अन्य

'आफ्नो कुरै सुन्दैनन्'

काठमाडौं सिनामंगल बस्ने २४ वर्षीया द्रोणालाई पोहोरदेखि नै विवाहका लागि घरबाट दबाब आइरहेको छ। एलएलबी पढ्दै गरेकी उनले एलएलएम सकेर कानुनी क्षेत्रमै लाग्ने सोच बनाएकी छिन्। आफ्नो इच्छाबारे उनी पटक–पटक सम्झाउँछिन्, तर अभिभावकले उनको कुरै सुन्दैनन्।

 उनलाई थाहा छ- आफ्नो कारण परिवारलाई पनि चिन्ता छ। 'फोनमा कतै न कतै बिहेकै कुरा जोडिहाल्नुहुन्छ,' उनले भनिन्, 'आफ्नो कारण आमाबुबालाई कुनै हैरानी नहोस् भन्ने चाहन्छु तर दिनदिनै विवाहको कचकचले आफैंलाई मानसिक तनाव भइरहेको छ।'

गाउँघरमा अझै पनि छोरीलाई थाहै नदिई विवाह गरिदिने परम्परा कायम छ। पढाइ सकेर आफ्नो करिअर निर्माण गरेपछि मात्रै विवाह गर्ने योजना बनाए पनि धेरै छोरीहरूका हकका यो लागू हुँदैन। अभिभावकबाट आइरहने बिहेका कुराले उनीहरूको पढाइमा असर त पर्छ नै मानसिक बेचैनीले बाध्यतापूर्ण विवाह गर्नुपर्ने अवस्थामा उनीहरू गुज्रन्छन्।

द्रोणालाई अहिले नै भित्रैबाट बिहे गर्ने मन छैन। 'बिहे गरिहाले सामाजिक रूपमा सुरक्षित भइन्छ, ३० वर्षअघि नै बच्चा जन्माए घरव्यवहारमा समस्या आउँदैन' भनेर बुबा सम्झाउनुहुन्छ तर म पहिले आफू परिपक्व हुन चाहन्छु,' उनी भन्छिन्।

समाजशास्त्री टीकाराम गौतमका अनुसार हाम्रो समाजले छोराछोरीको विवाह गरिदिने दायित्व बाबुआमालाई सुम्पेको हुन्छ। 'छोरा घरमै बस्ने र छोरी अर्काको घरमा जानुपर्ने जुन संस्कार छ, उमेर बढ्दै जाँदा छोरीको बिहे नहुने हो कि भन्ने मानसिकताबाट ग्रस्त भएपछि छोरीमाथि दबाब बढी आउने गरेको हो,' उनले भने।

पढाइ चलिरहेकै बेला बाबुआमाले बिहेको कुरामा दबाब दिए पनि उनीहरूले विकल्प देखाउन नसक्दा धेरै समस्या आउँछ। उमेर, शिक्षा, सामाजिक मूल्य–मान्यताका हिसाबले परिपक्व बन्न छोरीलाई नै निर्णय गर्न दिनुपर्ने गौतम बताउँछन्। उनी अभिभावकका लागि सुझाव दिन्छन्, 'बिहेको कारण, बिहेपछिको जिम्मेवारी, सामाजिक र व्यवहारिक अवस्था आदिबारे विकल्प दिन सक्नुपर्छ।'

द्रोणाकै कुरा गर्ने हो भने उनका दाजुले अहिलेसम्म बिहे गरेका छैनन्। अभिभावकबाट उनले बिहेका लागि कुनै दबाब खेप्नुपरेको छैन। 'समझदार र इमानदार मान्छेसँग बिहे गर्नुपर्छ भन्ने मलाई पनि थाहा छ तर उहाँहरूको कुराले मनमा अनेक कुरा खेलिरहन्छ। पढ्न पनि उतिसारे मन लाग्दैन,' उनी प्रश्न गर्छिन्, 'तर छोरीमाथि नै किन विश्वास हुन नसकेको?'

