अन्य

'कल बाइपास' मा बंगलादेशी पक्राउ

निजगढ- वीरगन्जमा बसेर 'अन्तर्राष्ट्रिय टेलिफोन कल' बाइपास गर्ने अड्डा सञ्चालन गर्दै आएका एक बंगलादेशीलाई प्रहरीले पक्राउ गरेको छ। बंगलादेशको मनिपुर कबिलाबजारका ३३ वर्षे मोहमद सोहेल कबिर वीरगन्ज-१२ पानगल्लीस्थित एक घरबाट कल बाइपासका उपकरणसहित रंगेहात फेला परेका हुन्।उनले स्थानीय मकबुल अहमदको घर भाडामा लिई अवैध 'भिओइपी' (भ्वाइस ओभर इन्टरनेट पोर्टोकल) सञ्चालन गर्दै आएका थिए। बिहीबार दिउँसो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गोप्य सूचनाका आधारमा उक्त घरमा छापा मारेको थियो। शुक्रबार जिल्ला अदालतमा पेस गरिएका कबिरले डेढ महिनादेखि वीरगन्जमा विदेशी कल बाइपास 'भिओइपी' सञ्चालन गर्दै आएको र यसका लागि बंगलादेशमै तालिम लिएको उनले बताएका छन्। अवैध 'भिओइपी' सञ्चालनमा संगठित गिरोह नै संलग्न रहेको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले उक्त घरबाट विदेशी कल भिœयाउन प्रयोग गरिएका २ सय पोर्टका ६ थान गेट्वे उपकरण, ३ थान राउटर, ३ वटा ल्यापटप बरामद गरेको छ। एनसेल र नेपाल टेलिकमका गरी ९५ थान सिम पनि बरामद भएकाले प्रहरीले नम्बर जारी भएका व्यक्तिको खोजी थालेको छ। टेलिकमका ४५ र एनसेलको ३ सय ७० गरी ४ सय १५ थान विभिन्न दरका रिचार्जकार्ड, पाँच थान मोबाइल, दुई थान डाटाकार्ड, विद्युतीय उपकरण, डायरी, कबिरको बंगलादेशी राहदानीलगायत सामान पनि बरामद भएको प्रहरीले जनायो।

'अनुसन्धानसँगै तथ्य खुल्दै जानेछन्, अदालतबाट अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको छ,' प्रहरी नायब उपरीक्षक यादवबहादुर घर्तीले भने। प्रहरीले शुक्रबार जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थपी अनुसन्धान गरिरहेको छ। तत्काल 'दूरसञ्चार ऐन' अनुसार मुद्दा चलाइए पनि अनुसन्धानका क्रममा संलग्नको संख्या बढ्न सक्ने र संगठित अपराधअन्तर्गत मुद्दा चलाउनुपर्ने आधार देखिएको अनुसन्धानमा सामेल प्रहरीले बताएका छन्। दुई वा सोभन्दा बढी व्यक्तिको संलग्नता र २ वर्षभन्दा माथि कैद हुने प्रकृतिको अपराध भएमा संगठित अपराध निवारण ऐन २०७० प्रभावित हुने गरेको छ।

प्रकाशित: १८ पुस २०७१ २१:५२ शुक्रबार