राजनीति

बाँसको उपयोगिता माग्दै दिक्तेलका मेयरको 'सत्याग्रह'

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई सत्याग्रह बसेका छन् । खोटाङलाई बाँसको राजधानी बनाउने माग गर्दै सरकारको ध्यानाकर्षण गराउन मेयर भट्टराई केश खौरेर सत्याग्रह बसेका हुन्।

आइतबार सिंहदरबारको दक्षिण गेटमा  सत्याग्रह बस्न पुगेका भट्टराईलाई प्रहरीले माइतीघर ल्याएर छोडेको थियो। सत्याग्रह बस्न भट्टराई बाँसबाट निर्मित ओढ्ने ओछ्याउने, परालको गुन्द्री, भेडाको उनबाट निर्मित राडी, बाँसका अन्य विभिन्न सामग्री लिएर काठमाडौँ पुगेका थिए ।

बाँस सम्बन्धी नीति सहज र सरल बनाउँदै स्थानीय उत्पादन र खपत गर्ने व्यवस्था मिलाउन सरकारसँग पटक पटक आग्रह गरे पनि ध्यान नदिएपछि सत्याग्रह बस्न बाध्य भएको भट्टराईले बताए । ‘दिक्तेल रुपाकोट मझुवागढीले जताततै सर्वसुलभ पाइने बहु उपयोगी वनस्पति बाँसको उपयोगिताबारे सहज नीति निर्माण गरिदिन पटक पटक आग्रह गरेको थियो’ भट्टराईले भने ‘तर, सरकारले पटक्कै चासो दिएन । त्यसैले माग पुरा गराउन सत्याग्रह बस्न बाध्य भएँ ।’ 

मेयर भट्टराई ३ दिनसम्म सत्याग्रह बस्ने बताउँछन् । ३ दिनसम्म पनि माग पुरा गर्न सरकार अघि नबढे अनिश्चितकालीन आमरण अनसन बस्ने उनको योजना छ । ‘आजदेखि भोक हडताल थालेँ, अव ३ दिनसम्म सरकारको मुख हेर्छु’ नागरिकसँग भट्टराईले भने ‘त्यत्तिञ्जेलसम्म पनि बेवास्ता गरे १४ गतेदेखि आमरण अनसन बस्छु, तर कुनै हालतमा पछि हट्दिन ।’

नगर उपप्रमुख बिसन राईले बाँस र बाँसजन्य कच्चा पदार्थको सदुपयोग गर्दै नगरबासीलाई आयआर्जन गर्ने सहज वातावरण बनाइदिन सरकारसँग गरेको माग पुरा नभएकाले मेयर सत्याग्रह बसेको बताए । दिक्तेल रुपाकोट मझुवागढीले नगर सभाबाटै बाँसको राष्ट्रियकरण, उत्पादन, औद्योगीकरण र उपभोग गर्ने नीतिगत निर्णय गरेर त्यसलाई सरकारले आवश्यक नीति नियम बनाएर सहज वातावरण बनाइदिन ध्यानाकर्षण गराउँदै आएको उपमेयर राईले बताए ।

बाँसको प्रवर्द्धनकै लागि नगरपालिकाले सदरमुकाम दिक्तेलमा गत वर्ष फागुन १५ देखि १७ गतेसम्म ३ दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ पनि आयोजना गरेको थियो । साथै मेयर भट्टराई ०७९ को स्थानीय तह निर्वाचन जितेर आएदेखि नै बाँसको प्रवर्द्धनमा लाग्दै आएका छन् । उनले आफ्नो र उपमेयरको कार्यकक्षमा सम्पूर्ण फर्निचर र कार्यालय प्रयोजनका सामग्री बाँसबाट निर्मित प्रयोग गर्दै आएका छन् ।

मेयर र उपमेयरको कार्यालयमा टेबल, कुर्सीदेखि सोफासेट, टि–टेबल, लुगा झुन्ड्याउने आल्ना, ह्याङ्गर, कलमदानी, टेलिफोन बक्स, मोबाइल बक्स, किताब र्याक सबै बाँसबाटै निर्मित सामग्री प्रयोगमा ल्याइएको छ । आफुले प्रयोगमार्फत सिद्ध गरेको बहु उपयोगी बाँसको प्रवर्द्धन गरी नगरबासीलाई उद्यम व्यवसायमा लगाएर औद्योगीकरण, व्यवसायीकरण गरी रोजगारी सृजना तथा आयआर्जन गर्ने वातावरण सरकारले बनाइदिनुपर्ने माग भट्टराईको छ । 

त्यसका लागि नगर सभाको निर्णय, राष्ट्रिय सम्मेलनको निष्कर्षसहित माग गर्दा पनि बेवास्ता गरेकाले भोक हडताल बस्नुपरेको हो । बाँस स्थानीय स्तरमा सर्वसुलभ पाइने, नेपाली संस्कार संस्कृति र मानव जीवनको दिनचर्यासँग जोडिएकाले यसको सदुपयोग गर्न सरकारले उचित वातावरण बनाइदिनुपर्ने माग नगरपालिकाले अघि सारेको हो । 

नगरपालिकाले यसअघि नै कार्यकक्षमा बाँसका सामग्रीको प्रयोग, नगर सभाको निर्णय, राष्ट्रिय बाँस सम्मेलन गरेर यसको उपयोगिता र फाइदाबारे जानकारी गराउँदै सरकारसँग आफ्ना मागहरू पेश गरेको थियो । मेयर भट्टराईले  स्थानीयवासीको आर्थिक समृद्धिमा बाँस तथा बाँसजन्य कच्चा पदार्थको प्रयोग, औद्योगीकरण र व्यवसायीकरण गर्न सके धेरै फाइदा लिन सकिने भएकाले नगरपालिकाले यो माग अघि बढाएको उपमेयर राईले बताए । 

‘मेयर भट्टराई साउन ११ देखि दैनिक बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म ३ दिन भोक हडताल बस्नुहुनेछ’ उपमेयर राईले भने ‘तर, ३ दिनसम्म बस्दा पनि सरकारले माग सुनुवाइ नगरे१४ गतेदेखि आमरण अनशन बस्ने तयारी छ ।’

प्रकाशित: ११ श्रावण २०८२ १६:१९ आइतबार