अन्य

एनिमेटेड फिल्म कार्टुन होइन

एनिमेटेड फिल्मको निर्माण र प्रदर्शनमा नयाँ–नयाँ प्रयोग र कीर्तिमान हुँदैछन्। तर, एनिमेटेड फिल्मलाई अझै पनि बालबालिकाकै फिल्म मान्ने मानसिकता हटेको छैन। कसैले एनिमेटेड फिल्म हेरेको देख्यो भने हामी उसलाई 'कस्तो केटाकेटी, यस्तो कार्टुन पनि हेर्ने हो?' भन्दै जिस्काउन बेर लाउँदैनौँ।
नेपालमात्र होइन, जताततै एनिमेटेड फिल्मलाई 'कार्टुन' भनेर अपहेलना गरिन्छ। जबकि कार्टुन भन्नाले एनिमेटेड टीभी सिरियल र छोटो फिल्म तथा पत्रपत्रिकामा छापिएका सामग्रीसम्मलाई बुझाउँछ। हलमा रिलिज हुनेलाई कार्टुन फिल्म भनिँदैन। एनिमेटेड फिल्म भनिन्छ।
संसारका सबै एनिमेटेड फिल्म बालबालिकालाई लक्ष्य गरेर बनाइँदैन। एनिमेटेड फिल्म एउटा अलग्गै विधा हो। बच्चा, युवा र वयस्क सबै प्रकारका उमेर समूहलाई आकर्षण गर्ने गरी एनिमेटेड फिल्म बनाइन्छ। त्यसैले एनिमेटेड फिल्मको दर्शक बालबालिका नै हुनुपर्छ भन्ने छैन।
काठमाडौँको क्यूएफएक्स मल्टिप्लेक्स हलमा केही महिनाअघि एनिमेटेड फिल्म 'हाउ टू ट्रेन योर ड्रागन–२' रिलिज भएको थियो। त्यतिबेला फिल्म हेर्न आएका बालबालिका निकै थोरै थिए। ९० प्रतिशत दर्शक किशोरकिशोरी र वयस्क नै थिए।
एनिमेसन एउटा कला हो। एउटा चित्रकारले कल्पेको पात्रलाई पर्दामा जीवन्त बनाइन्छ। निर्जीव वस्तु वा आकृतिमा यसरी प्राण भरिएको हुन्छ कि, दर्शकहरू ठूलाठूला स्टारका अभिनयलाई भुलेर एनिमेसनको अलग्गै दुनियाँमा रमाउँछन्।
हेर्दा रमाइलो र सरल लागे पनि एनिमेटेड फिल्म बनाउन खर्चिलो र झन्झटिलो छ। निर्जीव वस्तु वा पशुपन्छीलाई मानवीकरण गर्नु सजिलो छैन। एनिमेसनमार्पmत निर्माण गरिएका विम्ब र प्रतीक बुझ्न सके त्यसको अलग्गै मज्जा छ।
वयस्कका लागि मात्र भनेर पनि एनिमेटेड फिल्म बनाइन्छ, जसलाई 'एडल्ट एनिमेसन' भनिन्छ। त्यस्ता फिल्म १८ वर्षभन्दा माथिका दर्शक लक्षित हुन्छन्। हिंसा, अश्लील शब्द र यौनसम्बन्धी सामग्री तिनमा पाइन सक्छ, जुन नेपालको सेन्सर बोर्डबाट पास हुन सक्दैनन्।
अमेरिकी च्यानलहरू कार्टुन नेटवर्क र फक्स ब्रोडकास्टिङ कम्पनीले क्रमशः 'एडल्ट स्विम' र 'एनिमेसन डोमिनेसन' नामक एनिमेटेड सिरिजलाई वयस्क दर्शकप्रति समर्पित गरेका छन्। क्यानडामा पनि टेलेटुन च्यानलले वयस्ककै लागि 'टेलेटुन एट नाइट' कार्यक्रमको व्यवस्था गरिदिएको छ।
