ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पशुपालकलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट रहेको छ । याक प्रवर्द्धन कार्यक्रममा सहभागी हुन छनौट भएका लाभग्राहीले २५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने पालिकाले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश तथा स्थानीय तहमा सर्शत वित्तीय हस्तान्तरण भएको रकमबाट पशुपंक्षि तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्वन्धी कार्यविधि २०८१ अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ ।
पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालका अनुसार कार्यक्रममा सहभागी हुन चाहने याक पालकहरुले मिति २०८२ साल वैशाख २८ गतेका मितिले १५ दिनभित्र पालिकामा आवेदन गर्नुपर्ने हुन्छ । कृषक, कृषक समूह, समिति, सहकारी, संघसंस्था, कम्पनी फर्म वा निजी उद्यमीले आवेदन दिनसक्ने पालिकाले जनाएको छ । आवेदकले संक्षिप्त कार्ययोजना,नेपाली नागरिकताको प्रतिलिपि सहित आवेदन दिनुपर्ने पालिकाले जनाएकको छ ।
सहकारी, कृषक समूह र संघसंस्थाहरुको हकमा पालिकामा दर्ता तथा नवीकरण भएको हुनुपर्ने, स्थायी लेखा नम्बर र करचुक्ता भएको हुनुपर्ने समेत पालिकाले जनाएको छ । ताप्लेजुङको हिमाली क्षेत्रमा याक तथा चौंरी पालनको राम्रो सम्भावना रहेको छ । सोहि अवस्थाका आधारमा याक पालकलाई सहयोग पुग्नेगरी पालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
प्रकाशित: २९ वैशाख २०८२ १६:५७ सोमबार