नेपाली कांग्रेसका नेता तथा उदयपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले एउटै मञ्चमा फरक मत राखेका छन्। उदयपुर सदरमुकाम गाईघाटनजिकै त्रियुगा नगरपालिका १ र २ बीच जोगीदहमा प्रस्तावित ‘सगरमाथा विमानस्थल’को विषयमा उनीहरूको फरक मत आएको हो।
विमानस्थल निरीक्षण गर्न आएका मन्त्री पाण्डे र सँगै रहेका सांसद खड्काले एयरपोर्टमै आयोजित कार्यक्रममा फरक मत राखे। मन्त्रीसँगै रहेका डा. खड्काले विमानस्थल बनाउन बजेट नदिए जनता मन्त्रालय लगेर घेराउ गर्ने चेतावनीसमेत दिए। पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका सांसद खड्काले प्रस्तावित विमानस्थल निर्माण कार्य लामो समयदेखि अड्किएको भन्दै अव पनि अघि नबढे जनता उतारेर नागरिक उडेन मन्त्रालय घेराउ गर्न बाध्य हुने चेतावनी उनको थियो।
मन्त्री पाण्डेकै अगाडि खड्काले मन्त्रालयको हेलचेत्र्mयाइले नै विमानस्थल निर्माण कार्य सुरु नभएको निष्कर्ष निकाल्दै तत्काल काम सुरु नभए चुप लागेर नबस्ने बताए। ‘अझै यस्तै हेलचेत्र्mयाईँ गरिरहने हो भने स्थानीय बासी मन्त्रालयमै लगेर घेराउ गर्न बाध्य हुनेछु’ डा. खड्काको चेतावनी थियो ‘उदयपुरमा विमानस्थल बनाउने कुरा वर्षौँदेखि ‘कथा’ भइरहेको भन्दै यसलाई वास्तविक बनाउन पनि मन्त्रालयले तत्काल बजेट निकासा गर्नुपर्छ।’
सबै प्रक्रिया पुरा भइसक्दा पनि काम अघि नबढाएकोमा सरकारको लापरबाही भएको डा. खड्काको गुनासो थियो। करोडौँ मूल्य बराबरको रुख काटेर विमानस्थल बनाउने प्रक्रिया सबै पुरा भइसक्दा पनि छुटाइएको रकमसमेत काम गर्न नदिएर ‘फ्रिज’ गराएको आरोप उनको थियो । ‘यस्तो हुँदासम्म कसरी चुप लागेर बस्ने?’ खड्काले भने ‘जनतालाई लिएर मन्त्रालय घेर्न बाध्य हुन्छु, अब चाहिँ अति नै भइसक्यो।’
प्रस्तावित सगरमाथा विमानस्थल बनाउन जोगीदहमा १ सय ५३ हेक्टर क्षेत्रफल वनको रुख दुई वर्षअघि नै ढालेर काठ लिलाम विक्री प्रक्रिया सकिइसकेको छ। वर्ष दिनअघि नै रुख काटेर विक्री वितरण गरिसके पनि विमानस्थलको निर्माण कार्य अघि बढ्न सकेको छैन।
खड्काले विमानस्थल निर्माणको काम पूरा गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको पनि बताए। उनले विगत एक दशकयता उदयपुरमा विमानस्थल बनाउने बचन जनतालाई दिएको स्मरण गर्दै यसका लागि आफू दिनरात नभनी लागिरहेको तर, काम अघि नबढेको बताए।
मन्त्री खड्कापछि बोल्ने पालो पाएका मन्त्री पाण्डेले विमानस्थल निर्माण कार्य तत्काल नहुने स्पष्ट पारे। उनले आवश्यक बजेट अभावका कारण विमानस्थलको काम तत्काल सुरु गर्न नसकिने आशय व्यक्त गरेका थिए। सरकारसँग हाल पर्याप्त बजेट नभएको भन्दै बजेट अभावकै कारण धेरै विकास निर्माणका कामहरू रोकिएको अवस्थामा सगरमाथा विमानस्थलको काम गर्ने बजेटकै अभावले रोकिन पुगेको मन्त्री पाण्डेको स्वीकारोक्ति थियो।
चाहँदा चाहँदै पनि विमानस्थल बनाउने बजेट व्यवस्था गर्न नसकेको भन्दै उनले देशभरका ठूला योजनाहरूको भईसकेको कामको भुक्तानी गर्नसमेत बजेट अभाव रहेको अवस्थामा नयाँ कामका लागि बजेट व्यवस्था गर्न नसकिने पाण्डेको स्पष्टोक्ति थियो।
उनले विमानस्थल बनाउने सबै प्रक्रिया पुरा हुने क्रममा रहेको तर, मुख्य कुरा बजेटमै गएर रोकिएको उनले बताए। तर, ढिलो चाँडो विमानस्थल भने निर्माण भएरै छाड्ने पनि उनले बताए। पटक पटक अर्थ मन्त्रालयसँग बजेट माग्दा पनि रकम अभावकै कारण देखाउँदै अर्थले पैसा नदिएका कारण तत्काल विमानस्थलको काम अघि बढ्न नसक्ने उनले बताए।
सरकारसँग बजेट नभएकाले आवश्यक स्रोत जुटाउन तीनवटैतहका सरकार र स्थानीयलाई पनि आग्रह गर्न लागेको उनले बताए। सङ्घीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम रोकिएको हुनाले सामूहिक लगानीमा निर्माण गर्ने गरी स्थानीय सरकार, स्थानीय बासी र प्रदेश सरकारसँग पनि छलफल चलाउने तयारी भइरहेको पनि उनले खुलाए।
‘विमानस्थल निर्माण सहयोग समिति उदयपुर’द्वारा आयोजित कार्यक्रममा मन्त्री पाण्डेको कुरा सुनेपछि उपस्थित सहभागीहरू निराश देखिएका थिए। अव भने विमानस्थल बन्ने भयो भन्ने अपेक्षा बोकेका सर्वसाधारणहरू मन्त्री पाण्डेको कुराले सगरमाथा विमानस्थल बनाउने कुरा ‘एकादेशको कथा’मै सीमित हुने हो कि भन्ने आशङ्का गर्न बाध्य भएका छन्।
१० महिनाअघि अर्थात गएको माघ २५ गते विमानस्थल निरीक्षण गर्न आएका तत्कालीन पर्यटन मन्त्री सुदन किरातीले कार्यक्रम स्थलबाटै नागरिक उडेन प्राधिकरणका महानिर्देशकलाई फोन गरेर तत्काल बजेट व्यवस्था गरी काम अघि बढाउन निर्देशन दिएका थिए।
प्रकाशित: २ पुस २०८१ १८:४० मंगलबार