अमेरिकी निर्देशक राल्फ बाक्सीले सन् १९७२ मा बनाएको 'फ्रिज द क्याट' अमेरिकामा 'एक्स रेटिङ' पाउने पहिलो एनिमेटेड फिचर फिल्म थियो। उक्त फिल्म १८ वर्षमुनिका दर्शकलाई पूर्ण निषेधित थियो। फिल्ममा अन्तरजातीय सम्बन्ध, कलेज जीवन र राजनीतिका विषय उठाइएको थियो। आठ लाख ५० हजार डलरमा बनेको उक्त फिल्मले नौ करोड डलर कमायो।
हिंसा, यौन र अतिरञ्जित दृश्यले मात्र एनिमेटेड फिल्मलाई वयस्ककेन्द्रित बनाउने होइन। गम्भीर विषयवस्तु र कथानकका कारण पनि कुनै–कुनै एनिमेटेड फिल्म बालबालिकाका लागि उपयुक्त नहुनसक्छ। सन् २००८ को इजरायली एनिमेटेड फिल्म 'वाल्ज विद बसिर' अस्कर अवार्डको विदेशी (गैरअंग्रेजी) भाषाको फिल्मतर्पm मनोनीत भएको थियो। फिल्ममा उठाइएको लेबनान युद्धको प्रसंग बालदर्शकका लागि अरुचिकर र अनुपयुक्त हुनसक्छ।
सन् २००७ मा फ्रान्स र इरानको संयुक्त फिल्म 'पर्सपोलिस' अस्कर अवार्डको उत्कृष्ट एनिमेटेड फिचर फिल्मतर्पm मनोनीत भएको थियो। कान्स फिल्म फेस्टिभलमा जुरी प्राइज जितेको उक्त फिल्म इरानी क्रान्तिको बेला हुर्किएकी एक युवतीको अनुभवमा आधारित छ। इरानको मुस्लिम समुदाय, त्यहाँ रहेको बाह्य प्रभाव र नयाँ पुस्तामा रहेको परिवर्तनको आकांक्षालाई फिल्मले उजागर गर्छ।
टाइम म्यागजिनले 'पर्सपोलिस'लाई वर्षको उत्कृष्ट १० फिल्मको सूचीमा समावेश गरेको थियो। तर, इरानी प्रशासन फिल्मप्रति सकारात्मक थिएन। इरानले फ्रान्सको कान्स फिल्म फेस्टिभल आयोजकलाई पत्र लेखेर फिल्मले इरानलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको थियो। तर, पछि केही यौनदृश्य काटेर फिल्मलाई इरानले पनि प्रदर्शन ग¥यो।
अस्कर अवार्डमा एनिमेटेड फिल्मका लागि अलग्गै भिडन्त हुन्छ। तर, केही एनिमेटेड फिल्म अस्करको मुख्य विधा सर्वोत्कृष्ट फिल्मकै लागि पनि मनोनीत भइसकेका छन्। यसको सुरुवात सन् १९९१ मा 'ब्युटी एन्ड द बिस्ट'ले गरेको थियो। त्यसपछि सन् २००९ मा 'अप' र सन् २०१० मा 'टोय स्टोरी ३' मुख्य विधातर्पm मनोनीत भएका थिए। 'अप' र 'टोय स्टोरी ३'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पनि जिते।
एनिमेटेड फिल्महरू हल्काफुल्का र साधारण विषयमा बनाइएको हुन्छ भन्ने भ्रम पाल्नु गलत हो। कथा प्रस्तुत गर्ने एउटा माध्यम हो एनिमेटेड फिल्म। यसमा कहिले हल्काफुल्का कथा भनिन्छ त कहिले गम्भीर पनि। एनिमेटेड फिल्मले कुनै पनि वस्तुलाई यथार्थभन्दा फरक आकार, फरक रङ र फरक लयमा हेर्न सिकाउँछ। त्यसैले सबै उमेरका दर्शकले हेर्नुपर्छ एनिमेटेड फिल्म।

प्रकाशित: २ माघ २०७१ ०१:१४ शुक्रबार