गुल्मी दिब्रुङकी जमुना गलामी १२ कक्षामा पढ्दै थिइन्। सदरमुकाम पढ्दै गरेकी उनी बिदामा घर पुगिन्। बेलुकी ९ बजे सुतेकी उनलाई राति ११ बजेतिर आमाले उठाउँदा छक्क परिन्। थाहा भयो– फुपूले विवाहका लागि प्रस्तावसहित केटा लिएर आएकी रहिछन्। त्यतिमात्रै होइन कुरो नै छिनिइसकेछ। १८ वर्षे जमुनाले प्रतिवाद गरिन्, 'म पढिरहेको छु। केही वर्षपछि मात्रै बिहे गर्छु।'

तर उनको कुरा कसले सुन्ने। बरु आमासमेत लागेेर 'ढिलो गर्नुहुन्न' भन्दै दबाब दिइरहे। उनी बिहे गर्न बाध्य भइन्।

आठ वर्षअघि असहमतिमै भएको बिहेपछि उनले पढाइलाई निरन्तरता दिन सकिनन्। भरखरैदेखि स्कुल जान थालेकी छोरीलाई आफ्नै साटो चाहेजति पढाउने उनको इच्छा छ। 'म बिएसम्म पढ्न चाहन्थेँ। बुबा भारतमा हुनुहुन्थ्यो, आमाले रोकेको भए पढ्न पाउँथेँ,' उनले विगत सुनाइन्, 'आखिर आमाको दबाबमै छिटो विवाह गर्न बाध्य भएँ।' उनकी बहिनीको पनि यसरी नै असहमतिमै तीन वर्षअघि विवाह भयो। जति बेला उनी आठमा पढ्दै थिइन्।

समाजका संकुचित मूल्यमान्यता बिस्तारै फराकिलो बनिरहेका छन्। विज्ञान र प्रविधिको विकाससँगै खुल्लापन भित्रिरहेको छ। तर अझै पनि छोरीलाई अर्काको हातमा सुम्पेपछि सुरक्षित हुन्छन् भन्ने सोचका कारण कम उमेरमै बिहे गराइदिने मनस्थितिबाट बाबुआमा मुक्त हुन सकेका छैनन्।

दबाबका कारण हुने मनोवैज्ञानिक हिंसा नाप्न निक्कै गाह्रो हुने बताउँछिन्, अर्थशास्त्री मीना आचार्य। 'महिलाको अस्तित्वलाई स्वीकार नगरेका कारण यस्तो समस्या आएको हो,' उनी भन्छिन्, 'समाजले छोरीलाई कमजोर सोच्ने परम्पराका कारण दबाबमै विवाह गर्न उनीहरू बाध्य छन्।'

शिक्षित र सक्षम छोरीले बाबुआमालाई सम्झाएर आफ्नोबारेमा निर्णय लिन झुक्नु नहुने आचार्य बताउँछिन्। 'वर्षौंदेखिको परम्परागत, सांस्कृतिक सोचमा परिवर्तन गर्न समय लाग्ला,' उनले भनिन्, 'प्रत्येक छोरीले विवाहको निर्णयसँगै दाइजोविरुद्ध आवाज उठाउन पनि आवश्यक छ।'

दबाबपछि थप समस्या
विवाह कुनै पनि युवा र युवतीबीच पति–पत्नीको सम्बन्ध स्थापित गराउने सांस्कृतिक कार्य हो। यसमा दुईबीचको समझदारीपूर्ण निर्णय प्रमुख हुन्छ, अभिभावकहरू त्यसलाई सहजता प्रदान गरिदिने मात्र हुन्। तर, बाबुआमाको इच्छाअनुसार गरिएका कतिपय विवाह असफल हुने गरेका छन्। विवाहपछि सम्बन्ध विच्छेदका घटनाले थप समस्या निम्त्याइरहेको छ।

बागलुङ हुग्दिशीरकी विष्णु थापा कक्षा १० मा पढ्दै थिइन्। उनलाई बाबुआमाले थाहै नदिई विवाहको निर्णय गरिदिए। कहिल्यै नदेखेको र नबुझेको पुरुष उनको श्रीमान् बनेका थिए।

