बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि माइतीघरमा विरोध प्रदर्शन भएको छ।
बालिकाको हत्या र बन्द कोठामा सरकारले पीडित पक्षसँग गरेको सहमतिको विरोधमा अधिकारकर्मीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले बालबालिकासहित माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध र्याली गरेका हुन्। उनीहरुले ‘गरिमालाई न्याय दे’, ‘बलात्कारी र हत्यारालाई फाँसीको सजाय देऊ’, ‘कानुन बलियो बनाऊ, बालिका सुरक्षित बनाऊ’,‘ सरकार जाग’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
गत आइतबार बिहान गरिमा घर आँगनमै खेल्ने क्रममा अचानक बेपत्ता भएकी थिइन्। बेपत्ता भएको दुई दिनपछि मंगलबार साँझ घरभन्दा करिब दुई सय मिटर पर रहेको एउटा खाली घरभित्र कपडामा पोको पारेर फालिएको अवस्थामा बालिकाको शव फेला परेको थियो।
प्रहरीले बालिकाको बलात्कारपछि हत्या गरिएको पुष्टि गरिसकेको छ। घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ ११:४९ शुक्रबार