अन्य

नारायणगोपाल क्रस कन्ट्री विजेता

धरान- नेपाल नम्बर २ साइक्लिस्ट काठमाडौंका नारायणगोपाल महर्जनले आइतबार शो डाउन धरान २०१५ अर्न्तगतको मुख्य स्पर्धा क्रस कन्ट्री इलिट च्याम्पियनसिपको उपाधि जितेका छन्। विजयपुर क्षेत्रमा सम्पन्न ५.६ किलोमिटरको प्रतिस्पर्धा १ घन्टा ३७ मिनेट ६ सेकेण्डमा पूरा गर्दै २९ वर्षे महर्जन च्याम्पियन बने। पाँच ल्यापको प्रतिस्पर्धामा चौथो ल्यापसम्म नेपाल नम्बर १ साइक्लिस्ट अजय पण्डितसँग पछि परेका मर्हजनले अन्तिम ल्यापमा रोमाञ्चक जित हात पारे। पण्डितले भने १ घन्टा ३८ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हासिल गरे।यसैगरी १ घन्टा ३८ मिनेट ४३ सेकेण्डमा दुरी पार गर्दै बुद्धिबहादुर तामाङ तेस्रो भए भने २ घन्टा २ मिनेट ४ सेकेण्डको टाइमिङका साथ राजन भण्डारी चौथो भए। त्यस्तै २ घन्टा २ मिनेट ५ सेकेण्डमा दुरी पार गर्दै जेभी लिम्बु पाँचौ भए। विजेता महर्जनले नगद ४० हजार पाए भने उपविजेता पण्डितले २० हजार, तेस्रो स्थान हासिल गर्ने बुद्धिबहादुरले १० हजार रुपैयाँ हासिल गरे। प्रतिस्पर्धामा कुल ११ खेलाडीको सहभागिता थियो।

'चाढै राष्ट्रिय च्याम्पियनसिप र कुरिनटारमा अर्को छुट्टै प्रतियोगिता हुदैछ। यो उपाधिले हौसला बढेको छ। आगामी दिनमा अझ राम्रो गर्ने आश गरेको छु,' उनले भने, 'वार्मअप नपुग्दा तेस्रो ल्यापसम्म पछि परेँ। तर चौथो ल्यापमा अजयलाई भेटेपछि आशा बढ्यो।'

महर्जनले यसअघि २०१२ मा धरानमा सम्पन्न एमटिबी जोन क्रसकन्ट्री च्याम्पियनसिपमा पनि पण्डितलाई पछि पार्दै उपाधि जितेका थिए।

यसैगरी क्रसकन्ट्री खुला विधातर्फ ३.५ किलोमिटर दुरी ३९ मिनेट ४३ सकेन्डमा पार गर्दै हेमराज केसी पहिलो भए भने ४० मिनेट ४५ सकेन्ड लगाएका टप राई दोस्रो तथा ४३ मिनेट ४७ सेकेन्डमा दुरी पार गरेका अनोज पराजुली तेस्रो भए। यो स्पर्धामा १९ जना खेलाडीहरु सहभागी थिए।

महिलातर्फ ३.५ किलोमिटरको दुरी ३१ मिनेट ५० सेकेन्डमा पार गर्दै लक्ष्मी मगर पहिलो भइन्। ३५ मिनेट ३७ सेकेन्डको समय लगाएका निश्मा श्रेष्ठ दोस्रो र ४३ मिनेट ४ सेकेन्डको टाइमिङका साथ सारिया साटो बज्राचार्य तेस्रो भइन। जुनियरतर्फको स्पर्धामा ३.५ किलोमिटरको निर्धारित दुरी २७ मिनेट ४७ सेकेन्डमा पार गर्दै प्राचित थापा मगर पहिलो हुँदा २७ मिनेट ५१ सेकेन्ड लगाएका जिग्मे तेञ्जिङ दोस्रो तथा २७ मिनेट ५१ सेकेन्डको टाइमिङका साथ किरण राई तेस्रो भए।

विजेताहरुलाई आयोजक समितिका संयोजक एवं ग्रिन ह्विल्स धरानका प्रमुख हेम लिम्बू, कोशी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानबिक्रम शाह, रेस डाइरेक्टर श्याम लिम्बू, समाजसेवी इन्दीरा राना मगरलगायतले पुरस्कृत गरे।

प्रकाशित: २७ पुस २०७१ २२:४९ आइतबार