राजनीति

जुम्लाको भैँसेडीमा पक्की पुल निर्माण, आवागमन सहज

नेपाली भाषाको उद्गम स्थल सिँजाको कनकासुन्दरी मन्दिर जाने भैँसेडीमा पक्की पुल निर्माण भएसँगै स्थानीयलाई आवागमनमा सहज भएको छ।

पुल निर्माणपछि सिँजा गाउँपालिका र गुठीचौर गाउँपालिका जोडिनुका साथै अब कनकासुन्दरी मन्दिरसम्म सिधा सवारी आवतजावत सम्भव भएको हो।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहका अनुसार २०७९ असार २९ गते सम्झौता भएको ३० मिटर लम्बाइको कनकासुन्दरी भैँसेडी पुल ४ करोड ३२ लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो। पुल निर्माणपछि स्थानीयले जुम्ला सदरमुकाम आउजाउ गर्न सहज भएको बताएका छन्।

स्थानीय सडक पुल एकाइका प्राविधिक तथा सामाजिक सुरक्षा अधिकारी परमानन्द चौधरीका अनुसार गुठीचौर गाउँपालिकालाई जोड्ने अर्को पक्की पुलसमेत सम्पन्न भइसकेको छ।

२५ मिटर लम्बाइको सो पुल ३ करोड ७६ लाख ३५ हजार २९७ रुपैयाँको लागतमा निर्माण गरिएको हो। हाल ९८ प्रतिशत काम सकिएको र चाँडै सञ्चालनमा आउने तयारी भइरहेको अधिकारी चौधरीले जानकारी दिए।

कनकासुन्दरी जोड्ने पुल निर्माणपछि चार वटा वडाका गाउँहरू प्रत्यक्ष लाभान्वित भएका छन्। वडाध्यक्ष धनमानसिंह हमालका अनुसार साहुबाडा, धोबीघाट, चौकी, मुसेधान्नी, तली लेकपोर, माझगाउँ लेकपोर, कोट लगायतका क्षेत्रका बासिन्दाले अब जुम्ला सदरमुकाम आउन सहज भएको छ। यो मार्ग जुम्लासँगै मुगु पुग्ने छोटो बाटो पनि बनेको छ।

पूर्वाधार विकास कार्यालयका अनुसार जुम्लाका चार वटा पुल अहिले टेन्डर प्रक्रियामा रहेका छन्।

  • पातारासी गाउँपालिकाको लुम पुल : ४० मिटर लम्बाइको सो पुल ५ करोड ६४ लाख ४ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। यस वर्षका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
  • कनकासुन्दरी गाउँपालिकाको न्याउरीगाड पुल : २५ मिटर लम्बाइको यो पुल ५ करोड ४५ लाख ८६ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको छ।
  • हिमा गाउँपालिकाको मोफ्ला जोड्ने बेलिब्रिज पुल : यस पुलका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ।
  • उमगाड बेलिब्रिज पुल : टेन्डर प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।

लुम र न्याउरीगाड पुलको निर्माण एमएस–एनएस–एमएनएस–एमसी जेभी कम्पनीले जिम्मा लिएको छ। पूर्वाधार कार्यालय प्रमुख सिंहका अनुसार यी सबै पुल निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउने योजना रहेको छ।

प्रकाशित: १५ फाल्गुन २०८१ २०:५५ बिहीबार