राजनीति

गण्डकीमा शनिबार सभामुख चयन गरिने, माओवादीबाट कृष्ण धितालकाे उम्मेदवारी

गण्डकी प्रदेश सभाको सभामुख शनिबार चयन हुने भएको छ। सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो।

प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन्।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ। सत्ता गठबन्धनको पक्षमा बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार सभामुख हुने निश्चितजस्तै छ। माओवादीले सभामुखमा कृष्ण धिताललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। पार्टीको संसदीय दलको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ। सत्तापक्षको बहुमत भएकाले कांग्रेसबाट सभामुखको उम्मेदवार बन्न कसैलेपनि आकांक्षा देखाएका छैनन्। श्रोत भन्छ,'अब संसदीय दलको नेताले कसैलाई उम्मेदवार तोकेर नभनेसम्म कोहिपनि उम्मेदवार हुन चाहेको देखिदैन।’ कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे भने शनिबार विहान सम्ममा उम्मेदवार टुंगो लाग्ने बताउँछन्। 'हामी छलफलमै छौं। शनिबार विहानसम्ममा उम्मेदवार टुंगो लगाउँछौं’–उनले भने।

प्रकाशित: २९ पुस २०७९ ११:४५ शुक्रबार

गण्डकी प्रदेश सभा