थापाले छोरा जन्माएपछि पति विदेश गए। उनी पढ्न चाहन्थिन् तर घरव्यवहारले पढाइ ठप्प भयो।

घरमा श्रीमान् नहुनु र परिवारका अन्य सदस्यसँगको खटपट सहँदै उनले केही समय गुजारिन्। 'आफ्नो सहमतिविना बिहे भएकाले श्रीमान्सँग पनि मन मिलेन,' सात वर्षे छोरोसहित बागलुङमा रहेकी उनले फोनमा भनिन्, 'डिभोर्स गरेपछि अहिले माइतीमै बसेकी छु।' उनी आफ्ना अधुरो रहेको पढाइ पूरा गर्ने ध्याउन्नमा छिन् अहिले। 'अहिलेसम्म बिए पास गरिसक्थेँ होला,' भनिछन्, 'सँगैका साथीले एमए पढ्न थालिसके।'

कतिपय ठाउँमा कानुनले तोकेको उमेर नपुग्दै विवाह भइरहेका छन्। कलिलो उमेरमा वा छोरीको असहमतिमा विवाह गरिँदिदा त्यसको परिणाम राम्रो हुन्न। बढीजसो महिला नै समस्यामा पर्छन्। उदाहरणका लागि विष्णु थापा नै काफी छिन्।

महिला अधिकारकर्मी दुर्गा घिमिरेका अनुसार रुपन्देही जिल्लामा मात्रै ७० प्रतिशत बालविवाह भएको छ। समाजमा सोच परिवर्तन लागि चेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याउँछिन् उनी। 'विवाह कसैको इच्छाविपरीत हुनु हुँदैन। बरु छोरीलाई सक्षम बन्नका लागि बाबुआमाले नै जोड दिनुपर्छ,' उनी भन्छिन्।

छोरीको इच्छा नबुझी जबर्जस्ती विवाह गरिदिन खोज्दा प्रेमीसँग भाग्ने गरेका घटना पनि हाम्रै समाजमा छन्। यसले बाबुआमा र छोरीबीचको सम्बन्धमै दरार ल्याइदिने गर्छ।

अभिभावकले आफूले नचिनेको पुरुषसँग विवाह गर्न दबाब दिएपछि स्नातक पढ्दै गरेकी शिलु प्रेमीसँग भागिन्। उनीहरू दुवै अहिले काठमाडौं मैतीदेवीमा डेरा बसेर पढिरहेका छन्। दबाबका बीच आफैं निर्णय दिएर भागीबिहे गरेको दुई वर्ष भयो तर माइतीले अझै स्वीकारेका छैनन्। 'मैले प्रेमीलाई राम्रोसँग बुझेको थिएँ। तर घरबाट सोध्दै नसोधी अन्यत्रै विवाहका लागि प्रेसर दिन लागेपछि म भाग्न बाध्य भएँ,' उनी पीडा पोख्छिन्, 'बुबा, दाजुभाइहरू अहिलेसम्म रिसाइरहेका छन्।'

अधिकारकर्मी अञ्जु क्षेत्रीले विवाहबारे सोच बनाएकी थिइनन् तर अभिभावकबाट दबाब आउन थाल्यो। उनले ठाडै अस्वीकार गरिन्। 'दबाबमा गरिएका कतिपय सम्बन्ध स्थायी हुँदैनन्,' उनी सुनाउँछिन्, 'आफ्नो भविष्यमै समस्या आउन सक्छ भने बुबाआमाको निर्णयको पनि प्रतिवाद गर्न सक्नुपर्छ। मेरो जीवनमा थुप्रै विकल्प थिए, तर आफैं निर्णय लिएँ।'

उमेर पुगेपछि छोरीहरूलाई विवाहका लागि दबाब आउनु स्वाभाविक भएको ठान्छिन्, उनी। 'छोरीको सुरक्षाप्रति चिन्ता हुनु ठिकै हो तर आफ्ना सन्तानलाई राम्ररी बुझेपछि मात्रै निर्णय लिनुपर्छ,' उनी भन्छिन्।

