ बिहीबार