विवाहको सवालमा छोराका लागि पनि दबाब नआउने होइन तर छोरीले धेरै खेप्नुपर्छ। जसका कारण उनीहरू मानसिक रूपमा पनि पीडित बन्न पुग्छन्। 'पुरुष परनिर्भर हुने कारण छोरीलाई छिटो विवाह गरिदिने मान्यता छ,' महिला अधिकारकर्मी शान्तालक्ष्मी श्रेष्ठ भन्छिन्, 'तर विवाह नै पहिलो प्राथमिकता पनि होइन। स्वनिर्भर बन्नु ठूलो कुरा हो।'

छोराको उमेरको हकमा खासै हदबन्दी लागू हुँदैन। तर उमेर बढ्दै जाँदा छोरीले परिवारबाटै मनोवैज्ञानिक पीडा भोग्नुपर्छ। बिहेभन्दा अघि सन्तानको लालनपालन, शिक्षादीक्षा र सिप विकासमा जोड दिनुपर्ने श्रेष्ठ बताउँछिन्।

दबाबमा परेर विवाह गर्न बाध्य हुनेहरूको पछि परिवारमा पनि असर पर्ने बताउँछन्, समाजशास्त्री टीकाराम गौतम। 'घरबार बिग्रियो भने समाजले तिनै छोरीलाई नै दोष दिइरहेको हुन्छ,' उनी भन्छन्, 'विवाहले निम्त्याउने असर र निस्कने परिणामबारे सचेत भएर बिहे गरेमात्र भविष्य सफल हुन्छ।'

दबाब दिनु मानसिक हिंसा
कानुनअनुसार कुनै पनि व्यक्तिलाई इच्छाविरीत कर गर्नु पनि मानसिक हिंसाभित्र पर्दछ। शारीरिक यातना डरधाक देखाउनु वा धम्की दिनु, त्रासपूर्ण व्यवहार गर्नु, गालीगलौज गर्नु, झुठा बात लगाउनु, घरबाट निकाला गर्नुलाई मानसिक दबाब मानिएको छ। यस्तै, मानसिक चोट पुग्न सक्ने कार्य गर्ने गराउने साथै वैचारिक, धार्मिक वा सांस्कृतिक परम्पराका आधारमा गरिने भेदभावजन्य कार्य मानसिक यातनाभित्र पर्छन्। विवाहका लागि दिइने मानसिक दबाब पनि एक खालको हिंसा मानिन्छ।

मुलुकी ऐनको महल १७ मा विवाहसम्बन्धी व्यवस्था छ। 'लोग्नेमानिस र स्वास्नीमानिस दुवैको मञ्जुरीविना विवाह गर्नु हुँदैन। विनामञ्जुरी जबरजस्ती विवाह गरे/गरिदिए बदर हुन्छ। त्यस्तो विवाह गर्ने/ गरिदिनेलाई दुई वर्षसम्म कैद हुने महलमा उल्लेख छ।

बिहाबारी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मञ्जुरी भए १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष नपुगी गर्न/गराउन नहुने महलमा लेखिएको छ। कानुनविपरीत विवाह गरे/गराए उमेर पुगेका सम्बन्धित व्यक्तिलाई जरिवाना हुने व्यवस्थाले तोकेको छ।

विवाह दर्ता ऐन– २०२८ का अनुसार महिला–पुरुष दुवैको उमेर २० वर्ष पूरा हुनुपर्छ। ऐन, कानुनमा जे लेखिए पनि नेपालमा बालविवाह अझै रोकिन सकेको छैन। बालविवाह, दाइजो प्रथाजस्ता कारणले महिला हिंसा बढेको सरकारी तथा गैरसरकारी संस्थाका तथ्यांकले बताउँछन्।

प्रकाशित: २६ मंसिर २०७१ २२:३९ शुक्रबार